१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर २४ मंगलबार ०६:१७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

जापानले बनाइदिएको सय बेडको भवनका लागि १५ करोडका उपकरण किन्न वीरलाई सरकारको अनुमति

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २४ मंगलबार ०६:१७:००

नयाँ पत्रिका फलोअप

मन्त्रालयले भन्यो– बजेटमै निकासा भएको १५ करोड नयाँ भवनमा मिर्गौला र ग्यास्ट्रो सेवा विस्तारमा खर्च गर्नू, थप आवश्यक रकम निकासा हुनेछ

जापानले बनाइदिएको सय बेडको भवनका लागि १५ करोडका उपकरण किन्न वीर अस्पताललाई सरकारले अनुमति दिएको छ । बजेटमै निकासा भएको १५ करोड नयाँ भवनमा खर्च गर्न र मिर्गौला तथा ग्यास्ट्रो सेवा तत्काल सुरु गर्न निर्देशन दिँदै मन्त्रालयले थप रकम निकासा दिने आश्वासन पनि दिएको छ । जापानी सहयोग नियोग (जाइका)ले बनाइदिएको भवन अलपत्र परेपछि नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेलगत्तै मन्त्रालयले पहलकदमी लिएको हो ।

मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले अत्याधुनिक नयाँ भवनमा गुणस्तरीय सेवा सञ्चालन गर्न १५ करोड खर्च गर्न अनुमति दिइएको बताए । उनका अनुसार यो रकमले तत्कालै उपकरण किनेर नयाँ भवनबाट मिर्गौला र ग्यास्ट्रोको सेवा दिनुपर्नेछ । 

पुरानो भवनमा आवश्यक ठाउँकै अभाव भएकाले त्यहाँ सेवा थप्न समस्या हुने भन्दै नयाँ भवनमा विस्तार गर्न भनिएको मन्त्रालयले जनाएको छ । पुरानो भवनमा डायलाइसिसका २४ मध्ये १२ मेसिन पनि सञ्चालनमा छैनन् । वीरमा भिड लाग्ने बिरामी सेवा नपाउँदा निजी अस्पतालमा महँगो शुल्क तिरेर डायलाइसिस गर्न बाध्य छन् । 

अस्पतालले नयाँ भवन सञ्चालन गर्न एकैपटक ५२ करोड मागेको थियो । तर, मन्त्रालयले तत्काल सबै रकम दिन नसक्ने जनाएको छ । १५ करोडले मिर्गौला र ग्यास्ट्रोको सेवा सुरु गरेपछि मुटुको सेवा र आइसियू सञ्चालनका लागि भने आवश्यक कार्ययोजनाअनुसार बजेट व्यवस्थापन गर्दै जाने मन्त्रालयले जनाएको छ । 

‘जाइकासँग भएको सम्झौताअनुसार नयाँ भवनका लागि उपकरण किन्ने हामीले नै हो । तर, अस्पतालले एकैपटक ५२ करोड मागेको छ, हामी त्यो दिन सक्ने अवस्थामा छैनौँ,’ देवकोटाले भने, ‘के–के खरिद गर्ने हो विस्तृत योजना लिएर आए थप रकम दिँदै जाने व्यवस्था गर्छौँ ।’ वीरले पनि एकैपटक ५२ करोडका उपकरण किन्न नसक्ने मन्त्रालयले जनाएको उनले बताए ।

जापानले बनाइदिएको सय बेडको भवन वीरले प्रयोग नगरेको समाचार प्रकाशित भएपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गत शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई मन्त्रालयमै बोलाएर कारण सोधेका थिए । न्याम्सका पदाधिकारीले आर्थिकलगायत समस्याका कारण मेसिन किन्न नसकेको बताएका थिए । छलफलपछि मन्त्रीले आवश्यक सहयोग मन्त्रालयले गर्ने वचन दिँदै भवन सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए । 

देशकै जेठो अस्पताल वीरका लागि जापानी सहयोग नियोग (जाइका)ले ८८ करोड लागतमा ३० बेडको आइसियूसहितको तीनतले भवन बनाएर हस्तान्तरण गरेको पाँच महिना भइसकेको छ । मुटु, मिर्गौला र ग्यास्ट्रोको सेवा उपलब्ध गराउने गरी भवन बनाइएको छ । भवनमा अपांगमैत्री र शौचालयको विशेष सुविधा भएका कक्षहरू छन् । तर, बनेको भवन अलपत्र हुँदा वीर अस्पताल आउने कम्तीमा १० बिरामी हरेक दिन निजी अस्पतालको आइसियूमा रेफर हुने गरेका छन् । भवन सञ्चालनमा नआएपछि जाइकाले ताकेता गर्दै आएको छ । जाइकाले भवन बनाइदिने र नेपाल सरकारले उपकरण किन्ने गरी सम्झौता भएको थियो । तर, सरकारले उपकरण व्यवस्था नगर्दा भवन अलपत्र परेको छ । 

वीरका निर्देशक डा. केदार सेञ्चुरी भन्छन्–चाँडै उपकरण किन्छौँ, नेफ्रो वार्ड मंगलबारबाटै नयाँ भवनमा सुरु गर्छौँ
नयाँ भवनका लागि उपकरण किन्न स्वास्थ्य मन्त्रालयले १५ करोड दिएको छ । खरिद प्रक्रिया अघि बढिसकेकाले अब चाँडै नै उपकरण किन्छौँ । मिर्गौला रोगको उपचार (नेफ्रो वार्ड) भने मंगलबारबाटै नयाँ भवनमा सार्ने तयारी गरेका छौँ ।