१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष २० आइतबार ०७:१२:००
Read Time : < 1 मिनेट
समाचार

प्रहरीले भत्कायो छाउगोठ

महिनावारी भएका महिलालाई गाईभैँसीको गोठमा राखे पनि कारबाही

Read Time : < 1 मिनेट
२०७६ पौष २० आइतबार ०७:१२:००

छाउगोठमा बसेका महिलाको मृत्यु हुने क्रम बढेपछि प्रहरीले कालिकोटमा छाउगोठ भत्काउने अभियान थालेको छ । महिनावारी हुँदा घरभन्दा बाहिर बस्नुपर्ने कुसंस्कारका कारण महिलाहरू असुरक्षित र मृत्यु हुन थालेपछि प्रहरीले छाउगोठ भत्काउने कार्यलाई अभियानका रूपमा अगाडि बढाएको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटले शनिबारसम्म नरहरिनाथ गाउँपालिकाका विभिन्न स्थानका १५ वटा छाउगोठ भत्काएको छ । 

नरहरिनाथ गाउँपालिकाको वडा नम्बर ३, ५, ८ र ९ मा गरी १५ वटा छाउगोठ भत्काइएको प्रहरी नायब निरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । ‘नरहरिनाथ गाउँपालिकाबाट अभियान थालिएको छ,’ उनले भने । स्थानीय र जनप्रतिनिधिको सहभागितामा छाउगोठ भत्काइएको उनले बताए । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामाजिक अपराधविरुद्ध छाउगोठ भत्काउने अभियान थालिएको उनको भनाइ छ ।

नरहरिनाथ गाउँपालिकाबाट थालिएको अभियानलाई जिल्लाव्यापी बनाइने ओलियाले बताए । अभियानअन्तर्गत छाउपडी प्रथाविरुद्धको कानुनी व्यवस्था, जिल्ला प्रशासन कार्यालयले गरेको निर्णय तथा गृह मन्त्रालयको परिपत्रको विषयमा समेत नागरिकलाई जानकारी दिने गरिएको उनको भनाइ छ । महिलाहरू महिनावारी भएका वेला गाईभैँसीको गोठमा समेत राख्ने गरेको पाइएपछि प्रहरीले गाईगाठ र भैँसीगोठमा समेत निगरानी बढाएको जनाएको छ ।