मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष १२ शनिबार ०७:५१:००
Read Time : < 1 मिनेट
प्रदेश

शिक्षक घर बनाउन व्यस्त, एक सातादेखि विद्यालय बन्द

Read Time : < 1 मिनेट
२०७६ पौष १२ शनिबार ०७:५१:००

शिक्षकहरू सदरमुकाम चैनपुरमा घर बनाउन व्यस्त भएपछि एक सातादेखि जिल्लाको साइपाल गाउँपालिका वडा नम्बर २ मा पर्ने जनज्योति प्राथमिक विद्यालय बन्द भएको छ । शिक्षक जसवीर बोहराले सदरमुकाम चैनपुरमा एक महिनादेखि घर बनाउन थालेका कारण विद्यालय बन्द गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक दीपक रोकाया पनि खेलकुद कार्यक्रमका लागि भनेर सामग्री खरिद गर्न सदरमुकाम गएपछि एक सातादेखि विद्यालय बन्द छ । उक्त विद्यालयमा दुईजना मात्र शिक्षक र ५५ जना विद्यार्थी छन् । दुवैजना शिक्षक सदरमुकाम गएपछि विद्यार्थीहरू अध्ययन गर्नबाट वञ्चित भएका छन् ।

शिक्षक जसवीर बोहरा साइपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पना बोहराका श्रीमान् भएकाले पनि उनले विद्यालयलाई थोरै समय मात्र दिई विद्यार्थीको भविश्यमाथि खेलबाड भइरहेको अभिभावकहरूको भनाइ छ । एक स्थानीय भन्छन्, ‘जसवीर दुई महिनादेखि पढाउन छोडेर चैनपुरमा घर बनाइरहेका छन् ।’ 

गाउँपालिकास्तरीय खेलकुद प्रतियोगिताका लागि आवश्यक सामग्री खरिद गर्न आफू सदरमुकाम आउँदा विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानाध्यापक रोकायाले बताए । ‘दुईजना शिक्षक मात्र छौँ । त्यसैले, आवश्यक काम पर्‍यो भने विद्यालय बन्द गर्नुपर्ने बाध्यता छ,’ उनले भने ।