मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ मङ्सिर २३ सोमबार १६:४३:००
Read Time : < 1 मिनेट
समाचार

राष्ट्रिय सभा सदस्यको निर्वाचन ९ माघमा गर्न आयोगको प्रस्ताव

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २३ सोमबार १६:४३:००

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन ९ माघमा गर्न सरकारलाई सुझाव दिएको छ । आयोगले सबै राजनीतिक दलहरुसँग छलफल गरेपछि सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय सभा सदस्यको निर्वाचनका सम्बन्धमा परामर्श दिएको हो ।

राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले राष्ट्रिय सभा सदस्यको निर्वाचनकालागि आफूहरु तयार रहेको बताएपछि आयोगले औपचारिक रुपमै सरकारलाई परामर्श दिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि संवैधानिक व्यवस्थाअनुसार १५ माघभित्र नतिजा आइसक्ने गरी निर्वाचनको मिति तोक्न परामर्श दिएको बताए । 

छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले  संविधानको धारा ८६ को उपधारा (४) बमोजिम २० फागुन, ०७६ मा म्याद समाप्त हुने १९ जना राष्ट्रिय सभा सदस्यको निर्वाचन एवम् मनोनयन सम्बन्धी तयारीका विषयमा जानकारी गराएका थिए । राष्ट्रिय सभाका एक तिहाई सदस्यको पदावधि हरेक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्थाबमोजिम अर्थमन्त्री डा. युवराज खतिवडासहित १९ जना सदस्यको पदावधि २० फागुनमा सकिदैछ । रिक्त हुने १८ पदका लागि सबै प्रदेशबाट निर्वाचन हुने र एक जना राष्ट्रपतिले मनोनित गर्ने आयोगले जनाएको छ ।