मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
प्रेमबहादुर चन्द काठमाडौं
२०७६ मङ्सिर २६ बिहीबार १५:४१:००
Read Time : > 1 मिनेट
समाचार

एलपी ग्यासमा दिएको अनुदान हटाउन सुझाव

Read Time : > 1 मिनेट
प्रेमबहादुर चन्द काठमाडौं
२०७६ मङ्सिर २६ बिहीबार १५:४१:००

खाना पकाउने एलपी ग्यासमा सरकारले दिँदै आएको अनुदान हटाउन अध्ययन समितिले सुझाव दिएको छ । पूर्वपर्यटन सचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा गठित ८ सदस्यीय कार्यदलले उक्त सुझाव दिएको हो ।

अहिले निगमले प्रति सिलिण्डर १३ सय ३० रुपैयाँमा एलपी ग्यास बिक्री गरिरहेको छ । उक्त मूल्यमा ग्यास बिक्री गर्दा निगमलाई प्रतिसिलिण्डर १ सय ८९ रुपैयाँ घाटा रहेको निगमको दाबी छ । ग्यासमा निगमलाई लागेको घाटा सरकारले व्यहोर्दै आएको छ । 

कार्यदलको प्रतिवेदनमा ‘नेपाल आयल निगमले खरिद मूल्यमा न्युनतम नाफा जोडी हवाई इन्धनको स्वचालित मूल्य निर्धारण गर्नुपर्ने र त्यसो गर्दा हाल एलपी ग्यासमा दिने गरेको क्रस सब्सिडी (अनुदान) क्रमशः हटाई अटोमेटिक फर्मुलाबाट पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्ने’ भनेर सुझाव दिइएको छ । 

नेपाल आयल निगमले हवाई इन्धनको खरिद मूल्यमा अत्यधिक नाफा लिइरहेकाले त्यसमा न्यूनतम नाफा लिनु पर्ने र स्वचालित मूल्य निर्धारण गर्नुपर्ने कार्यदलको सुझाव छ ।

त्यस्तै ‘खाना पकाउने एलपी ग्यास र सर्वसाधारणले उपभोग गर्ने यातायात परिवहनमा आवश्यक पर्ने  डिजेल सस्तो दरमा बिक्री गर्नुपर्दा नेपाल आयल निगमलाई १५ दिनमा एघार करोड घाटा भइरहेको र हवाई इन्धनमा १५ दिनमा तीन करोड नाफा भइरहेकोले एलपी ग्यासमा दिइएको क्रस सब्सिडी हटाउनु पर्ने’ प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई हवाई इन्धन बेच्दा प्रतिलिटर ४२ रुपैयाँ मुनाफा हुने देखिएकाले त्यस्तो मुनाफा दर घटाएर वायुसेवा सञ्चालनमा राहत दिनु पर्ने समेत प्रतिवेदनले औंल्याएको छ ।

त्यस्तै पछिल्लो समय विद्युतको उत्पादन बढिरहेकोले उपभोक्तालाई इन्डक्सन चुलोतिर आकर्षण गर्नुपर्ने र ग्यासको खपत घटाउनु पर्ने सुझाव पनि प्रतिवेदनले दिएको छ ।

यता नेपाल आयल निगमले प्रतिवेदन अनुसार हवाई इन्धनको मूल्य घटाउन नसकिने र खाना पकाउने ग्यासमा पाउँदै आएको अनुदान हटाउनु पर्ने सुझाव तर्कसँगत नरहेको प्रतिक्रिया दिएको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमले यसअघि पनि हवाई इन्धनको मूल्य घटाउँदा वायुसेवा सञ्चालकहरुले हवाई भाडा नघटाएको भन्दै हवाई इन्धनको मूल्य घटाउनु पर्ने भन्ने सुझाव तर्कसँगत नरहेको बताए । ‘यसअघि हवाई इन्धनको मूल्य घटाएका थियौं । तर वायुसेवा सञ्चालकहरुले हवाई भाडा घटाएका खै त?’ प्रश्न गर्दै उनले भने, ‘हामीले चाँही मूल्य घटाउने भाडा चाँही नघटाउने ।’

इन्धनको कारोबारका लागि नेपाल आयल निगमलाई स्वतन्त्र छाडिनु पर्ने र आवश्यक परेको बेलामा मूल्य थपघटका कुराहरु निगम आफैले निर्धारण गर्ने पौडेलेको भनाइ छ ।