मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ पौष ९ बुधबार ११:१८:००
Read Time : < 1 मिनेट
प्रदेश

दुर्घटना न्यूनीकरण गर्न निर्देशिका जारी गरिने

Read Time : < 1 मिनेट
२०७६ पौष ९ बुधबार ११:१८:००

सडक दुर्घटना न्यूनीकरण गर्न प्रदेश १ सरकारले निर्देशिका जारी गर्ने तयारी गरेको छ । प्रहरी र नागरिक समाजले दुर्घटना न्यूनीकरणका लागि सक्दो पहल गर्दै आए पनि प्रभावकारी हुन नसकेपछि प्रदेश सवारी कानुनको आधारमा प्रदेश सरकारले कठोर निर्देशिका जारी गर्ने तयारी गरेको हो ।

दुर्घटना न्यूनीकरणका लागि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सरोकारवालाहरूसँग छलफल पनि थालेको छ । मन्त्रालयमा भएको पहिलो चरणको छलफलमा यातायात व्यवसायी, मजदुर, नागरिक समाजका स्थानीय प्रतिनिधि, प्रहरीको सहभागिता रहेको थियो । छलफलमा प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतबहादुर कार्कीले सबैलाई जिम्मेवार बनाउन कठोर निर्देशिका जारी गर्न लागिएको बताए । उनले सबैको सहमतिमा निर्देशिका निर्माण गर्ने पनि स्पष्ट पारे ।

प्रदेश मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले प्रदेश यातायात ऐन २०७६ अनुसार निर्देशिका निर्माण गरिने भन्दै त्यसको कार्यान्वयनमा कुनै कसर बाँकी नराखिने बताए । प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रदेशभरमा साना–ठूला सबैखाले गरी ६ लाख सवारी साधन दर्ता भएका छन् । प्रदेश १ मा आर्थिक वर्ष ०७५/०७६ मा १२ सय ९८ वटा दुर्घटनामा तीन सय ७३ जनाको मृत्यु भएको थियो ।

दुर्घटना न्यूनीकरणका लागि प्रदेश सरकारले गठन गरेको विशेष कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाको नेतृत्वमा २१ सदस्य रहेका छन् । कार्यदलको सदस्य–सचिवमा आन्तरिक मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका अधिकृत राजन रेग्मी रहेका छन् । कार्यदलले १० दिनभित्र दुर्घटना न्यूनीकरण गराउने उपायसहितको प्रतिवेदन प्रदेश सरकारलाई बुझाउने छ ।