मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ पौष ६ आइतबार ०७:४४:००
Read Time : < 1 मिनेट
अर्थ

रसुवा भन्सारले मंसिरमा उठायो लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व

Read Time : < 1 मिनेट
२०७६ पौष ६ आइतबार ०७:४४:००

रसुवा भन्सार कार्यालय टिमुरेले मंसिर महिनामा लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व उठाएको छ । कार्यालयले चालू आर्थिक वर्ष ०७६/७७ को मंसिर महिनामा लक्ष्यभन्दा ७ दशमलव ८४ प्रतिशत बढी राजस्व असुली गरेको हो ।

मंसिर महिनामा  ९३  करोड ५७ लाख ८३ हजार लक्ष्य राखेको कार्यालयले १ अर्ब ९१ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको भन्सारप्रमुख पुण्यविक्रम खड्काले बताए ।  चिनियाँ सामग्रीको आयात बढेको र भन्सार मूल्यांकनमा वृद्धि भएसँगै लक्ष्यभन्दा बढी राजस्व असुली भएको खड्काले बताए । 

पछिल्लो समय नेपाली खाद्यसामग्री लैजान चीनले अवरोध गरे पनि अन्य सामग्री निकासी भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख खड्काले जानकारी दिए । अहिले रसुवागढी नाकाबाट चीनतर्फ जडीबुटी, हस्तकलाका सामान बढी मात्रामा निर्यात भइरहेको खड्काको भनाइ छ । उनले भने, ‘नेपालबाट हाल खाद्यान्न नगए पनि, जडीबुटी, च्याउ, बाँसको मुढा तथा हस्तकलाका सामान निर्यात भइरहेको छ ।’

सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकाबाट निकासी, पैठारी बढेसँगै भन्सार असुली पनि बढेको हो । कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्तःशुल्क भ्याटलगायतबापत भन्सार असुली गर्दछ । चीन जोड्ने विभिन्न नाकामध्ये रसुवागढी नाका मात्रै सञ्चालनमा रहेकाले यो नाकामा व्यापारिक कारोबार बढेको छ । 

चीनको केरुङबाट रसुवागढी नाका हुँदै नेपालतर्फ रेडिमेड कपडा, कम्मल, घडी, जुत्ता, चप्पल, स्याउ, विद्युतीय तथा इलेक्ट्रोनिकलगायत सामग्री भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ जडीबुटी तथा हस्तकलाका सामग्री जाने गरेको छ । ०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ ।