मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर २५ बुधबार ०८:२९:००
Read Time : > 4 मिनेट
खेलकुद

कीर्तिमानले भरिएको १३औँ साग

Read Time : > 4 मिनेट
२०७६ मङ्सिर २५ बुधबार ०८:२९:००

१३औँ साग अविस्मरणीय बनेर बिदा भएको छ । यो सागमा नेपालले ५१ स्वर्ण जित्दै दोस्रो स्थान हासिल गर्‍यो । आठौँ सागपछि नेपालले पदक तालिकामा दोस्रो स्थान हासिल गरेको यो नै पहिलो अवसर हो । नेपालले १ सय स्वर्णको आँकडा पार गर्ने कीर्तिमान पनि यसैपटक बनायो । अब, समग्रमा सागमा नेपालको स्वर्ण संख्या १ सय ३० पुगेको छ । यसक्रममा धेरै पुराना कीर्तिमान तोडिए, धेरै नयाँ कीर्तिमान बने । 

गौरिका सिंह (पौडी)

१३औँ सागको नवौँ दिन सनसनीपूर्ण र ऐतिहासिक थियो । जलपरी उपनाम पाएकी गौरिका सिंहले एकै संस्करणमा चार स्वर्ण जित्ने रेकर्ड राखेको यही दिन हो । उनले यससँगै सागमा ४ स्वर्ण जित्ने दीपक विष्टको कीर्तिमानसँग बराबरी गरिन् । 

१२औँ सागमा १ रजत र ३ कास्य जितेकी गौरिकाले यसपटक ४ स्वर्णसहित कुल ९ पदक जित्दै आफ्नो साग पदकसंख्या १३ पुर्‍याएकी छिन् । सागमा यति धेरै पदक जित्ने उनी पहिलो स्वर्णविजेता नेपाली हुन् । सागमा भारोत्तोलनका स्वर्गीय सनीललाल जोशीको नाममा १७ पदक जित्ने कीर्तिमान छ, तर उनी स्वर्णविहीन थिए । उनले जितेका पदकमध्ये ६ रजत र ११ कास्य हुन् । 

गौरिकाले जितेका चारवटै स्वर्ण ती इभेन्ट्समा नेपाली खेलाडीले जितेको पहिलो हो । उनले दुई सय मिटर ब्याकस्ट्रोकमा पहिलो स्वर्ण जित्दै स्विमिङको व्यक्तिगत स्पर्धा र यस इभेन्ट्समा स्वर्ण जित्ने पहिलो नेपालीको कीर्तिमान राखिन् । नेपालले १९९९ मा भएको सागमा टिम इभेन्ट्समा स्वर्ण जिते पनि त्यसपछिको २० वर्षमा अर्को स्वर्ण जितेको थिएन । ‘म नेपाललाई धेरै स्वर्ण दिलाउँछु,’ पहिलो स्वर्ण जितेपछि उनले भनेकी थिइन् । नभन्दै उनले थप तीन स्वर्ण जितिन् ।

दुई स्वर्ण

आयशा शाक्य (तेक्वान्दो)
दुई सन्तानकी आमा आयशाले जारी सागमा २ स्वर्ण जितिन् । २९ वर्षीया आयशाले तेक्वान्दोको पुम्से विधामा एकल तथा टिम इभेन्ट्समा स्वर्ण जितेकी हुन् । उनले एघारौँ सागमा पनि फाइटतर्फ स्वर्ण जितेकी थिइन् । त्यस्तै, नवौँ साग र १२औँ सागमा रजत जितिन् । समग्रमा सागमा ३ स्वर्णसहित २ रजत जितेर उनी संगीना वैद्यलाई उछिन्दै सागकी सफल महिला खेलाडी बनेकी थिइन् । तर, साग नसकिँदै गौरिका सिंहले आयशाको कीर्तिमान तोडिन् । सागमा तेक्वान्दो सफल महिला खेलाडीको कीर्तिमान भने आयशाकै नाममा कायम छ । यसअघि दुई स्वर्ण र १ कास्य जितेकी संगीना सागकै सफल महिला खेलाडी थिइन् । 

मन्डेकाजी श्रेष्ठ (कराते)
यसपटकको सागमा एकै खेलमा दोहोरो स्वर्ण जित्ने धेरै रेकर्ड बने । यस्तो कीर्तिमानको सुरुवात करातेका मन्डेकाजी श्रेष्ठले गरेका थिए । १०औँ सागमा छनोट भएर पनि खेल्न नपाएको पीडा उनले यसपटक भुलाए । करिअरको उत्तराद्र्ध समयमा श्रेष्ठले सुरुमा एकल कातामा पहिलो स्वर्ण जिते । त्यसपछि टिम इभेन्ट्समा दोस्रो स्वर्ण जिते । करातेमा एकै संस्करणमा दुई स्वर्ण जित्ने उनी एक मात्रै खेलाडी हुन् । त्यस्तै, करातेमा दुई साग स्वर्ण जित्ने दुई खेलाडीमध्ये मन्डेकाजी एक हुन् । यसअघि दीपक श्रेष्ठले आठौँ र नवौँ सागमा लगातार स्वर्ण जितेका थिए । 

