Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ पौष ७ सोमबार १२:३२:००
Read Time : > 2 मिनेट
प्रदेश

सुध्रिँदै सेती प्रादेशिक अस्पतालको सेवा

Read Time : > 2 मिनेट
२०७६ पौष ७ सोमबार १२:३२:००

आकस्मिक कक्ष, ओपिडी, जनरल वार्ड, गाइनो, एक्स–रेलगायत कक्ष तथा शौचालयहरू सफा छन् । भवनको माथिल्लो तला जाने सिँढी र अस्पताल परिसरको सरसफाइमा पनि उत्तिकै ध्यान दिइएको छ । ओपिडीलगायत कक्षहरूमा चिकित्सक र स्वास्थ्यकर्मी नभेटिने अवस्थामा सुधार आएको छ । प्रदेशकै रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको सेवा सुधार हुँदै गएको छ ।

पछिल्ला केही महिनायता अस्पतालको सेवामा सुधार हुँदै गएको अनुभव सेवाग्राहीले  गरेका छन् । खासगरी, सरसफाइलगायत व्यवस्थापकीय पाटोमा देखिने गरी सुधार भएको छ । अव्यवस्थित वार्डहरू, जताततै फोहर र दुर्गन्ध, पानीसमेत नहुने दुर्गन्धित शौचालयहरू अहिले तुलनात्मक रूपमा व्यवस्थित, सफा र चिटिक्क पारिएका छन् । सवारी पार्किङ व्यवस्थित गरिएको छ । व्यवस्थापकीय पक्ष मात्र होइन, अस्पतालको उपचार सेवामा पनि केही सुधार आएको सेवाग्राहीले महसुस गरेका छन् ।

‘खासगरी, सरसफाइमा निकै सुधार भएको रहेछ,’ कञ्चनपुरबाट उपचारका लागि आएका सेवाग्राही अमित तिरुवाले भने, ‘वार्डहरू पनि व्यवस्थित गरिएका छन्, यसले बिरामी र कुरुवालाई पनि सहज भएको छ ।’ आफन्तको उपचारका लागि करिब एक वर्षअघि आएको समयभन्दा अहिले सेवा केही सहजरूपमा पाएको अनुभव उनले सुनाए । यद्यपि बिरामीको चाप बढी हुँदा पर्चा काट्न र उपचारका लागि लामो समय लाइनमा बस्नुपर्ने बाध्यता भने कायमै रहेको तिरुवाको अनुभव छ ।  

वार्डहरूमा चिकित्सक नभेटिने, ल्याबमा पालो नपाउँदा परीक्षणका लागि बाहिर जानुपर्ने, ल्याबमा उपकरण बिग्रिरहने समस्या कम भएको अर्का सेवाग्राही हर्क साउँदले बताए । व्यवस्थापकीय पक्षमा निकै सुधार आए पनि उपचार सेवामा अझै सुधार गर्न आवश्यक रहेको उनले औँल्याए । चिकित्सकलाई निर्धारित अवधिभर कार्यकक्ष छाडेर अन्यत्र जान नदिन अझै कडाइ गरिनुपर्ने उनको सुझाब छ ।

‘व्यवस्थापनको पाटोमा सुधार भएको देखिन्छ र अस्पतालले दिने सेवामा पनि केही सुधार भएको छ तर यति मात्र पर्याप्त होइन,’ धनगढीकै अर्का स्थानीय प्रेम ढुंगानाले भने, ‘अझै अस्पतालमा ल्याबका उपकरण बिग्रिएको जवाफ दिइने, उपलब्ध सेवालाई प्रभावकारी बनाउने र चिकित्सक, उपकरण थप गरेर सेवाहरू थप गर्नेतर्फ पनि ध्यान दिनुपर्छ ।’ 

अस्पतालमा डाक्टरहरू नभेटिने, ड्युटीमा रहेका वेला पनि निजी मेडिकलमा बिरामी जाँच्न गरेर बस्ने, उपचारमा लापरबाही हुनेजस्ता विगतमा सुनिने गुनासाहरू नआउने अवस्था सिर्जना हुनुपर्ने उनले बताए । ‘अहिले त्यस्ता समस्या कम भएको देखिन्छ, तर विगतमा यी गुनासाहरू पटक–पटक दोहोरिने गरेका छन्,’ उनले भने, ‘अस्पतालका स्वास्थ्यकर्मीको बोलीमा सुधार हुन जरुरी छ, यस्ता गुनासालाई केन्द्रमा राखेर अस्पताल प्रशासन र व्यवस्थापनले काम गर्नुपर्छ ।’

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. हेमराज पाण्डेयले डाक्टरहरूलाई ड्युटीमा रहेका वेला बिरामी जाँच्न निजी मेडिकलमा जान नदिन कडाइ गरिएको बताए । ल्याबमा परीक्षणका लागि लामो समय लाइन लाग्नुपर्ने वा बाहिर निजी मेडिकलमा जानुपर्ने सेवाग्राहीको बाध्यता रहेकाले प्रयोगशालामा सुधार गरिएको उनको दाबी छ । 

ड्युटी समयमा बाहिर जान नदिन कडाइ
केही महिनायता भिडियो एक्स–रे, मुटुको भिडियो एक्स–रे, भिडियो इन्डोस्कोपीलगायत उपकरणहरू पनि जडान गरिएको डा. पाण्डेयले जानकारी दिए । दन्त रोग, नाक, कान, घाँटीलगायत उपचार सेवाहरू विस्तार गरिएको अस्पताल प्रशासनले जनाएको छ । आवश्यक उपकरण जडान गरी फिजियोथेरापी सञ्चालनमा ल्याइएको उनले बताए । अस्पतालमा हालै अक्सिजन प्लान्ट जडान गरिएपछि बाहिरबाट अक्सिजन खरिद गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । 

एउटा बेड थपेर आइसियुमा बेडको संख्या पाँच पु¥याइएको छ । आकस्मिक कक्षमा एक बेड आइसीयु र अपरेसन कक्ष निर्माणको चरणमा रहेको मेसु पाण्डेले बताए । ‘कुनै पनि डाक्टर र कर्मचारी काम छाडेर बाहिर गएको भेटिए कारबाही गर्छौँ,’ मेसु पाण्डेयले भने । केही सुधारकै चरणमा छन् ।’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद जोशीले अस्तव्यस्त व्यवस्थापनमा सुधार हुँदै गएको बताए । अस्पतालमा दक्ष चिकित्सक र उपकरण थप गर्नका लागि पनि व्यवस्थापन समितिले पहल गरिरहेको उनले बताए । आइसियु र एनआइसियुमा श्यया थप गर्न लागिएको पनि व्यवस्थापन समितिले जानकारी दिएको छ । दिउँसो तीन बजेपछि आएका बिरामीको उपचारका लागि अतिरिक्त स्वास्थ्य सेवा सुरु गर्न लागिएको अध्यक्ष जोशीले जानकारी दिए ।