मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
२०७६ पौष ८ मंगलबार ०६:५०:००
Read Time : > 1 मिनेट
प्रदेश

भिजिट नेपाल २०२० : तयारीमा जुटे रसुवाली

Read Time : > 1 मिनेट
२०७६ पौष ८ मंगलबार ०६:५०:००

रसुवामा भिजिट नेपाल २०२० को तयारी सुरु गरिएको छ । भिजिट नेपाल २०२० जिल्ला समिति गठन गरी आवश्यक तयारी सुरु गरिएको छ । सन् २०२० आउन ८ दिन बाँकी छँदा सोमबार जिल्ला समन्वय समिति रसुवामा बैठक बसी २०२० को अवसरमा गरिने कार्यक्रमको कार्ययोजना बनाइएको छ । 

भिजिट नेपाल २०२० का अवसरमा १५ र १६ पुसमा जिल्लाभर पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने भिजिट नेपाल २०२० जिल्ला समितिले जनाएको छ । भिजिट नेपाल २०२० झल्किने गरी जिल्लाको उत्तरगया गाउँपालिकाको बेत्रावती, कालिका गाउँपालिकाको कालिकास्थान, आमाछोदिङ्मो गाउँपालिकाको बाहुनडाँडा, गोसाइँकुण्ड गाउँपालिकाको सदरमुकाम धुन्चे, स्याफ्रुबेँसी र रसुवागढीमा पर्यटकहरूको स्वागतका लागि स्वागतद्वार निर्माण गरिने भएको छ । 

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका ५ स्याफ्रुबेँसी स्थित होटेल मल्ल, होटेल ल्हासा, काठमाडौं स्थित होटेल मस्याङ्दी र होटेल जम्पामा पुग्ने पहिलो वा दोस्रो पर्यटकलाई ‘वान नाइट स्टे’का लागि ब्रेक फास्टसहितको सुविधा उपलब्ध गराइनेछ । त्यस्तै, भिजिट नेपाल २०२० को पहिलो दिन जिल्लाको बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रुबेँसी, रसुवागढी र बाहुनडाँडामा भ्रमणमा आएका पर्यटकलाई स्वागत गरिने भएको छ । त्यसका लागि जिल्लाका स्थानीय तह, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी कार्यालयलाई जिम्मा दिइएको छ । 
२०२० को पहिलो दिन स्वागत कार्यक्रमलाई मध्यनजर राख्दै सदरमुकाम धुन्चे तथा स्याफ्रुबेँसीमा सांस्कृतिक कार्यक्रम, फुड स्टेट फेस्टिबल, डिस्प्लेद्वारा रसुवाको जानकारी, तामाङ संग्राहलयको अवलोकन, सूचना केन्द्र स्थापना गरी पोस्टर पम्प्लेट वितरण गरिने भएको छ । त्यस्तै, रसुवा प्रवेश गर्ने रसुवागढी नाका र बेत्रावतीमा पर्यटकहरूलाई अवलोकन भ्रमण गराई विशेष छुटसाथ सदरमुकाम धुन्चे, स्याफ्रुबेँसीमा रहेका पर्यटकीय होटेलहरूलाई ब्याकेट निर्माण गर्न अनुरोध गरिने भएको छ । 

पर्यटकमैत्री व्यवहार, बसोबासस्थान, सरसफाइ सुरक्षालगायतका लागि सम्बन्धित स्थानीय तह, बजारस्थल र होटेलहरूलाई अनुरोध गर्ने निर्णय गरिएको भिजिट नेपाल २०२० जिल्ला समितिले जनाएको छ । दुई दिन सञ्चालन गरिने कार्यक्रमका लागि २० लाखको माग गरिए पनि अहिले तीन लाख रुपैयाँ मात्र बजेट आएको जनाएको छ ।