ब्याक टु ब्याक स्वर्ण

निमा घर्तीमगर, उसु 


साग इतिहासमा ब्याट टु ब्याक स्वर्ण जित्ने धेरै नेपाली खेलाडी छैनन् । १२औँ संस्करणसम्मको इतिहास केलाउँदा एथलेटिक्सका वैकुण्ठ मानन्धर, तेक्वान्दोका दीपक विष्ट, करातेका दीपक श्रेष्ठ र तेक्वान्दोकै संगीना वैद्यले मात्र नेपाललाई ब्याक टु ब्याक स्वर्ण दिलाएका थिए । अब यस सूचीमा उसुकी निमा घर्तीमगरको नाम थपिएको छ । निमाले नानछ्वानमा सर्वाधिक १८.९१ स्कोरका साथ नेपाललाई स्वर्ण दिलाइन् । उनले १२औँ सागमा पनि यही इभेन्ट्समा स्वर्ण जितेकी थिइन् । 

इभेन्ट्सकै पहिलो स्वर्ण

सागमा केही यस्ता खेल छन्, जुन खेल निरन्तर सहभागी भइरहेका छन् । अघिल्लो संस्करणसम्म ती खेलमा एकल वा महिलातर्फ खेलाडीले स्वर्ण नै जित्न सकेनन् । यसपटक भने उनै खेलमा कीर्तिमानी प्रदर्शनका साथ पदक आइरहेको छ । 

मिनु गुरुङ, बक्सिङ
नेपालले दुई दशकपछि बक्सिङ इभेन्टमा स्वर्ण हात पा¥यो । मिनु गुरुङ महिला बक्सिङमा पहिलो स्वर्ण जित्ने नेपाली बनिन् । उनले ५४ केजीमा प्रतिस्पर्धा गरेकी थिइन् । सन् १९९९ पछि नेपाली खेलाडीले बक्सिङमा हासिल गरेको यो पहिलो पदक हो । मिनुले कीर्तिमान रचेको एक घन्टापछि नै पुरुषतर्फ पनि नेपालले स्वर्ण जित्यो । भूपेन्द्र थापामगरले ६४ केजी तौलसमूहमा स्वर्ण जिते ।

सञ्जु चौधरी (भारोत्तोलन)
भारत्तोलनको पुरुषतर्फ १३ वर्षअघि नै कमलबहादुर अधिकारीले स्वर्ण दिलाइसकेका थिए । तर, पहिलो सागदेखि लगातार समावेश भएको भारोत्तोलनमा महिला खेलाडीले स्वर्णपदक चुमेको इतिहास थिएन । यसपटक सञ्जु चौधरीले महिलातर्फ पहिलो स्वर्ण जित्ने इतिहास बनाइन् । उनले पोखरामा ऐतिहासिक प्रदर्शन गर्ने क्रममा ५९ केजी प्लस तौलमा समग्रमा १७१ केजी भार वहन गरेकी थिइन् ।

अञ्जलीको विश्व कीर्तिमान


सागमा नेपाली खेलाडीले स्वर्णपदकको मात्रै कीर्तिमान बनाएनन् । महिला क्रिकेटमा नेपालकी अञ्जली चन्दले माल्दिभ्सविरुद्धको खेलमा विश्व रेकर्ड नै राख्न भ्याइन् । उनले २.१ ओभरमा एक रन पनि नदिई ६ ब्याट्सम्यानलाई आउट गरिन् । अञ्जलीले सनसनीपूर्ण प्रदर्शन गर्दा नेपालले १० विकेटले जित निकाल्यो । 

फुटबलमा स्वर्ण रक्षा
पुरुष फुटबलमा पनि नेपालले ब्याक टु ब्याक स्वर्ण जित्यो । नेपालले भुटानलाई २–१ ले हराएर १३औँ सागमा स्वर्ण जितेको हो । यसअघि १२औँ सागमा पनि नेपालले पुरुष फुटबलतर्फ स्वर्ण जितेको थियो । समग्रमा नेपालको यो चौथो स्वर्ण हो । पहिलो र छैटौँ साफमा पनि नेपालले पुरुष फुटबलमा स्वर्ण जितेको थियो । 

