मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ पौष ५ शनिबार ०९:१९:००
Read Time : > 1 मिनेट
अर्थ

सडक दुर्घटना न्यूनीकरणको सुझाब दिन अध्ययन समिति गठन

Read Time : > 1 मिनेट
२०७६ पौष ५ शनिबार ०९:१९:००

नीतिगत र संरचनागत सुधारका सुझाब सिफारिस गर्न समितिलाई कार्यादेश

सरकारले देशभर हुने सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपाय सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी सहसचिव प्रमिलादेवी शाक्य बज्राचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिले सडक दुर्घटना हुने कारण र त्यसलाई न्यूनीकरण गर्ने उपायबारे अध्ययन गर्नेछ । त्यसका लागि नीतिगत तथा संरचनागत सुधारसहितको प्रतिवेदन पेस गर्ने कार्यदेश समितिलाई दिइएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको समितिले देशभर विगतमा भएका सवारी दुर्घटनाको अध्ययन गर्नेछ । समितिमा गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरीका अधिकारीसमेत रहनेछन् । समितिको समयावधि ३ महिना तोकिएको छ । 

दुर्घटना न्यूनीकरणबारे अध्ययन गर्न संसदीय उपसमिति गठन 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मात्र होइन, संघीय संसद्को विकास तथा प्रविधि समितिले पनि सडक दुर्घटना न्यूनीकरणबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले ५ सदस्यीय बढ्दो सवारी दुर्घटना न्यूनीकरण अध्ययन उपसमिति गठन गरेको हो । समितिको संयोजक गणेश पहाडी छन् । सदस्यहरूमा यज्ञराज सुनुवार, रंगमति शाही, दुर्गा पौडेल  र गौरीशंकर चौधरी छन् । उपसमितिले दुर्घटना न्यूनीकरणका लागि समिन्धित निकायहरूसँग छलफल गर्नेछ । त्यस्तै, यस क्षेत्रका विज्ञहरूसँग सुझाब लिनेछ ।

विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काका अनुसार उपसमितिले २ महिनाभित्र प्रतिवेदन बुझाउनेछ । ‘समितिले मुख्यतः सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक नीतिगत र संस्थागत सुधारलाई सिफारिस गर्नेछ,’ उनले भनिन् । समितिको बैठकमा उपस्थित भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सडक दुर्घटनालाई लिएर राष्ट्रपतिले समेत चिन्ता व्यक्त गरेको बताए । प्रधानमन्त्री केपी ओलीले दुर्घटना न्यूनीकरणको उपाय खोज्न यातायात र गृहमन्त्री तथा मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएको जानकारी दिए । दुर्घटना न्यूनीकरणका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउने उनको भनाइ थियो । 

सिन्धुपाल्चोक बस दुर्घटना छानबिन हुँदै
सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाबारे छानबिन गर्न गठित समितिले पुस दोस्रो साताभित्र प्रतिवेदन बुझाउने भएको छ । सम्बन्धित निकायसँग बुझ्ने र स्थलगत अवलोकन गर्ने काम भइरहेको समितिका संयोजक राजेन्द्रराज शर्माले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३० मंसिरमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय प्रमुख राजेन्द्रराज शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्ने समायावधि पाएको छ ।  छानबिन समितिमा गृह मन्त्रालय, ट्राफिक प्रहरी, यातायात व्यवसायी महासंघका प्रतिनिधि छन् ।  

छानबिन समितिका संयोजक शर्माले अध्ययनको काम तीव्र रूपमा भइरहेको बताए । दुर्घटनास्थल पुगेर सवारीसाधनको अवस्था, दुर्घटना भएको ठाउँ र अन्य तथ्यांकहरू जम्मा गर्ने काम भइरहेको उनको भनाइ छ । मन्त्रालयले तोकेकै समयमा सिफारिससहित प्रतिवेदन बुझाउने उनको भनाइ छ । दोलखाको कालिञ्चोकबाट भक्तपुरका लागि छुटेको बस २९ मंसिरमा सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त भएको थियो ।