मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष ९ बुधबार ०८:१२:००
Read Time : > 2 मिनेट
अर्थ

जलविद्युत् कम्पनीका लगानीकर्ताले १६ वर्षदेखि लाभांश पाएनन् 

Read Time : > 2 मिनेट
२०७६ पौष ९ बुधबार ०८:१२:००

-०६० सालमा सूचीकृत भएको नेसनल हाइड्रोले अहिलेसम्म लाभांश बाँडेको छैन, सूचीकृतमध्ये ११ जलविद्युत् कम्पनीबाट लगानीकर्ताले कुनै पनि प्रतिफल पाउन सकेका छैनन् भने १० कम्पनीले उत्पादन नै सुरु गरेका छैनन्

-जलविद्युत् आयोजना भन्छन्– प्रसारण लाइन नबन्दा घाटा लाग्यो, प्राधिकरण भन्छ– ‘प्रसारण लाइन समयमै नबनेको साँचो हो, तर घाटाको कारण यो मात्र होइन’


नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ३२ जलविद्युत् कम्पनीमध्ये २१ कम्पनीले अहिलेसम्म लाभांश वितरण गरेका छैनन् । यीमध्ये माथिल्लो तामाकोसी, सान्जेन, रसुवागढी, युनिभर्सल पावर पार्टनर, हिमालय ऊर्जा विकासजस्ता १० कम्पनीले आयोजना निर्माण गरिरहेका छन् । विद्युत् बिक्री नै सुरु नभएकाले यी कम्पनीले लाभांश दिन नसकेका हुन् । 

तर, विद्युत् उत्पादन र बिक्रीसमेत गरिरहेका ११ कम्पनीले लाभांश दिएका छैनन् । यीमध्ये केही कम्पनीले आम्दानीलाई नयाँ आयोजनामा लगानी गरेको बताएका छन् भने केहीले घाटामै रहेको भन्दै लाभांश नदिएका हुन् । अधिकांश यस्ता कम्पनीको सेयर अंकित मूल्यभन्दा पनि कममा कारोबार भइरहेको छ ।
 
‘प्रसारण लाइन नबन्दा घाटामा’ 
नेपाल विद्युत् प्राधिकरणले समयमै विद्युत् प्रसारण लाइन नबनाउँदा घाटामा जानुपरेको ३ जलविद्युत् आयोजनाका प्रवद्र्धकले बताएका छन् । दिव्यश्वरी हाइड्रो पावर, खानीखोला हाइड्रो पावरले प्रसारण लाइनकै कारण चालू आवको पहिलो त्रैमासमा घाटामा गएको वित्तीय विवरणमा देखाएका छन् । त्यस्तै, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले सञ्चित नोक्सानी घट्न नसकेको उल्लेख गरेको छ । प्रसारण लाइन नहुँदा सञ्चालनमा रहेका यी आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न नसकेको उल्लेख गरेका छन् । 

सिनर्जीको १२ मेगावाटको सिप्रिङ खोला जलविद्युत् आयोजनाको विद्युत् सिँगटी–लामोसाँघु १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको सिँगटी सबस्टेसनमा जोड्नुपर्ने हो । तर, त्रैमासिक विवरणअनुसार निर्माणाधीन उक्त प्रसारण लाइन ७ वर्षदेखि सम्पन्न हुन सकेको छैन । प्रसारण लाइन नबन्दा आयोजनाको विद्युत् ३३ केभीको प्रसारण लाइनमा जोडिएको छ । कम क्षमताको प्रसारण लाइनमा विद्युत् जोड्दा वर्षायाममा हुन सक्ने पूर्ण क्षमताको उत्पादनबाट ४० प्रतिशत विद्युत् उत्पादन गर्न नसकिएकाले घाटा बढेको कम्पनीको भनाइ छ । 

प्राधिकरणको भने प्रसारण लाइन नबने पनि विद्युत् खेर नगएको दाबी छ । ‘१२ मेगावाटको आयोजनाले हिउँदमा कम्तीमा ४–५ मेगावाट उत्पादन गर्नुपर्ने हो,’ प्राधिकरणका सिँगटी–लामोसाँघु प्रसारण लाइन आयोजना प्रमुख राजन ढुंगेल भन्छन्, ‘हिउँदमा उक्त आयोजनाबाट १ मेगावाट मात्र उत्पादन भइरहेको छ, हिउँदमा ३३ केभीकै लाइनले धानिरहेको छ । बर्खाको २ महिना मात्र भेल थुनेर पूर्ण क्षमताको विद्युत् आउन सक्छ । त्यसका लागि प्रसारण लाइन बनिरहेको छ ।’

३ महिनाभित्र प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आउने उनले बताए । कम्पनीले भने ०७६ असोज मसान्तसम्म सरकारबाट प्राप्त हुनुपर्ने ११ करोड ९२ लाख रुपैयाँ नपाएकाले नगद प्रवाहमा असर परेको समेत विवरणमा उल्लेख गरेको छ । 

