मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ पौष १३ आइतबार ०९:४४:००
Read Time : > 1 मिनेट
समाचार

५३ घरसहितको एकीकृत माझी बस्ती निर्माण : घर बन्यो, ऋणको चिन्ता

Read Time : > 1 मिनेट
२०७६ पौष १३ आइतबार ०९:४४:००

चौतारा साँगाचोकगढी नगरपालिका– १४ मा एकीकृत माझी बस्ती निर्माणको काम पूरा भएको छ । १५ जेठ ०७४ बाट एकीकृत बस्ती निर्माण सुरु भएको थियो । बस्तीमा ५३ घर बनेका छन् । ती सबै माझी समुदायका हुन् । बस्ती हस्तान्तरणको काम भने बाँकी छ । नयाँ घरमा सरेका माझी बस्तीका चार सय १५ जनालाई आजकाल मज्जाले निद्रा लाग्छ ।

बाथरुमसहित चारकोठे नयाँ घरमा बस्न पाउँदा केटाकेटी र वृद्धवृद्धालाई चिसोबाट राहत मिलेको छ । जस्तापाताको चिसोमा चार वर्ष बिताएका उनीहरू रंगरोगन गरेको पक्की घरमा बस्दा खुसी छन् । घरमूलीलाई भने खुसीसँगै ऋणको चिन्ता पनि थपिएको छ । आर्थिक रूपमा विपन्न माझी समुदाय नयाँ घर निर्माण गर्दा ऋणको मारमा परेका छन् ।

फाउन्डेसनद्वारा ६३ लाख सापटी
५३ घर निर्माण सम्पन्न गर्दा नायिका स्वेता खड्काको श्वेताश्री फाउन्डेसनले ६३ लाख सापटी दिएको छ । सम्पूर्ण बस्ती निर्माण गर्दा तीन करोड ७१ लाख रुपैयाँ खर्च भएको झ्याँडी टोल सुधार समितिका अध्यक्ष दिनेश माझीले बताए । ‘६३ लाखमध्ये फाउन्डेसनलाई १७ लाख फिर्ता गरेका छौँ ।

पुनर्निर्माण प्राधिकरणले दिएको थप रकम एक करोड ३५ लाखले बाटो र पूर्वाधार निर्माणको काम भइरहेको छ,’ उनले भने । ‘एकीकृत माझी बस्ती सरकारको अनुदान र ऋणले निर्माण भएको हो । श्वेताश्री फाउन्डेसन सहजकर्ता मात्रै हो,’ नायिका खड्काले भनिन्, ‘बस्तीको इन्जिनियरिङ हामीले नै गरेका हौँ ।

अब स्थानीयलाई आर्थिक उपार्जन गर्ने बाटो पन देखाउँछौँ ।’ बस्तीनजिक सामुदायिक भवन, मन्दिर, चिल्ड्रेन पार्क र स्वास्थ्य चौकी बनाउन फाउन्डेसनले सहयोग गर्ने उनले बताइन् । 

नायिका खड्कासँग दुखेसो
शुक्रबार इन्द्रावती र झ्याँडी खोलाको दोभानमा अवस्थित माझी बस्ती पुगेकी नायिका श्वेता खड्कालाई स्थानीयले घर निर्माण गर्दा ऋण लागेको भन्दै दुखेसो पोखे । ‘नयाँ घरमा बस्न पाउँदा खुसी लागेको छ,’ बस्तीकी सुन्तली माझीले नायिका खड्कासँग भनिन्, ‘सरकारले दिएको अनुदानले घर निर्माण पूरा भएन । चार लाख ऋण लिएर घर पूरा गर्‍यौँ, अब कसरी ऋण तिर्ने होला चिन्ताले सताउन थालेको छ ।’ 

आफ्नै पहलकदमीमा बनेको एकीकृत माझी बस्ती देख्दा खुसी लागे पनि घर निर्माण गर्दा विपन्न माझी समुदायलाई ऋण लागेकोमा भने आफूलाई पनि दुःख लागेको नायिका खड्काले बताइन् । ‘यो बस्तीसँग मेरो पारिवारिक सम्बन्ध जोडिएकाले तपाईंहरूलाई परेको ऋणको चिन्ता मलाई छ,’ खड्काले भनिन् ।

सरकारी अनुदानले आधा मात्रै काम 
एकीकृत माझी बस्ती बनाउन सरकारले एक घरबराबर तीन लाखका दरले अनुदान दिएको थियो । सरकारी अनुदानले बस्ती निर्माणको आधा मात्रै काम भयो । त्यसपछि झ्याँडी टोल सुधार समितिले घरैपिच्छे बेग्लाबेग्लै कागजात बनाएर चौतारास्थित लक्ष्मी बैंकबाट ऋण निकाल्ने प्रबन्ध मिलायो ।

२८ घरपरिवारले घरलौरी चार लाखका दरले ऋण निकालेर घर निर्माण पूरा गरेका छन् । बाँकी २५ परिवारले पनि चाँडै ऋण निकाल्दै छन् । सात वर्षभित्र ऋण तिरिसक्ने सम्झौता छ । त्यो चुक्ता गर्न माझी बस्तीका एक घरले मासिक ६ हजार सात सय किस्ता बैंकलाई बुझाउनुपर्छ । तर, बस्तीका अधिकांश माझी परिवार किस्ता तिर्ने रकम जुटाउन सक्ने हैसियतमा छैनन् ।