मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर २६ बिहीबार ०७:१५:००
Read Time : > 1 मिनेट
खेलकुद

‘गोल नै गर्छु भन्ने लागेको थिएन’

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २६ बिहीबार ०७:१५:००

ग्रीष्मकालीन तथा हिउँदे ओलम्पिक, कमन वेल्थ र एसियाडजस्ता अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका आयोजकले समापनको दिन फुटबल इभेन्ट राख्छन् । ती प्रतियोगितामा सयौँ खेलाडी स्वर्णपदकका लागि प्रतिस्पर्धा गर्छन् । हुन त प्रत्येक इभेन्टमा स्वर्णपदकले विशेष अर्थ राख्छ । तर, त्यसमध्ये पनि फुटबलको स्वर्ण अलि विशेष हुने गर्छ । स्वर्ण जित्ने टोलीले विशेष प्राथमिकता पाउने गरेको उदाहरण छ । 

१३औँ सागको फुटबल फाइनलमा भुटानविरुद्ध निर्णायक गोल गरेपछि सुनिल बल (जर्सी फुकालेका) । फाइल तस्बिर

मंगलबार काठमाडौंमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)को समापनअघि दशरथ रंगशालामा नेपाल र भुटानका पुरुष फुटबल टोलीले स्वर्णपदकका लागि प्रतिस्पर्धा गरे । नेपालले २–१ ले बाजी मार्दै चौथोपटक सागमा स्वर्ण जित्यो । पूरै रंगशालाभित्र र बाहिरको वातावरण फुटबलमय बनेको थियो । मध्यान्तरअघि भुटान र नेपालबीच १–१ को बराबरी भएको थियो । यस्तो अवस्थामा विपक्षीले थप एक गोलको अग्रता लिँदा जस्तोसुकै बलियो टोलीले पनि दबाब महसुस गर्छ । बराबरीपछिको गोल नै कतिपय खेलको टर्निङ प्वाइन्ट बन्ने गर्छ । भुटानविरुद्धको स्वर्ण भिडन्तमा नेपाललाई सुनिल बलले त्यस्तै टर्निङ प्वाइन्टमा गोलको भूमिका निर्वाह गरे । उनको गोलमा नेपालले २–१ को अग्रता लियो । 

खेलको ५४औँ मिनेटमा उनले डिबक्सभित्र सनसनीपूर्ण रूपमा हेडिङ गोल गरेका थिए । नेपालले चौथोपटक स्वर्ण जित्दा सुनिलको सो गोल नै निर्णायक बन्यो । नेपाललाई ब्याक टु ब्याट फुटबलमा स्वर्ण दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सुनिलले खासमा त्यो बल ‘गोल नै हुन्छ’ भनेर प्रहार गरेका रहेनछन् । भुटानका गोलरक्षक हल्का अगाडि रहेको अवस्थामा डिफेन्डर सुमन अर्यालको क्रस उनले भेट्टाए । 

सुमनको क्रस टाइमिङ गज्जबको थियो, मैले  हेडिङ प्रयास गरेको थिएँ, प्रयासमा गरेको हेडिङ वास्तवमै गोलमा परिणत भयो – सुनिल बल, स्ट्राइकर

‘सुमनको क्रस टाइमिङ गज्जबको थियो, मैले गोल होला कि भनेर हेडिङ प्रयास गरेको थिएँ,’ निर्णायक हेडिङ गोलको क्षण सम्झँदै सुनिलले भने, ‘प्रयासमा गरेको हेडिङ वास्तवमै गोलमा परिणत भयो ।’ भुटानी कप्तान चेम्चोले बराबरी गोल फर्काउँदा नेपाली टोलीले केही दबाब महसुस गरेको उनको भनाइ छ । ‘त्यसवेला हामीले दबाब महसुस गरेका थियौँ, मध्यान्तरपछि गोल गर्ने योजना थियो र मैले नै त्यो अवसर पाउने विचार नै गरेको थिएनँ,’  उनले भने । 

नेपाललाई स्वर्णपदक दिलाउन महत्वपूर्ण योगदान दिँदा अत्यन्तै खुसी लागेको उनको भनाइ छ । ‘वास्तवमा म त्यो क्षणबारे केही बोल्न सक्ने अवस्थामा छैन, यति फास्ट डिसिजन र मुभ भयो कि सोच्ने समय नै पाइनँ,’ सुनिल भन्छन्, ‘गोल गर्दा निकै खुसी लाग्यो ।’ गोलपछि उनी  उत्साहित भए । उनले रातो जर्सी फुकाले । फोटोग्राफरले उनको त्यो क्षण क्यामेरामा कैद गरे । यसअघि माल्दिभ्सविरुद्ध निर्णायक गोल गरेका अभिषेक रिजालले पनि यसैगरी जर्सी फुकालेका थिए । 

खासमा फुटबल खेलमा खुसीयाली मनाउँदा जर्सी फुकाल्न पाइँदैन । यदि यस्तो गरेमा रेफ्रीले पहेँलो कार्ड दिने गर्छन् । यही नियमअनुसार रेफ्रीले सुनिललाई पहेँलो कार्ड दिए । यद्यपि, यो पहेँलो कार्डले सुनिललाई केही नोक्सानी पुर्‍याएन । गोल गरेलगत्तै माइन्ड शून्य भएको उनको भनाइ छ । ‘गोल गरेको क्षणभरमै जर्सी फुकालेँ, त्यसवेला मैदानमा के–के भयो, थाहै छैन,’ खुसीयाली मनाएको क्षण सम्झँदै उनले भने, ‘मलाई थाहा थियो, जर्सी फुकाल्दा पहेँलो कार्ड पाइन्छ भनेर ।’ टिमवर्कको भावनाले खेल्दा नै नेपालको पक्षमा स्वर्ण आएको सुनिलको विश्लेषण छ । ‘राउन्ड रोबिन लिगदेखि नै हामीले टिमवर्कका साथ खेल्यौँ, यो क्रम फाइनलसम्म नै रह्यो,’ उनले भने ।