१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष ७ सोमबार ०६:५५:००
Read Time : < 1 मिनेट
समाचार

विपन्न परिवारका ११ हजार युवालाई निःशुल्क तालिम दिन भौचर बाँडिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष ७ सोमबार ०६:५५:००

शिक्षा मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि (इभेन्ट परियोजना)ले चालू आर्थिक वर्षमा करिब ११ हजार विपन्न परिवारका युवालाई छोटो अवधिको तालिमका लागि भौचर दिने भएको छ ।

 इभेन्ट परियोजनाले सुविधाविहीन समूहका दलित, लोपोन्मुख, अति सीमान्तकृत, तथा सीमान्तकृत जनजाति र गरिबका लागि रोजगारीमा सहयोग पु-याउने उद्देश्यले १० हजार नौ सय ४१ युवालाई भौचर वितरण गर्न लागेको हो । इभेन्ट परियोजनाले काठमाडौंको भृकुटीमण्डपमा ७ र ८ पुसमा भौचर मेलाको आयोजना गरी छनोट भएकालाई तीन महिनाको तालिम दिन लागेको हो ।

तालिमका लागि सहभागीहरूको मागमा आधारित, रोजेको विषय र बजारको आवश्यकता तथा पायक पर्ने ठाउँमा निःशुल्क तालिम लिन भौचरको व्यवस्था गरेको छ । तालिमअनुसार भौचरबापत सेवा प्रदायक संस्थाले पाउने रकम फरक छ । तालिम प्रदायक संस्थाले सहभागीलाई कम्तीमा ६ महिनाको रोजगारी सुनिश्चित गर्नुपर्नेछ । ३४ विभिन्न पेसागत विषयमा तालिम दिन ५८ तालिम तथा रोजगार प्रदायक संस्था छनोट भएका छन् । 

काठमाडौं उपत्यकाका तीन जिल्लाभित्र आफूले छानेको विषय र संस्थामा भौचर बुझाएर तालिम लिन सकिनेछ । इभेन्ट परियोजना निर्देशक चन्द्रकान्त भुसालले तालिम लिने व्यक्ति इभेन्टले छनोट गरी अन्य संस्थालाई जिम्मेवारी दिने बताए । उनले भने, ‘तालिम लिएको ६ महिना रोजगारी पाएको छ÷छैन भन्ने अर्कै संस्थाले अनुगमन गर्छ, सबै ठीक छ भनेपछि मात्र भुक्तानी गर्छौँ ।’ विश्व बैंकको ऋण सहयोगमा इभेन्ट परियोजना सञ्चालन भइरहेको छ । 

तालिम लिन चाहने १६ देखि ४० वर्ष समूहका २६ हजार तीन सय ५९ बेरोजगार युवाले आफ्नो पारिवारिक स्थितिसहितको विवरण अनलाइनमार्फत फारम भनेकामा १० हजार नौ सय ४१ छनोट भएका छन् ।