१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ पौष ६ आइतबार ०७:२८:००
Read Time : > 1 मिनेट
समाचार

शीतलहरले विद्यालय बन्द

Read Time : > 1 मिनेट
२०७६ पौष ६ आइतबार ०७:२८:००

शीतलहरका कारण जिल्लाका लोहारपट्टी र औरही नगरपालिकामातहत सबै विद्यालय बन्द भएका छन् । शीतलहरका कारण तापक्रम वर्षकै न्यूनमा झरेपछि बालबालिकालाई विद्यालय आउन गाह्रो हुने ठहर गर्दै यी नगरपालिकाले बिदा दिने घोषणा गरेका हुन् । लोहारपट्टीले शनिबारदेखि एक हप्तासम्म तथा औराहीले शुक्रबारदेखि तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

औरही नगरपालिकाका मेयर सुनीलकुमार यादवले तीन दिनमा पनि मौसममा सुधार नआए बिदा बढाउन सकिने बताए । स्थानिय विद्यालयको अनुगमनसमेत गरेका उनले बालबालिका विद्यालय आउन मौसम प्रतिकूल देखेपछि तत्काल विद्यालय बन्द गर्न पत्राचार गरेका थिए ।

बालविकासमा मेट्रेस र कार्पेट
बालविकासका कक्षाका बालबालिका अत्यन्तै कलिला हुने भएकाले उनीहरूलाई न्यानो बनाएर राख्न पालिकाका सबै विद्यालयमा मेट्रेस र कार्पेटको व्यवस्था गरेको मेयर यादवले बताए । हाललाई सबै विद्यालयमा मेट्रेस पठाइसकिएको र विद्यालय खुल्नुअगावै कार्पेटसमेत पठाउने व्यवस्था भइरहेको उनले जानकारी दिए ।

स्थानीय गरिब, दलित तथा विपन्नहरूलाई समेत चिसो र शीतलहरबाट बचाउन स्थानीय प्रहरीको सहयोगमा ठाउँठाउँमा दाउरा बाँडे्का छन् । साथै कम्बल वितरणका लागि समेत पूर्वतयारी भइरहेको मेयर यादवले बताए । 

राहत नपाएको गुनासो
शीतलर प्रभावित अधिकांश पालिकाका स्थानीयले आफूहरूलाई कुनै निकायले सहयोग नगरेको बताएका छन् । आफूहरूको दुःख हेर्नसमेत कुनै जनप्रतिनिधि नआएको भन्दै दुखेसो पोखेका थिए । मेरो परिवार जनता आवास कार्यक्रमअन्तर्गत बनाइएको अपुरो घरमा बस्छ ।

घर सामान्य बस्नलायक पनि छैन । घरको नाममा खुला आकाश छ,’ भंगहा नगरपालिका ३ मुसहर बस्तीकी मालती सदाले भनिन्, ‘यस्तो अवस्थामा पनि कुनै जनप्रतिनिधि वा निकाय हेर्नसमेत आएका छैनन् ।’ 

प्रदेश सभा सदस्य सुरिता साहले शीतलहर प्रभावितलाई सहयोग गर्न आफूले केही थान कम्बल जुटाएको जानकारी दिँदै भनिन्, ‘मेरोे क्षेत्रका शीतलहर प्रभावितलाई थोरै भए पनि राहत जुटाउन प्रयास गरिहेकी छु ।’

जनजीवन कष्टकर
जिल्लाका अन्य भेगमा समेत शीतलहरले अत्यधिक प्रभाव पारेको छ । यसबाट बालबालिका, बूढाबूढी र विपन्न वर्गका मानिस बढी प्रभावित भएका छन् । शीतलहर प्रभावितलाई सक्दो सहयोग गर्न जिल्ला विपद् व्यवस्थापन समितिले आफूमातहत सबै पालिकालाई पत्राचार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयलेसमेत आफूमातहत सबै चौकीलाई सक्दो सहयोग गर्न निर्देशन दिएकोमा औरहीस्थित प्रहरी चौकीले स्थानीयस्तरमा दाउरा जुटाएर नगरपालिकाको समेत सहयोगमा ठाउँ–ठाउँमा बाँडेको थियो ।