मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर २४ मंगलबार ०९:०९:००
Read Time : > 2 मिनेट
प्रदेश

सुदूरपश्चिममा बढ्दै भ्रष्टाचार

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर २४ मंगलबार ०९:०९:००

साढे ६ वर्षको अवधिमा पाँच हजारभन्दा बढी उजुरी

सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचार बढ्दै गएको एक तथ्यांकले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार भ्रष्टाचार बढ्दै गएको हो ।

सोमबार भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवस–०७६ को अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता टोपबहादुर विष्टले प्रस्तुत गरेको प्रतिवेदनमा बढ्दो उजुरी दर्ता हुने कार्य वृद्धि भइरहेको उल्लेख गरिएको छ ।

साढे ६ वर्षको अवधिमा पाँच हजारभन्दा बढी उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष ०७०/७१ देखि चालू आर्थिक वर्ष ०७६/७७ को कात्तिक मसान्तसम्ममा भ्रष्टाचारसम्बन्धी पाँच हजार, एक सय एक उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएका छन् । 

‘दिनदिनै उजुरी बढ्दै भएका छन्,‘ प्रवक्ता विष्टले भने, ‘यसर्थ भ्रष्टाचार बढ्दै गएको बुझिन्छ ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले साढे ६ वर्षको अवधिमा १७ स्टेरिङ अप्रेसनबापत ३४ कर्मचारी पक्राउ परे पनि यस क्षेत्रका कर्मचारी अख्तियार आए  पनि रतिभर नडराएको अख्तियारको भनाइ छ ।

यस अवधिमा अख्तियारले एक करोड २९ लाख, ५५ हजार नौ सय ६ रुपैयाँ असुल गरेको छ । अख्तियारको तथ्यांकले भ्रष्टाचार नरोकिएको पुष्टि हुन्छ । ‘०७० सालअघि कञ्चनपुरका अख्तियारको कार्यालय थिएन, त्यतिवेला भ्रष्टाचारको अवस्था कस्तो थियो  होला,’ नागरिक अगुवा प्रभुनिधि पन्तले भने, ‘भ्रष्टाचार रोक्नका लागि सोचमा परिर्वतन हुनुपर्छ ।’ पहिले पनि भ्रष्टाचार हुन्थ्यो, अहिले पनि भइरहेको छ, पहिले नदेखिने, अहिले अख्तियारको सक्रियता र नागरिकको चासोका कारण भ्रष्टाचारका मुद्दा बाहिरिएको उनको भनाइ छ ।

अख्तियार कञ्चनपुर स्थापना भएको वर्ष ०७०/७१ मा सात सय ४९ उजुरी दर्ता भएका थिए । त्यसको अर्को वर्ष दोब्बर उजुरी दर्ता भए । आर्थिक वर्ष ०७१/७२ मा एक हजार एक सय २६, आर्थिक वर्ष ०७२/७३ मा घटेर ९ सय ५८, आर्थिक वर्ष ०७३/७४ मा ६ सय ४४, आर्थिक वर्ष ०७४/७५ मा पाँच सय ८८, आर्थिक वर्ष ०७५/७६ मा सात सय ३४ र चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा चार सय दुई उजुरी दर्ता भएका छन् । जिम्मेवारी सार्दै आएका आठ सय २२ उजुरी परेका छन् । 

चार हजार उजुरी फस्र्योट
कुल उजुरीमध्ये चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा चार हजार तीन सय ७९ उजुरी फस्र्योट भएका छन् । आठ सय २२ उजुरी अनुसन्धानकै क्रममा छन् । हालसम्म दुई सय ३५ मुद्दाको विस्तृत अनुसन्धान तोकिएको छ । आर्थिक वर्ष ०७४/७५ देखि स्थानीय तहसहितका विभिन्न सरकारी, सामुदायिक विद्यालय एवं संस्थामा भ्रष्टाचार बढेको भन्दै अख्तियारमा उजुरी बढ्दै गएका छन् । 

प्रवक्ता विष्टले उजुरीको प्रकृति, तथ्य र प्रमाणका आधारमा प्रारम्भिक अनुसन्धान गरेर तामेलिमा राखिएको बताए । ‘प्रारम्भिक अनुसन्धानबाट गम्भीर प्रकृतिका उजुरीको हकमा विस्तृत अनुन्धान गरी मुद्दा दायर गछौँ,’ प्रवक्ता विष्टले भने, ‘केही सुझाब वा निर्देशन भए अन्य कारबाहीका लागि उजुरी फस्र्योट गछौँ ।’

घुस दिनेलाई पनि कारबाही गर्नुपर्छ : भट्ट                                                                                                                          सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रष्टाचारमुक्त प्रदेश बनाउन घुस दिनेसँगै लिनेलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । उनले भ्रष्टाचारमुक्त सुदूरपश्चिम प्रदेश निर्माणका लागि सबै एकजुट हुनुपर्ने बताए । 

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रणका लागि घुस लिनेसँगै दिने पक्षलाई पनि कारबाही गर्नुपर्ने धारणा राखेका हुन् ।  भ्रष्टाचाररहित स्वच्छ समाज निर्माणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा उनको आग्रह थियो ।