मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष १० बिहीबार ०६:२७:००
Read Time : < 1 मिनेट
समाचार

बेलायत र बंगलादेशका प्रधानसेनापति आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष १० बिहीबार ०६:२७:००

बेलायतका प्रधानसेनापति जनरल मार्क क्याल्र्टन स्मिथ नेपालको सप्ताहव्यापी औपचारिक भ्रमणमा आउने भएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी ३ फागुनमा आउन लागेका हुन् । मार्कको भ्रमणपछि प्रधानसेनापति थापाले पनि बेलायतको औपचारिक भ्रमण गर्ने तयारी छ ।  

‘बेलायतका प्रधानसेनापतिज्यू ३ देखि १० फागुनसम्म नेपालको औपचारिक भ्रमणमा आउने तय भएको छ’ सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले नयाँ पत्रिकासँग भने । गत वर्ष प्रधानसेनापति भएका मार्कको पहिलो औपचारिक भ्रमण हुन लागेको हो । प्रधानसेनापति थापाको कार्यकालमा बेलायतबाट आउन लागेका उनी पहिलो उच्च सैन्य अधिकारी हुन् । 

मार्कले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । भ्रमणका सिलसिलामा उनले धरान र पोखरास्थित ब्रिटिस सेनाका लागि गोर्खा भर्ती केन्द्रको निरीक्षण गर्ने कार्यक्रम छ ।

एक दिन पोखरादेखि घान्दु्रकसम्म ट्रेकिङमा जाने गरी कार्यतालिका तयार भएको छ । ब्रिटिस सेनाको गोर्खा ब्रिगेडअन्तर्गत विभिन्न युनिटमा करिब तीन हजार नेपाली कार्यरत छन् । उनको भ्रमणमा नेपालीहरूलाई पेन्सनमा भएका विभेदलगायतका विषयमा पनि छलफल गर्ने नेपाली पक्षको तयारी छ । 

माघ २४ मा बंगलादेशका प्रधानसेनापति अजिज अहमदले नेपालको भ्रमण गर्ने तय भएको छ । प्रधानसेनापति थापाको निमन्त्रणामा उनी आउँदै छन् । थापा बंगलादेशको चारदिने औपचारिक भ्रमणका क्रममा २८ पुसमा ढाका जाँदै छन् । थापाले बंगलादेश सरकारका उच्च अधिकारीसँग शिष्टाचार वार्ता गर्ने कार्यक्रम छ ।