मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रेम रिमाल काठमाडाैं
२०७६ मङ्सिर २३ सोमबार ०९:३०:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

निजीजस्तै महँगो सरकारी अस्पताल

Read Time : > 3 मिनेट
प्रेम रिमाल काठमाडाैं
२०७६ मङ्सिर २३ सोमबार ०९:३०:००

चिकित्सक र कर्मचारीको तलब र सञ्चालन खर्च सरकारले व्यहोर्ने भए पनि भरतपुर क्यान्सर अस्पताल निजी अस्पताल वा त्योभन्दा बढी महँगो छ 

प्रेम रिमाल

चीन सरकारले नेपाली जनताको स्वास्थ्य सेवामा सहयोग पुगोस् भन्ने उद्देश्यले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापनामा सहयोग गरिदिएको हो । नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता बिपी कोइरालाको नामबाट स्थापित यो अस्पताल नाफा कमाउने उद्देश्यले स्थापित मेडिकल कलेज र अस्पतालभन्दा कम महँगो भने छैन । के यो समृद्ध नेपाल सुखी नेपालीको सरकारी नारासँग मेल खाने विषय हो ?

यो अस्पतालमा अध्यक्ष नभएको धेरै नै भयो । निवर्तमान अध्यक्ष प्रजातन्त्रवादी नै थिए । अहिले पनि निर्देशक र यो अस्पतालका हर्ताकर्ता आफूलाई प्रजातन्त्रवादी भन्नेहरू नै छन् । यो अस्पतालमा वामपन्थी भनिने, तर सत्ता र शक्ति जता छ उतै लर्किने र हसुर्नेहरूको पनि राम्रै उपस्थिति छ । निजी मेडिकल कलेज र अस्पताल सम्पूर्ण रूपले निजी लगानीका हुन्छन् । सरकारी अस्पतालले जग्गा र भवन मात्र सरकारबाट पाएका होइनन्, संघीय, प्रदेश र स्थानीय सरकारबाट आर्थिक र भौतिक सहयोग पनि यिनीहरूलाई प्राप्त हुन्छ । तर, विडम्बना गरिब बिरामीले पाउनुपर्ने सेवा र सुविधाका लागि मनोमानी किसिमले शुल्क तय गरिएको हुन्छ ।

के सरकारले यो विषयमा केही विचार गर्नुपर्दैन ? सत्तापक्ष र प्रतिपक्षी दुवै दलका नेता–कार्यकर्ताको पालन–पोषणमा पनि यो अस्पतालले ठूलै रकम खर्च गरेको हुँदो रहेछ । दलका प्रभावशाली नेतालाई गाडी र तेल दिने, होटेलमा खाने/बस्ने खर्च पनि दिने अनि त्यसको बोझ टाउकाको सिटी स्क्यान गर्न स्वयंवरको औँठी बेचेर आउने सर्वसाधारणले गर्नुपर्ने ? के यो चितवन जिल्लाका राजनीतिक दलका नेता, जनप्रतिनिधि र सरकारी प्रशासनले हेर्नुपर्दैन ? जताततै सत्तापक्ष र प्रतिपक्ष देखिन्छ, तर क्यान्सर अस्पतालको विषयमा किन देखिँदैन ? पार्टीका झन्डा यहाँका खान पल्केकालाई जोगाउने ढाल मात्र हो ।

यो अस्पतालमा मेचीदेखि महाकालीसम्मका विशेषगरी विदेश जाने हैसियत नभएका बिरामीको उपचारमा विशेष ध्यान दिनुपर्छ भन्ने सोचेर काम गर्ने थोरै चिकित्सक र कर्मचारी छन् । अधिकांशमा मिलेर खाऊँ भन्ने भावना छ । त्यसैले यो अस्पतालका विषयमा पनि सुन काण्ड र वाइडबडी काण्डमा जस्तै ठूला दलका ठूला नेताबीच एकता छ । यो अस्पताललाई विगतमा नै प्रतिष्ठान बनाउनेबारेमा छलफल भएको थियो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र बाबुराम भट्टराई अर्थमन्त्री भएको समयमा यो पंक्तिकारकै अध्यक्षतामा बैठक बसी अस्पताललाई पाँच सय शय्याको अस्पतालसहितको प्रतिष्ठान बनाउने भनी सिफारिस भएको हो । अंकोलोजी (क्यान्सर अध्ययन)को विशेषज्ञ चिकित्सक उत्पादन गर्ने केन्द्र बनाउने गरी यसको स्तरोन्नति गर्ने र यसका लागि चीन सरकारसँग सहयोग माग गर्ने भनी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालकै कार्यालयमा क्यान्सर अस्पताल सञ्चालक समितिका अधिकांश सदस्यको उपस्थितिमा मैले नै उनको हातमा फाइल हस्तान्तरण गरेको हुँ । हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल त्यतिवेला प्रधानमन्त्री कार्यालयका सचिव थिए । दाहालले सो फाइलका बारेमा चीन जानेवेलामा सम्झाउन भनेका थिए । यो काममा सहयोग गर्ने सञ्चालक समितिका साथीहरूलाई धन्यवाद दिन चाहन्छु । त्यसपछि पनि प्रचण्ड प्रधानमन्त्री बने, लीलामणि पौडेल अहिले चीनका लागि राजदूत छन्, तर हाम्रो क्यान्सर अस्पतालको क्यान्सरको आज पनि उपचार हुन सकेको छैन ।

