मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ मङ्सिर २५ बुधबार ०७:४०:००
Read Time : > 1 मिनेट
खेलकुद

पाकिस्तानमा भेट्ने वाचासँगै सकियो १३औँ साग

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २५ बुधबार ०७:४०:००

पाकिस्तानमा पुनः भेट्ने वाचासँगै १३औँ दक्षिण एसियाली खेलकुद साग सम्पन्न भएको छ । तेस्रोपटक आयोजक राष्ट्रका रूपमा नेपालले पदक तालिकामा दोस्रो स्थान रक्षा गर्‍यो । साग इतिहासमा नेपाल दोस्रोपटक दोस्रो भएको हो । सन् १९९९ को आठाैं साफमा नेपाल ३१ स्वर्णका साथ पहिलोपटक दोस्रो स्थानमा रहेको थियो । पदकका आधारमा अहिलेसम्मकै सफल मानिएको १३औँ सागमा नेपालले ५१ स्वर्ण पदक जित्यो । पुरुष फुटबल टोलीले अन्तिम स्वर्ण हात पार्‍यो । करातेका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्णको खाता खोलेका थिए । ५०औँ स्वर्ण बक्सिङका सनिल शाहीले ६० केजीमा जिते । अन्तिम तथा ५१औँ स्वर्ण भने नेपाली फुटबल टिमले भुटानलाई हराएर जित्न सफल भयो । नेपालले साग इतिहासमा स्वर्ण संख्या सय कटायो । २० वर्षपछि पुनः घरेलु भूमिमा नेपालले आफ्नो बिरासत फर्काउन सफल रह्यो । 

व्यवस्थापन कमजोर
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले बारम्बार १३औँ सागमा कुनै त्रुटि नहुने दाबी गरेका थिए । उनले सागको व्यवस्थापन अहिलेसम्मकै उत्कृष्ट हुने बताएका थिए । तर, सदस्यसचिव सिलवालले भनेझैँ सागको व्यवस्थापन चुस्त भने रहेन । विशेष गरेर खेलस्थलमा खेलाडी र रिपोर्टिङमा असहज देखिएको थियो । अधिकांश खेलस्थलको मिडिया बक्समा पत्रकारभन्दा सम्बन्धित खेलका पास भएका व्यक्ति नै भरिभराउ हुन्थे । खेलतर्फ सुटिङ खेलाडीका लागि यो संस्करण नमीठो बन्यो । विदेशीसँग हतियार मागेर प्रतिस्पर्धा गर्न बाध्य भएका सुटिङका खेलाडीले फाइनल चरणको स्थान नै बनाउन सकेनन् । भारोत्तोलनमा खेलाडीको जुत्ता समयमै नपुग्दा उनीहरूले पुरानै जुत्ताको भरमा प्रतिस्पर्धा गर्नुप¥यो । यसैगरी, ट्रायथलनको पोसाक समयमै उपलब्ध नहुँदा खेलाडीले पुरानै लुगा लगाए ।

उपप्रधानमन्त्रीले समापन गर्न बिर्सिएपछि
१३औँ सागको समापनमा उपप्रधानमन्त्री ईश्वर पोखरेल विशिष्ट अतिथिका रूपमा थिए । उपप्रधानमन्त्री पोखरेलले नै १३औँ सागको समापन गर्ने कार्यक्रम आयोजकले तय गरेको थियो । उनले समापन भाषण गर्नुअघि परिषद्का सदस्यसचिव सिलवाल र खेलकुदमन्त्री जगत विश्वकर्माले लामो सम्बोधन गरिसकेका थिए । त्यसपछि समापनका लागि स्टेजमा पुगेका उपप्रधानमन्त्री पोखरेलले कागजको पन्ना निकालेर भाषण सुरु गरे । पोखरेललाई सुरुमा दर्शकहरूले साथ नै दिए । तर, भाषण लम्बिँदै गएपछि दर्शकले चर्को हुटिङ गरे । दर्शकको हुटिङ र समापन भाषण केही समय चलिरह्यो । तर, उपप्रधानमन्त्री पोखरेल सबैलाई धन्यवाद दिँदै भाषण समापन गरी फर्किए । साग समापनको घोषणा गर्न बिर्सिएका उपप्रधानमन्त्रीलाई आयोजकले पुनः मञ्चमा फर्काएर साग समापन भएको घोषणा गर्न लगाए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो सम्बोधन भए पनि उनको आवाज सुनिएको थिएन ।