मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका पाेखरा
२०७६ पौष १२ शनिबार १६:२९:००
Read Time : < 1 मिनेट
समाचार

पर्यटनमन्त्रीद्वारा  निर्माणाधीन पोखरा विमानस्थल निरीक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका पाेखरा
२०७६ पौष १२ शनिबार १६:२९:००

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको शनिबार निरीक्षण गरी हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएका छन् । 

विमानस्थलमा जहाज अवतरणलाई थप सहज बनाउन राख्न लागिएको ‘ग्लाइड पाथ’का लागि आवश्यक पर्ने १०४ रोपनी जग्गा अधिग्रहणको बारेमा चासो दिएर उनले जानकारी लिएका थिए । विमानस्थललाई थप सुरक्षित बनाउँदै उनले हुस्सु लागेर ‘भिजिविलिटी’ कम भएको समयमा समेत विमान अवतरणमा सहयोग गर्नका लागि जग्गा अधिग्रहण गरिन लागिएको तथा स्थानीयलाई मर्कामा नपर्ने गरी मुआब्जा वितरण गरिने बताए । 

हालसम्मको विमानस्थलको मुआब्जा वितरण तथा काममा आइपरेका  समस्याहरुका बारेमा जानकारी लिँदै उनले तोकिएकै मिति भित्रमा विमानस्थल निर्माणको काम सम्पन्न गर्न निर्देशन दिए । मन्त्री भट्टराईलाई पोखरा विमानस्थल परियोजना प्रमुख विनेशकुमार मुनाकर्मीले हालसम्म ५४ प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदै तोकिएको मितिभन्दा ६ महिनाअघि नै आयोजना सम्पन्न हुने जानकारी दिए । 

१० जुलाई २०२१ सम्म निर्माण कार्य सक्ने अन्तिम मिति रहेपनि सन् २०२० को डिसेम्बरमा सबै काम सम्पन्न गरेर परीक्षण उडान सुरु गर्ने र जुलाइबाट व्यावसायिक उडान सुरु हुने परियोजनाले जनाएको छ । रनवे तयार भएको तथा टर्मिनल भवनको आन्तरिक व्यवस्थापनको काम बाँकी रहेको बताउँदै ह्याङ्गर, एटिसी कम्प्लेक्स भवन, एटिसी कन्ट्रोल टावर र विमानस्थल प्रवेशद्धारको काम भइरहेको परियोजना प्रमुख मुनाकर्मीले बताए ।  

सन् २०१४ मा नागरिक उड्डयन प्राधिकरण र चीनको सिएएमसी इञ्जिनीयरिङ कम्पनीका बीचमा विमानस्थल निर्माणका लागि सम्झौता भएकोमा ११ जुलाई २०१७ बाट निर्माण कार्य सुरु भएको थियो । पोखरा विमानस्थलको कूल लागत २२ अर्ब रुपैयाँ रहेको छ ।