मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष ४ शुक्रबार ०९:४६:००
Read Time : < 1 मिनेट
समाचार

शीतलहरका कारण विद्यालय बन्द

Read Time : < 1 मिनेट
२०७६ पौष ४ शुक्रबार ०९:४६:००

शीतलहरका कारण जिल्लाको सप्तकोसी नगरपालिकाका सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ । तीन दिनयतता शीतलहर बढेपछि नगरपालिकाअन्तर्गतका चार माध्यमिक र सात आधारभूत गरी ११ वटा सामुदायिक विद्यालय आगामी सोमबारसम्मका लागि बन्द गरिएको नगरपालिकाको शिक्षा शाखाका प्रमुख रामदेव चौधरीले बताए ।

चिसो बढ्दै गएपछि विद्यार्थीको संख्या घटेको र बालबालिकाको स्वास्थ्यमा समेत असर गर्न थालेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको चौधरीको भनाइ छ । ‘तीन दिनको चिसोले सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति आधा घट्यो,’ उनले भने, ‘उपस्थित भएका विद्यार्थीलाई पनि पढाउन सक्ने अवस्था नदेखेपछि यस्तो निर्णय गरिएको हो ।’

आइतबारसम्ममा पनि मौसममा सुधार नआए थप केही दिन विद्यालय बन्द गर्न सकिने शिक्षा शाखा प्रमुख चौधरीले बताए । उनले भने, ‘वर्षे विदाबाट कटौती हुने गरी हामीले अहिले बिदा दिने निर्णय गरेका हौँ । त्यसवेलाको छुट्टी घटाएर भए पनि केटाकेटीलाई चिसोबाट जोगाउन खोजिएको हो ।’

सामुदायिक विद्यालयमा अधिकांश विद्यार्थी दलित तथा विपन्न वर्गका हुने गरेकाले उनीहरूसँग न्यानो नहुँदा विद्यालय बन्द गर्नु नै उपयुक्त ठानेको उनको भनाइ छ । चिसोका कारण जिल्लाका अन्य सामुदायिक तथा निजी विद्यालयमा समेत विद्यार्थी संख्या घटेको छ ।

त्यस्तै, मौसममा एक्कासि आएको परिवर्तनले सप्तरीको जनजीवन प्रभावित भएको छ । बिहानैदेखि चल्ने चिसो हावाका कारण सर्वसाधारणको चहलपहलसमेत घटेको छ ।