सुवास तामाङ (गल्फ)
प्रोफेसनल गल्फरका ब्याग बोक्ने क्याडी ब्वाई सुवास तामाङले गज्जबको खेल खेले । सागमा डेब्यु गरेको संस्करणमा उनले एक होइन, दुई स्वर्ण जिते । गल्फमा उनीभन्दा सिनियर खेलाडीले पनि एकल स्पर्धामा प्रतिस्पर्धा नगरेका होइनन् । तर, इतिहास सुवासले रचे । १७ वर्षीया सुवासले एकल स्पर्धामा तीन अन्डर ६९ स्कोर गरी पहिलो स्वर्णपदक कुम्ल्याए । त्यसपछि टिम इभेन्टमा शुक्रबहादुर राई, टंक कार्की र नीरज तामाङसँग मिली अर्को स्वर्ण चुमे । 

तीन खेलमा पहिलो पदक

राजेश मगर र निश्मा श्रेष्ठ (साइक्लिङ)
सन् २०१० को ढाकामा सम्पन्न १०औँ सागदेखि नै साइक्लिङ खेल समावेश भइसकेको थियो । नेपालका साइक्लिस्टहरूले लगातार दुई संस्करणमा भाग लिए । तर, उनीहरूले स्वर्ण भने जित्न सकेनन् । यसपटक काठमाडौंमै भएको सागमा घरेलु खेलाडीले खडेरी तोडे । पुरुषतर्फको डाउनहिलमा राजेश मगर र महिलामा निश्मा श्रेष्ठले यस विधामा नेपाललाई पहिलोपटक स्वर्ण दिलाउन सफल भए । राजेशले एक किमिको दूरी एक मिनेट, ४९ सेकेन्डमा पूरा गरेका थिए । निश्माले दुई मिनेट २२ सेकेन्डमा स्वर्ण चुमिन् । डाउन हिलका नेपाल च्याम्पियनले सागमा खेल्न नसक्ने भनेपछि नेपाल साइक्लिङ संघले चारपटकका पूर्वविजेता राजेशलाई १३औँ सागमा अवसर दिएको हो । 

ट्रायथलन
यसपटक समावेश भएको ट्रायथलनमा नेपालले आफ्नो प्रभुत्व जमायो । आयोजक नेपालले समावेश गरेको यस इभेन्टमा महिला खेलाडी सोनी गुरुङले पहिलो स्वर्ण जितिन् । त्यस्तै, दुबाथलोनको पुरुषतर्फ हिमाल टमाटाले स्वर्ण जिते । 

कुस्ती
तराईको लोकप्रिय र मौलिक खेल हो कुस्ती । यस खेलमा भारतको दबदबा छ । जनकपुरमा कुस्ती खेल आयोजना हुँदा भारतले नै सबै इभेन्टमा स्वर्ण बाजी मार्ने लगभग पक्का नै थियो । तर, महिलातर्फको ५५ केजी तौल समूहमा नेपाली कुस्तीबाज संगीताले स्वर्ण जित्दै नयाँ इतिहास रचिन्् । १९ वर्षीया धामीले फाइनलमा बंगलादेशकी सर्केररिमलाई हराउँदै कुस्ती खेलको इतिहासमै नेपाललाई पहिलो स्वर्ण दिलाएकी हुन् । 

रेकर्ड नै रेकर्ड एथलेटिक्समा


सन्तोषी श्रेष्ठ (एथलेटिक्स)

सागमा एथलेटिक्समा वैकुन्ठ मानन्धर र राजेन्द्र भण्डारीका मात्र स्वर्ण रेकर्ड थिए । अब उनीहरूसँगै महिला धाविकाको नाम पनि जोडिएको छ । एथलेटिक्समा महिला खेलाडीकी रूपमा सन्तोषी श्रेष्ठले पहिलोपटक स्वर्ण चुमेकी छिन् । उनले १० हजार मिटर दौड ३५ मिनेट ७.९४ सेकेन्डमा पूरा गर्दै ऐतिहासिक सफलता चुमेकी हुन् । भारतीय खेलाडीको दबदबा रहेको इभेन्टमा खेलाडी कविता यादव ३५ मिनेट ७.९५ सेकेन्डले दोस्रो भएकी थिइन् । केवल मिलि सेकेन्डले फिनिसिङ लाइन पार गर्दा सन्तोषीले नयाँ रेकर्ड बनाउन सफल भइन् । यसपटक किरणसिंह बोगटीले म्याराथन र गोपीचन्द्र पार्कीले ५ हजार मिटरमा नेपाललाई थप स्वर्ण दिलाए । एथलेटिक्समा नेपालले एकै संस्करणमा तीन स्वर्ण जितेको यो पहिलो अवसर हो । ५ हजार मिटरमा नेपालले स्वर्ण जितेको पनि यो पहिलो अवसर हो, यसअघि २००६ मा राजेन्द्र भण्डारीले यस इभेन्ट्समा स्वर्ण जिते पनि उनी डोपिङमा असफल भएपछि पदक खोसिएको थियो ।