मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रशान्त अर्याल प्रधान सम्पादक कान्तिपुर टेलिभिजन
२०७६ पौष १९ शनिबार ११:४९:००
Read Time : > 3 मिनेट
सप्तरंग

सरल पत्रकार आक्रामक पत्रकारिता

Read Time : > 3 मिनेट
२०७६ पौष १९ शनिबार ११:४९:००

आक्रामक पत्रकारितामा खरो उत्रिएका प्रशान्त अर्यालले जीवनमा कहिल्यै टिभीमा काम गरौँला भनेर सोचेका थिएनन् । शब्द–शब्दका हरफमा रमाउन चाहने उनले प्रिन्ट मिडियामै २५ वर्षको यात्रा गरिसकेका थिए । तर, दुई वर्ष अगाडि कान्तिपुर टेलिभिजनको प्रधान सम्पादक हुन पुगे । अर्याल भन्छन्, ‘अझै पनि प्रिन्ट मिडियाको नसा उत्रिएको छैन ।’

०३५/३६ तिर कैलालीको टीकापुर सानो बस्ती थियो । न बत्ती थियो, न टिभी । तर, मामाघर बाराको कलैया आउँदा भने उनले भिडियो हेर्ने अवसर पाएका थिए । मामाघरबाट फर्किएपछि भिडियो हेर्न त छुट्यो, तर उनको तलतल भने छुटेन् । ‘टीकापुरमा टिभी हेर्नु निकै ठूलो कुरा थियो,’ उनी भन्छन् । पहिलोपटक टीकापुरबाट साइकलमा आधा घन्टा टाढा मौरनिया गाउँको एक मिलमा हेर्न पाएका थिए, टिभी । उनी सम्झिन्छन्, ‘पहिलोपटक टिभी हेर्दा सन् १९८६ को वल्र्डकप चलिरहेको थियो ।’

त्यो ‘ब्ल्याक एन्ड ह्वाइट’ टिभीमा हेरेको खेल थियो । हेर्दाहेर्दै धेरैपटक टिभी झ्यार्रझ्यार्र भएको थियो । एकनासले हेर्न नपाउनुको कारण एन्टेना हावाले हल्लिन्थ्यो । अनि एन्टिना घुमाउने पालो लाग्थ्यो । ‘त्यो फाइनल गेम अर्जेन्टिना र तत्कालीन पश्चिम जर्मनीको थियो । म्याराडोना याद छ, जसले अर्जेन्टिनालाई विश्वकप जिताएका थिए,’ उनी बिर्सेका छैनन् । 

‘सुरुचि’देखि ‘नेपाल’सम्म
उनले ०४१ तिर तत्कालीन टीकापुर आवासीय माविबाट एसएलसी दिए । तर, त्यस वर्ष उत्तीर्ण हुन सकेनन् र अर्को वर्ष कुर्नुप-यो । त्यसपछि कलेज पढ्न काठमाडौं आइपुगे । पुख्र्यौली घर काठमाडौंको चाबहिल थियो, उनको । तर, बुवाआमाको जागिरले बर्दीयाको राजापुर हुँदै टीकापुर पुगेका थिए । टीकापुरमै हुर्के, बढे र पढे । त्यसैले होला, टीकापुर भनेपछि हुरुक्कै हुन्छन उनी । 

पारिवारिक पृष्ठभूमि र स्थानान्तरणका कारण भौगोलिक एवं सामाजिक विविधता अनुभव गर्न पाए उनले । जस्तो हुर्काइ र बढाइ सुदूरपश्चिमको पहाडी र थारूसमुदायको परिवेशमा भयो भने मामाघर भोजपुरी परिवेशको भएकाले त्यो पनि अनुभव गर्न पाए । 

मन त कानुन पढ्ने थियो, तर पत्रकारिता पढे । आरआर क्याम्पसबाट स्नातक गरेपछि ‘सुरुचि’ साप्ताहिकमा गए । त्यतिखेर ‘देशान्तर’ र ‘सुरुचि’ भर्खरै अलग भएका थिए । दुई वर्षमै छाडे । त्यसताका ‘साधना’ र ‘महानगर’मा पनि केही समय रहे । 

‘लो प्रोफाइल’मा बस्न रुचाउने प्रशान्त अर्याल एउटा पत्रकारका रूपमा जति सरल छन्, पत्रकारितामा भने विषयवस्तु, तथ्य र तर्कले त्यत्तिकै आक्रामक छन् । 
 

यस्तैमा उनी ०५३ तिर ‘कान्तिपुर दैनिक’ पुगे । चार वर्ष उपसम्पादक भएर काम गरेका उनी ‘स्पेसटाइम दैनिक’ पुगे । त्यहाँ छोटो समय मात्र रहेर ‘हिमाल खबर पत्रिका’तिर हानिए । ‘हिमाल’ छाडेपछि भने केही समय एनजिओमा काम गरे । यसरी ‘करिअर’लाई नै आप्रवासीजस्तो बनाइ हिँडेका उनी सिक्ने रहरले घुमिरहेको बताउँछन् । अर्याल भन्छन्, ‘यात्रा गरिरहेँ, सिकिरहेँ ।’

