मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष १ मंगलबार ०७:३२:००
Read Time : > 2 मिनेट
अर्थ

ऐलानी जग्गाको मुआब्जा नतोक्दा लम्कीमा नहर विस्तार रोकियो 

Read Time : > 2 मिनेट
२०७६ पौष १ मंगलबार ०७:३२:००

राष्ट्रिय गौरवको रानीजमरा–कुलरिया सिँचाइ

 रानीजमरा कुलरिया सिँचाइ आयोजनाले अधिग्रहण गर्नुपर्ने करिब २२ बिगाहा ऐलानी जग्गाको मुआब्जा निर्णय नहुँदा आयोजनाको लम्कीतर्फ विस्तार गरिने नहर निर्माण ठप्प भएको छ । लम्की क्षेत्रमा विस्तार गरिने शाखा नहरमा पर्ने ऐलानी जमिनमा ६७ परिवारले घर बनाएको तथा जोतभोग गरेको जग्गा  अधिग्रहणको निर्णय हुन नसकेको आयोजनाका सूचना अधिकारी प्रेम लासिवाले बताए । ‘जग्गा अधिग्रहणका लागि फाइल उठाएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा दोस्रो पटकसमेत पठाइसकेका छौँ,’ उनले भने, ‘मन्त्रिपरिषद्ले जति छिटो उक्त ऐलानी जग्गाको मुआब्जा निर्धारण गरी भोगाधिकार आयोजनालाई दिन्छ, उति छिटो आयोजना अघि बढ्छ ।’ 

आयोजनाबाट लम्की क्षेत्रतर्फ सिँचाइ गर्न बनाउनुपर्ने १४.७ किलोमिटर शाखा नहरमध्ये ६ किलोमिटर नहर मात्रै बनेको छ । ८.७ किलोमिटर नहर बनाउन ठेकेदार कालिका÷कुमार जेभीले ‘साइट क्लियरेन्स’ गर्न माग गरिरहेको भए पनि हालसम्म हुन नसकेको उनले बताए । आयोजनाबाट ३८ हजार ३ सय हेक्टरमा हुने कुल सिँचाइमध्ये यो शाखा नहरबाट मात्र ६ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य छ । 

ऐलानी जग्गाको मुआब्जा तत्कालै निर्धारण भए पनि बाँकी नहर निर्माण गर्न अझै डेढ वर्ष लाग्ने उनले बताए । ‘यही महिनाभित्र ऐलानी जग्गाको मुआब्जा निर्धारणको निर्णय सरकारबाट भयो भने आउँदो चैत–वैशाखसम्म मुआब्जा वितरण गरी ‘साइट क्लियर’ हुन सक्छ,’ उनले भने, ‘त्यसपछिको १ वर्षमा ८.७ किलोमिटर नहर निर्माण सक्ने लक्ष्य छ ।’ 

आयोजनाबाट कैलालीको रानी र जमरा क्षेत्रका १४ हजार ३ सय हेक्टर खेतियोग्य जमिनमा सिँचाइ सुरु भएको छ । यसमध्ये पनि उच्च जमिन भएका क्षेत्रमा अझै पानी लैजान सकिएको छैन । यसका लागि करिब २ हजार स–साना ढोका बनाउनुपर्छ । कर्णाली नदीबाट मूल नहरमा पानी लैजाने ८ वटा ‘गेट’ लाई ‘म्यानुअल’ सञ्चालन प्रणालीबाट स्वचालित प्रविधि (अटोमेसन)मा लाने तयारी भइरहेको छ । आयोजनाअन्तर्गत कर्णाली नदीबाट १०० क्युमेक्स पानी सेटलिङ बेसिनसम्म र ८० क्युमेक्स पानी मूल नहरमा लाने गरी डिजाइन गरिएको भए पनि हाल २० क्युमेक्स पानी मात्र लगिएको छ । कैलालीको चिसापानीस्थित कर्णाली पुलमुनि मुख्य ढोका (इनटेक) बाट ८.८ किलोमिटर लामो मूल नहर निर्माण सम्पन्न भएको छ । त्यस्तै, आयोजनाबाट सिँचाइ गर्न रानी क्षेत्रतर्फ १० किलोमिटर शाखा नहर निर्माण पूरा भइसकेको छ । उक्त शाखा नहरबाट नै हाल पानी लगेर आंशिक रूपमा सिँचाइ भइरहेको छ । 

असारभित्र ४.७ मेगावाट विद्युत् 
आयोजनाअन्तर्गत निर्माण गरिने ४.७ मेगावाट जलविद्युत्को निर्माणको काम भने तीव्र गतिमा अघि बढिरहेको सूचना अधिकारी लासिवाले बताए । मूल नहरबाट शाखा नहरमा पानी बाँडिएपछि रानीतर्फको शाखा नहरमा आयोजनाको इन्टेक र ७ मिटरको हेडरेस नहर निर्माण गरी पानी लगेर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

१५ वर्षमा आयोजना पूरा हुने 
सिँचाइ आयोजना पूर्ण रूपमा सञ्चालनमा ल्याउन सम्पूर्ण नहर, शाखा नहर, फिडर नहर, ढोकालगायत संरचना बनाउन अझै ४ वर्ष लाग्ने आयोजनाले जनाएको छ । स्थानीय जनताले दशकौँअघि सञ्चालनमा ल्याएको चलनचल्तीको रानीजमरा र कुलरिया कुलो गरी ३ वटा (कुला) सिँचाइ प्रणालीलाई एकीकृत रूपमा परिमार्जन गर्दै बृहत् सिँचाइ आयोजनाको रूपमा यो आयोजना विकास गर्न लागिएको हो । आयोजनाको थालनी ०६५/६६ मा भएर ०७०/७१ मा सक्ने लक्ष्य थियो । तर, आयोजनाको म्याद ६ वर्ष थपेर ०७५/७६ पुर्‍याइयो । यो मितिमा पनि आयोजना सम्पन्न नहुने भएपछि हाल ०८०/८१ (१५ वर्ष) मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।  

१० अर्ब १६ करोडको लागत बढेर २७ अर्ब ५० करोड 
आयोजना थालनी गर्दा १० अर्ब १६ करोड रुपैयाँ लागत रहने अनुमान गरिएको थियो । पछि यो अनुमान बढेर १२ अर्ब ६६ करोड रुपैयाँ पुर्‍याइयो । हालसम्म आइपुग्दा आयोजनामा २७ अर्ब ५० करोड रुपैयाँ लागत हुने अनुमान गरिएको छ । आयोजनाको बाँध, मूल नहरलगायत मुख्य संरचना नेपाल सरकारकै लगानीमा बनेको हो ।