मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ पौष ७ सोमबार ११:५१:००
Read Time : > 1 मिनेट
प्रदेश

अदालतको आदेशमा विपन्न परिवारको घर डोजर लगाएर भत्काइयो, शीतलहरका वेला गरिब परिवारको बिचल्ली

Read Time : > 1 मिनेट
२०७६ पौष ७ सोमबार ११:५१:००

सिरहा नगरपालिका–६ बसपिट्टाका विपन्न दलित परिवारको घर डोजर लगाएर भत्काइएको छ । जिल्ला अदालत सिरहाको आदेशमा स्थानीय चमार समुदायका पाँच घर डोजर लगाएर भत्काइएको हो । शीतलहरका वेला घर भत्काउँदा स्थानीय समतोलिया महरा, रामजी महरा, फुलचो महरा, राजकुमार महरा र रामवृक्ष महराको परिवार बिचल्लीमा परेको छ । 

अदालतको आदेशपछि सिरहा–१ का दामोदर प्रधानांगको अगुवाइमा घर भत्काइएको हो । आफ्नो बाजेले निजी गुठी बनाएर मन्दिर र पोखरी निर्माण गरी संरक्षण गरेको जग्गा अतिक्रमण भएपछि घर भत्काइएको उनले बताए । गुठीको जग्गामा राधाकृष्ण मन्दिर र पोखरी छ । ‘अतिक्रमणमा परेको गुठीको जग्गा खाली गर्न अदालतले फैसला गरेपछि जग्गा खाली गरेका हौँ,’ प्रधानांगले भने ।

घर भत्काउन अदालतको आदेश
सिरहा–६ का वडाध्यक्ष विजयकुमार यादवले अदालतको आदेशमा घर भत्काइएकाले आफूहरूले केही गर्न नमिल्ले बताए । ‘स्थानीय सरकारको नाताले पनि अदालतको आदेशको अवहेलना गर्न मिल्दैन,’ यादवले भने, ‘बरु विस्थापित परिवारको व्यवस्थापनमा ध्यान दिन्छौँ ।’ घर भत्काउनुअघि अदालतले ३५ दिने सूचना दिएको थियो ।

जिल्ला अदालत सिरहाले २४ कात्तिक ०७३ मै गुठीको जग्गा खाली गर्न फैसला गरेको तहसिलदार सीताराम खड्काले बताए । ‘२१ जेठ ०७५ मा पनि अदालतले सोही प्रकृतिको फैसला गर्‍यो,’ खड्काले भने, ‘अदालतको फैसलाअनुसार सूचना टाँस गरेर घर भत्काएका हौँ । अदालतले फैसला गरेपछि कार्यान्वयन गराउने जिम्मा पनि हुन्छ ।’ 

बिचल्लीमा दलित परिवार
प्रशासनको आडमा घर भत्काएपछि विपन्न दलित परिवारको बिचल्ली भएको छ । जाडोको समयमा रात काट्नै मुस्किल भएको स्थानीय फुलचो महराले गुनसो गरिन् । ‘स–साना बालबालिकासहित १२ जनाको परिवार छ, अब यो जाडोमा बालबालिकालाई कसरी जोगाउनु ?’ महराले भनिन् । घर भत्काइँदा फुलचोजस्तै कारीदेवी महराको परिवार पनि बिचल्लीमा परेको छ । ‘परिवारमा एक वर्षीया बालिकासहित ६ जना छौँ,’ कारीदेवीले भनिन्, ‘अब यो शीतलहरमा ठूलो संकट आइलाग्यो ।’ 

शीतलहरले जनजीवन कष्टकर भइरहेका वेला सामान्य मानवीय संवेदना पनि नदेखाई विपन्न परिवारको घर भत्काएकोमा स्थानीय अशेष गोइतले असन्तुष्टि व्यक्त गरे । ‘प्रशासनको आडमा गरिब परिवारको घर भत्काउनु खेदजनक छ,’ उनले भने, ‘गुठिको जग्गा नछुट्याई गलत मनसायले विपन्नको घर भत्कायो ।’

पीडित परिवारद्वारा प्रशासनमा धर्ना 
पीडित परिवारले आइतबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । पीडित परिवारले समस्या सल्ट्याउन आग्रह गरेको सिरहा नगरपालिका–६ का अगुवा दिनेश यादवले बताए । पीडित र केही स्थानीयसँग प्रशासनले छलफल गरेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले समस्या समाधानमा पहल थालिएको बताए ।