मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गोलबजार नगरपालिका–१० धरमपुरमा हात्तीले भत्काएको घर । तस्बिर : नयाँ पत्रिका
२०७६ मङ्सिर २७ शुक्रबार ०८:२८:००
Read Time : > 1 मिनेट
प्रदेश

सिराहाको चुरे क्षेत्रमा जंगली हात्तीआतंक : हात्तीको आक्रमणबाट एक बालकको मृत्यु, ११ घरमा क्षति

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २७ शुक्रबार ०८:२८:००

सिराहाको चुरेक्षेत्रमा जंगली हात्तीले आतंक मच्चाउन थालेको छ । विगत एक सातादेखि सिराहामा जंगली हात्तीले आतंक मच्चाउन थालेको हो । रातिराति बस्तीमा प्रवेश गर्ने हात्तीले मान्छेलाई आक्रमण गर्ने, घर भत्काउने, बालीनाली खाने गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।

हात्तीको आक्रमणबाट बालकको मृत्यु सोमबार राति मिर्चैया नगरपालिका–९ पैनघट्टामा हात्तीको आक्रमणमा परी एक बालकको मृत्यु भएको छ । हात्तीको आक्रमणमा परी स्थानीय श्रवण महतोका १० वर्षीय छोरा रवीन्द्र महतोको मृत्यु भएको हो । आफ्नै घरमा हजुरबा लक्ष्मी महतोसँग सुतेका बालकलाई राति करिब ११ बजेतिर हात्तीले आक्रमण गरेको थियो ।

हात्तीले घरको भित्ता भत्काउन थालेपछि भाग्ने क्रममा उनी हात्तीको आक्रमणमा परेका इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । बालकलाई हात्तीले लछार–पछार गर्न थालेपछि आफूले भागेर ज्यान जोगाएको हजुरबा लक्ष्मीले बताए । 

गोलबजार नगरपालिका–१० धरमपुरका ५५ वर्षीय कंशलाल लामा पनि हात्तीको आक्रमणबाट घाइते भएका छन् । पिसाब फेर्न घरपछाडि बारितिर गएका वेला सोमबार राति उनलाई हात्तीले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका लामालाई गोलबजारमा सामान्य उपचार गरी थप उपचारका लागि विराटनगर लगिएको गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए ।

जंगलीहात्तीले गोलबजार नगरपालिका–३ मा पर्ने जमदहको मुसहरी नयाँ बस्तीमा आधा दर्जन घर भत्काएको छ । गोलबजार–३ का वडाध्यक्ष धनप्रसाद मोक्तानका अनुसार हात्तीले अशोक सदाय, बद्री सदाय, रामचरित्र सदाय र दिलवर सदायको पाँचवटा घर भत्काइदिएको हो ।

‘जहान बालबच्चा सुत्ने झुपडी हात्तीले भत्काएपछि चिसोमा ज्यान जोगाउनै मुस्किल पर्नेभयो,’ पीडित अशोक सदायले गुनासो गरे । घर भत्काएर हात्तीले करिब तीन क्विन्टल धान, सवा क्विन्टल चामल, ३० केजी रहर र ४० केजी गहुँ खाएर नष्ट गरेको धनगढीमाई–१३ का वडाध्यक्ष सूर्यमान तामाङले बताए । 

त्यसैगरी जंगलीहात्तीले धनगढीमाई–१३ कुमराहाका निर्मल योञ्जन, मौगैन यादव, घिमिरे टोलका भवनाथ दाहाल, खजनपुरिया टोलका रामप्रसाद यादव र महतो टोलका विशेश्वर महतो तथा नागेश्वर महतोको घर भत्काइदिनुका साथै चामल, गहुँ, धानलगायतका खाद्यान्न खाएको छ ।

सिरहाको उत्तरी क्षेत्रमा हरेक वर्ष हिउँदमा जंगली हात्तीले आतंक मच्चाउँदै आएको छ । पूर्वतिरबाट चुरे जंगल हुँदै आउने जंगलीहात्तीले वर्षेनी स्थानीयलाई आक्रमण गर्ने, घर भत्काइदिने, बालीनाली खाइदिने गरेको छ । लहानस्थित डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अमरेन्द्र यादव हात्तीको आक्रमणबाट जोगिन सजग रहनुको विकल्प नरहेको बताउँछन् ।