०६० तिर फेरि कान्तिपुर मिडियाकै नेपाल म्यागेजिनमा आए । त्यहाँँ चार वर्षभन्दा बढी सहायक सम्पादक र करिब १० वर्ष प्रधान सम्पादक भएर बिताए । ‘लङ फर्म’ लेखन/सम्पादनको त्यो सिकाइ र अनुभवबाट उनले आफूलाई थप स्थापित गर्दै लगे ।

पर्दापछाडिका दुई वर्ष
प्रसंग फेरि टिभीकै । कान्तिपुर पत्रिकामा काम थाल्नु करिब तीन महिनाअघिको मात्रै कुरा हो, बुवा काठमाडौं आएका वेला टिभी किन्ने सल्लाह भयो । बाबुछोरा न्युरोड गएर गोल्डस्टार कम्पनीको २० इन्चको टिभी ३० हजार रुपैया“मा किने । यो त्यहीताका थियो, जतिखेर विश्वकप क्रिकेट श्रीलंकाले जितेको थियो । टिभी किनेर टीकापुर पुग्दा उनी फुर्सदिला थिए । माहोल क्रिकेटको थियो, दिनभर एसिया कप क्रिकेट हेरेर बस्थे ।

एक समय टिभी उच्च वर्गका लागि शोख थियो, माध्यम वर्गका लागि विलासिता । त्यसबाहेकका लागि भने सपनाजस्तै थियो टिभी । अहिले नि ? अर्याल भन्छन्, ‘हो प्रविधिको विकासले टिभी सस्तो भएको छ, तर अझै टिभी नपुगेका घर धेरै छन् ।’ 

पत्रकारिता क्षेत्रको २७ वर्षे अनुभवका आधारमा कुनचाहिँ सञ्चारमाध्यम बढी प्रभावकारी होला ? दुई वर्षअघि मात्रै टिभी पत्रकारितामा आएका अर्याल सूचना सम्प्रेषणको हिसाबले टिभीलाई नै सबैभन्दा प्रभावकारी ठान्छन् । उनी भन्छन्, ‘टिभी ठूलो मास मिडिया हो, एकैपटक ठूलो समुदायलाई सूचित र सचेत गराउन सकिने रहेछ ।’ खासमा टेलिभिजनको पर्दामा दृश्य र संवाददाताको सूचनाको संयोजन धेरै नै प्रभावकारी हुने उनको अनुभव छ ।

परम्परागत सञ्चारमाध्यमका लागि यतिखेर न्यु मिडिया ठूलो चुनौतीका रूपमा देखापरेको छ । सोसल मिडिया, अनलाइन र युट्युबको ‘थ्रेट’ छ । टेलिभिजन पनि त्यो ‘थ्रेट’बाट अछूत छैन । त्यसैले, परम्परागत ढर्राबाट टेलिभिजनलाई बाँच्न गा-हो हुने उनको ठहर छ । ‘विषयवस्तु र प्रस्तुतिमा विविधता र नवीनता हुनैपर्छ । त्यसैले, खोजी र विश्लेषणको बाटो नगई अब सुख छैन,’ अर्याल भन्छन् । 

हो पनि, कान्तिपुर टिभीको सम्पादकीय नेतृत्वमा आएपछि उनले टिभी समाचारको विषयवस्तु र प्रस्तुतिलाई त्यही कोणमा ढालेका छन् । नियमित टिभी हेर्नेले यो फरक महसुस पनि गरेका छन् । ‘मुख्य घटनाक्रम त हामी त्यसै पनि छाड्दैनौँ,’ उनी भन्छन्, ‘तर अब दर्शकलाई यस्ता सामग्रीले मात्र जोडिराख्न सक्दैन ।’ ‘लो प्रोफाइल’मा बस्न रुचाउने अर्याल सकेसम्म आफू सार्वजनिक वृत्तमा देखिन चाहन्नन् । मासमा कसैले मञ्चमा बोलाइदियो भने अप्ठेरो मान्छन्, अपवादबाहेक सकेसम्म जाँदैनन् । ‘पत्रकार सूचना सम्प्रेषक मात्र हो, हामी यही काममा सीमित हुनुपर्छ,’ उनी भन्छन् । 

एउटा सरल पत्रकार अर्याल सम्पादकका रूपमा भने आक्रामक लाग्छन्, एकदम प्रस्ट सुनिन्छन् । त्यो आक्रमकता ‘नेपाल’ म्यागाजिनको पुराना अंक पल्टाए उनको सम्पादकीय नेतृत्वभर भेटिन्छ । अहिले टेलिभिजनको समाचारमा पनि देख्न सकिन्छ । तर, त्यो आक्रमकता कुनै पूर्वाग्रह वा रिसरागमा आधारित थिएन, छैन । त्यसको आधार–विषयवस्तु, तथ्य र तर्क मात्रै हो । 

पत्रकारितामा अर्याल निःसन्देह एउटा उचाइमा छन् । दैनिक, साप्ताहिक पत्रिका, म्यागेजिनकारिता हुँदै टिभी पत्रकारितामा आएका अर्यालको भावी योजना के छ त ? ‘टिभी सिक्दैछु, इन्जोय पनि गर्दैछु र अहिलेलाई यतिमै सन्तुष्ट छु ।’