Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ मङ्सिर २३ सोमबार ०९:४६:००
Read Time : > 1 मिनेट
प्रदेश

सात माग राखेर प्रमुख अतिथिलाई सात किलोको माला

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २३ सोमबार ०९:४६:००

सात माग राखेर सुदूरपश्चिम महोत्सवका प्रमुख अतिथिलाई सात किलोको माला लगाइएको छ । आइतबारबाट धनगढीमा महोत्सव उद्घाटन समारोहमा पूर्वउपप्रधानमन्त्री भीम रावललाई सात किलोको माला लगाइएको हो । 

सुदूरपश्चिमको कृषि, उद्योग, व्यापार, व्यवसायको प्रर्वद्धन तथा पर्यटन, ऊर्जालगायत सम्भावना उजागर गर्ने उद्देश्यले कैलाली उद्योग वाणिज्य संघले १३ वर्षदेखि महोत्सव आयोजना गर्दै आएको छ । ०६३ मा प्रमुख अतिथिलाई २१ किलोको माला लगाइएको थियो ।

‘सुरुआतमा २१ बुँदे माग राखेर २१ किलोको माला लगाएका थियौँ, अहिले त्यसमध्ये सातवटा माग पूरा हुन बाँकी छन् । त्यसैले सात किलोको माला लगाएका हौँ,’ आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले भने । 

सुदूरपश्चिममा प्रदर्शनीस्थलको निर्माण गर्नुपर्ने, सेती प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रूपमा स्तरोन्नति गर्नुपर्ने, सुदूरपश्चिममा विशेष आर्थिक क्षेत्र घोषणा गरेर काम अगाडि बढाउनुपर्ने माग गरिएको छ ।

त्यस्तै, धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गरी क्षेत्रीय उडान सुरु गर्नुपर्ने, औद्योगिक विकासमा पछाडि रहेको सुदूरपश्चिममा उद्योग सञ्चालन गर्दा १० वर्षसम्म कर छुटको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

प्रमुख अतिथिलाई दिएको मागपत्रमा प्रदेश पर्यटन बोर्डको स्थापना गर्नुपर्ने तथा धनगढीसँग जोडिएको नेपाल–भारतको त्रिनगर–गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा स्तरोन्नति गरी यो नाकालाई चीनसँग जोड्नुपर्ने माग गरिएको संघका अध्यक्ष कुँवरले बताए ।

संविधान जारी भएपछि पनि उद्योगी, व्यवसायीले सरकारबाट अपेक्षाकृत साथ पाउन नसकेको उनको भनाइ छ । राज्यले सहुलियतसँगै निर्धक्कसँग व्यापार, व्यवसाय गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने उनले बताए । 

संघले ०६३ मा पहिलोपटक महोत्सव आयोजना गर्दा २१ बुँदे माग अघि सारेको थियो । अहिलेसम्म थोरै मात्रै माग सरकारले पूरा गरेको संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए । महोत्सवमार्फत् सुदूरपश्चिमका विकासका मुद्दामा सरकारको ध्यानाकर्षण गराउनुका साथै यहाँका सम्भावना उजागरको प्रयास हुँदै आएको उनको भनाइ छ । 

कृषि उत्पादन, जडीबुटी, हस्तकलाका सामान, गार्मेन्ट, अटोमोबाइल, इलेक्ट्रोनिक, होटेललगायत तीन सयवटा स्टल राखिएको वरिष्ठ उपाध्यक्ष ओझाले बताए । करिब तीन लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको छ ।

खानाका स्थानीय परिकार, रमाइलो मेला, बालउद्यान तथा सांस्कृतिक कार्यक्रमहरू मेलाको आकर्षणका रूपमा रहेका आयोजकले जनाएको छ । संघीय प्रहरी कार्यालयको मैदानमा १० दिनसम्म सञ्चालन हुने महोत्सवमा १० करोडको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।