१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर २३ सोमबार १४:४४:००
Read Time : > 1 मिनेट
समाचार

सामान्य घरको एक महिनाको बिद्युत महशुल १० लाख

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २३ सोमबार १४:४४:००

भरतपुर महानगरपालिका १३ की मेनुका पौडेलको घरमा एक महिनाको विद्युत महशुल १० लाख रुपैयाँ उठेपछि घरधनी अचम्ममा परेका छन् । उनको घरमा बिजुली खपत गर्ने एउटा फ्रिज, ३ पंखा, १ राईस कुकर र १७ वटा थोरै विद्युत खपत गर्ने सिएफएल बत्ति छ । सोही विद्युतबाट कुखुरा फर्म पनि संचालन भएको छ । 

गर्मी महिनामा बढीमा १ हजार र जाडोमा ५ सय रुपैयाँ विजुली शुल्क उठ्ने गरेकोमा यस पटक भने ८० हजार ३८ युनिट अर्थात १० लाख ३९ हजार ६ सय ६९ रुपैयाँ बराबरको बिल आएको हो । 

‘मिटर रिडरले यति धेरै रकम उठेको देखेपछि रसिद नकाटि विद्युत कार्यालयमा सम्पर्क गर्न भन्नुभयो,’ पौडेलले भनिन्, ‘त्यसपछि विद्युत प्रधिकरणकै रोहोबरमा परीक्षण गर्दा सबै ठिक देखिएको छ । घर भित्र नै मिटर छ ।’

महशुल धेरै उठेपछि प्राधिकरणको भरतपुर कार्यालय जाँदा कुखुरा पालेको ठाउँमा १० लाख उठ्नु ठूलो कुरा नभएको जवाफ पाएको उनले बताइन् । ‘एक हजार कुखुरा पाल्दा यत्रो रकम उठ्दैन,’ उनले भनिन, ‘यति नै उठ्ने भए पनि अरु महिना पनि उठ्नुपर्ने हो ।’

मिटर परीक्षणका लागि डिभिजन कार्यालय हेटौंडा पठाउने तयारी  

बढी महशुल उठेको देखिएपछि नेपाल विद्युत प्राधिकरण भरतपुर शाखाले मिटरलाई डिभिजन कार्यालय हेटौंडामा पठाउने भएको छ । वास्तविक समस्या पत्ता लगाउन थप अनुसन्धानका लागि हेटौंडा पठाउन लागेको प्रधिकरणका भरतपुर शाखा प्रमुख सुरेश कुमार महताेले बताए ।

‘यो विषय गम्भीर छ, कर्मचारीको गल्ति हो की भन्ने विषयमा मिटर चेक गर्नेसँग पनि हामी कुरा गर्छौ,’ उनले भने, ‘अहिलेसम्म यति धेरै रकम सामान्य घरमा उठेको मैले पनि भेटेको छैन । अनुसन्धानले जे भन्छ अब त्यही हुन्छ ।’