मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पर्यटकीय क्षेत्र परेवाकोट अवलोकनपछि सामूहिक फोटो खिचाउँदै जनप्रतिनिधि । तस्बिर : नयाँ पत्रिका
२०७६ पौष ७ सोमबार ०७:२२:००
Read Time : > 1 मिनेट
प्रदेश

चितवनमा भ्रमण वर्षको तयारी तीव्र : पर्यटकीय स्थल अध्ययनमा जुटे जनप्रतिनिधि

Read Time : > 1 मिनेट
२०७६ पौष ७ सोमबार ०७:२२:००

भ्रमण वर्ष २०२० दैलोमा आइपुगेको छ । अंग्रेजी  नयाँ वर्ष २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन विविध कार्यक्रमहरू तय भएका छन् । चितवनमा पनि भ्रमण वर्षलाई लक्षित गरी विभिन्न कार्यक्रम सार्वजनिक गरिएका छन् । सचिवालय बैठकले पर्यटकीय गन्तव्य अध्ययन अवलोकन, गुरु शंकाराचार्यको उपस्थितिमा देवघाटमा धार्मिक महोत्सव, सौराहा महोत्सव, जाउँ है सोमेश्वर गढीलगायत कार्यक्रम सार्वजनिक गरेको छ ।

जिल्लामा रहेका पर्यटकीय स्थानहरूको अध्ययन, अवलोकन गर्ने उद्देश्यले शुक्रबारबाट जनप्रतिनिधि, प्रशासक, पर्यटन व्यवसायीहरू जिल्लाका विभिन्न स्थानमा पुगेका छन् । नेपाल भ्रमण वर्ष आयोजक समितिका चितवन संयोजकसमेत रहेका जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले भएका पर्यटकीय स्थानहरूको अवलोकन गरी प्रचारप्रसारमा जुट्ने बताए । ‘पहिले सरोकारवालाहरूले हेर्नुप-यो अनि अरूलाई पनि घुम्न जाउँ भनी प्रेरित गर्न सकिन्छ,’ प्रमुख डल्लाकोटीले भने, ‘गन्तव्यसम्म पुग्न केही समस्या भए त्यसको तत्काल समाधानका लागि पनि अवलोकन गर्न आएका हौँ ।’

 प्रचारमा प्रविधिको प्रयोग
सार्वजनिक स्थाल, पर्यटक बस, जहाज, ठूला होटेलहरूमा वृत्तचित्र र फोटाहरू देखाइने उनले बताए । त्यस्तै, नयाँ वर्षको दिन पर्यटकको स्वागत गर्न चितवनको चिनारीको रूपमा चिनो प्रदान गरिने उनले बताए । सौराहा क्षेत्रमा रात्रिकालीन सफारी नयाँ प्रयोग भएकाले कौतुहलता र उत्साहको विषय बनेको क्षेत्रीय होटेल संघ सौराहाका कोषाध्यक्ष माधव दुवाडीले बताए ।

कालिका नगरपालिकाप्रमुख खुमनारायण श्रेष्ठले आफ्ना क्षेत्रमा भएका पर्यटकीय स्थलहरूको प्रविधिको प्रयोगबाट व्यापक प्रचारप्रसार गरेमा पर्यटक आउन कुनै समस्या नहुने बताए ।
भौगोलिक स्थान, जातजाति, धार्मिक र सांस्कृतिक क्षेत्र, कृषि उत्पादन विशेषका आधारमा पर्यटकीय गन्तव्यलाई विशिष्टीकृत गर्न सकिने भन्दै मेयर श्रेष्ठले पर्यटकका लागि राम्रो सत्कार दिन सकेमा हरेक वर्ष पर्यटकीय वर्ष जस्तै मनाउन सकिने बताए । नेपाल सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । 

 सातवटै स्थानीय तह तयारीमा
जिल्लाका सातवटै स्थानीय तहका प्रमुखहरू अवलोकनमा सहभागी छन् । हरेक स्थानीय तहका प्रमुखहरूले आफ्नो ठाउँको पर्यटकीय गन्तव्य देखाउने र त्यसको प्रवद्र्धनका लागि छलफल गर्ने भएका छन् । जिल्लाको माडी, पहाड र तराई भेगका पर्यटकीय गन्तव्य अवलोकन गरिने भएको छ । शुक्रबार मात्रै अध्ययन टोलीले सौराहा क्षेत्रमा सञ्चालन गर्ने भनिएको रात्रिकालीन सफारीको विषयमा अध्ययन, अवलोकन गरेको छ । 

त्यस्तै, शुक्रबार नै अन्य पर्यटकीय स्थानहरू कुमरोज भ्यु–टावर, दराई बोटे ताल, परेवाकोट, कंकालीकोट डाँडा र मन्दिर, शक्तिखोर कालिका मन्दिर, चितवनको पुरानो सदरमुकाम उपरदाङगढी क्षेत्रको अध्ययन, अवलोकन गरिएको छ । शनिबार इच्छाकामना गाउँपालिका र माडी क्षेत्रको अवलोकन गरिने भएको छ । भ्रमण वर्षको तयारीअन्तर्गत पर्चा छाप्ने, भिडियो वृत्तचित्र बनाउने, फोटो प्रदर्शन गर्नेजस्ता काम गर्न लागिएको संयोजक डल्लाकोटीले बताए ।