त्यस्तै, खानी खोला हाइड्रोपावरले गत आवको तीन महिनामा २ करोड ३४ लाख ७२ हजारको विद्युत् बिक्री गरेको थियो । तर, चालू आवको ३ महिनामा भने १ करोड ९ लाख ३४ हजारको मात्र विद्युत् बिक्री गरेको छ । विद्युत् प्राधिकरणले माल्टा–मातातीर्थ ३३ केभी प्रसारण लाइन समयमै निर्माण नगरिदिँदा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न नपाएको र नोक्सान व्यहोर्नुपरेको कम्पनीको विवरणमा उल्लेख छ । हाल कम्पनीले आफ्नो ६ दशमलव ३ मेगावाटको आयोजनाबाट उत्पादित विद्युत्मध्ये एकतिहाइ विद्युत् मात्र ११ केभीका दुईवटा लाइनमार्फत प्रवाह गर्दै आएको बताएको छ । 

तर, माल्टा–मातातीर्थ ३३ केभी प्रसारण लाइन आयोजना प्रमुख भने उक्त आयोजनाको उत्पादन १ मेगावाट पनि नपुगेको बताउँछन् । उत्पादन भएको विद्युत् वैकल्पिक व्यवस्था गरेरै भए पनि प्रवाह गरिएको तथा उक्त आयोजनाको उत्पादन प्लान्टमा समेत हाल समस्या आएको उनको भनाइ छ । ६.३ मेगावाटको उक्त आयोजनाको विद्युत् प्राधिकरणले ११ केभी लाइनमार्फत माण्डु सबस्टेसनमा जोड्ने तयारी भइरहेको छ । ‘पूर्ण क्षमतामै उत्पादन गरे पनि ११ केभी लाइनबाट खानीखोलाको विद्युत् प्रवाह हुन सक्छ,’ उनले भने, ‘माल्टा–मातातीर्थ ३४ किलोमिटर लाइनमध्ये १० किलोमिटर क्षेत्रमा जंगल पर्ने भएकाले उक्त क्षेत्रको आइइई रिपोर्ट तयार पार्ने काम भइरहेको छ ।’ 

दिव्यश्वरी हाइड्रोपावरले ३३ केभी प्रसारण लाइनमा जडित कुल ४ मेगावाट विद्युत् पठाउँदा वर्षायामका भोल्टेज बढी भई ट्रिप भएको भन्दै उत्पादनमा घटाएको उल्लेख गरेको छ । उक्त समस्या निराकरणका लागि सञ्चालक समितिले प्राधिकरणमा पहल गर्दा पनि केही नभएकाले विद्युत् बिक्री घटेको कम्पनीले जनाएको छ । कम्पनीले तीन महिनामा २ करोड ७९ लाख २० हजारको विद्युत् बिक्री गरेको उल्लेख गरेको छ । 

निर्माणाधीन अन्य केही आयोजनाले समेत प्रसारण लाइन समयमै नबने घाटा हुने प्रगति विवरणमा उल्लेख गरेका छन् । प्राधिकरणकै सहायक कम्पनी सान्जेन जलविद्युत्ले समेत निर्माण कार्यतालिकाअनुसार चिलिमे त्रिशूली २ सय २० केभी प्रसारण लाइन निर्माणमा ढिलाइ भएमा विद्युत् खेर जाने उल्लेख गरेको छ । 

पाँच जलविद्युत्को नाफा घट्यो, ६ कम्पनी घाटामा 
चालू आवको पहिलो तीन महिनामा विवरण सार्वजनिक गरेका ५ जलविद्युत् आयोजना घाटामा छन् । त्यस्तै, ६ आयोजनाको नाफा पनि गत आवको तुलनामा घटेको छ । वर्षायाममा खोलामा पानीको बहाव बढी हुने भएकाले विद्युत् उत्पादन तथा बिक्रीबाट आम्दानी बढेको देखिन्छ । तर, हिउँदमा पानीको बहाव कम हुँदा नाफा घटेको जलविद्युत् कम्पनी बताउँछन् । ५ जलविद्युत् कम्पनीले हालसम्म तीन महिनाको विवरण सार्वजानिक गरेका छैनन् । पञ्चकन्यामाई, जोशी, घलेम्दी, बरुण हाइड्रोपावर, हिमालय पावर पार्टनरजस्ता कम्पनीले नियमित त्रैमासिक विवरण सार्वजनिक गरेका छैनन् । सूचीकृत कम्पनीमा जनताको सेयर लगानी रहने भएकाले उनीहरूले आफ्नो वित्तीय विवरण प्रत्येक ३–३ महिनामा सार्वजनिक गर्नुपर्छ ।