नेता बिरामी हुँदा त विदेश लान मिल्छ, के यो बिरामी अस्पताललाई उपचार गर्नेबारे बिपीको नाम लिएर नथाक्ने कांग्रेस र सर्वहाराको नारा दिएर नथाक्ने कम्युनिस्टले सोच्नुपर्दैन ? यो अस्पताल केही मानिसका लागि लैनो भैँसी बनेको छ । भरतपुर महानगरपालिका प्रमुख यो अस्पतालको पदेन सञ्चालक समितिको सदस्य हुन्छन् । सायद उनकै अध्यक्षतामा बैठक बस्छ होला । एउटा पत्रिकामा पढेँ–क्यान्सर अस्पताल अध्यक्ष नभए पनि राम्ररी चलेको छ । यस्तो भनाइको आशय के हो ? के अब अध्यक्ष नचाहिने हो ? यस्ता कुरा मिडियामा लैजाने भनेका क्यान्सर अस्पताललाई दुहेर खान पल्केकाहरू हुन्  । नगर प्रमुखले यति विचार गर्नुपर्ला । पंक्तिकार सञ्चालक समितिमा बसेर पूरा कार्यकाल बिताएको व्यक्ति हो । तर, त्यही अस्पतालमा भएका अनियमितताका विषयमा मेयरजीको पार्टीले नै समिति बनाउँदा मसँग त्यो अस्पतालमा अनियमितता हुने सम्भावित ठाउँका बारेमा छलफल गरिएन ।   

नेता बिरामी हुँदा त विदेश लान मिल्छ, के बिरामी परेको भरतपुरको क्यान्सर अस्पताललाई उपचार गर्नेबारे बिपीको नाम लिएर नथाक्ने कांग्रेस र सर्वहाराको नारा दिएर नथाक्ने कम्युनिस्टले सोच्नुपर्दैन ?

के स्वायत्त संस्था भनेपछि मनपर्दी गर्न पाइने हो ? भूतपूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालमार्फत यो विषय नेपाल सरकार मन्त्रिपरिषद्मा जाओस् भन्ने मेरो माग छ । साथै, तत्काल बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललगायत सरकारी अस्पतालमा मनपर्दी ढंगले उठाउने गरिएका सबैखाले सेवा शुल्क घटाउने र क्रमशः हटाउने दिशामा निर्णय गरियोस् भन्ने माग पनि गर्न चाहन्छु । म आफैँले पनि त्यो अस्पतालको सञ्चालक समितिको सदस्य भएर एक कार्यकाल पूरा गरिसकेको छु । म त्यो अस्पतालको सञ्चालक समितिमा हुँदा, दुई वर्षजति अध्यक्ष कोही थिएन । मेरै अध्यक्षतामा बैठक हुन्थ्यो । त्यसवेला सेवा शुल्क बढाउन दिइएको थिएन । बरु कार्यकाल सुुरु हुनेबित्तिकै स्वीकृत भएको करोडौँको टेन्डरसमेत अस्पतालको हितमा नभएको देखेर खारेज गरी ई–टेन्डर गरिएको थियो । साझाले सित्तैमा जस्तो चलाइरहेको फार्मेसीलाई व्यवस्थित गरी अस्पतालको गुमिरहेको लाखौँ रुपैयाँ जोगाउने काम गरिएको थियो । काठमाडौंका महँगा होटेलमा बैठक बस्ने र लाखौँ रुपैयाँ स्वाहा पार्ने परिपाटीको अन्त्यका लागि त्यहाँ राखिएको अस्पतालको कार्यालयलाई भरतपुरमा रहेको अस्पतालकै परिसरमा ल्याउने काम पनि त्यतिवेला नै भएको थियो ।
टेलिफोन, बिजुली र तेलमा भएको लाखौँको लापरबाही नियन्त्रण गर्ने काम पनि भएको थियो । मुलुकका विशिष्ट व्यक्तिले अस्पताल भ्रमण गर्दा महँगा होटेलमा खुवाउने परम्परालाई निरुत्साहित गरिएको थियो । डा. बाबुराम भट्टराई, गिरिरामणि पोखरेल, वर्षमान पुन आदिजस्ता बहालवाला मन्त्री र उच्च तहका नेतालाई बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै क्यान्टिनमा खाना खुवाइएको थियो । त्यतिवेला डा. भट्टराईले सो कार्यको प्रशंसासमेत गरेका थिए । यी कार्य देख्दा सामान्यजस्ता लाग्छन्, तर यिनले दिन खोजेको सन्देश सानो थिएन । तर फेरि उक्त संस्था केही शक्तिशाली मान्छे र तिनको जयजयकार गर्नेहरूको कमाइ खाने भाँडो बनेको छ । डाक्टरहरू बिरामी जाँच्न छाडेर अस्पतालको अध्यक्ष बन्ने दौडमा सत्ताधारी पार्टीका ठूला नेता, तिनका घरपरिवार र उनीहरूका भजनमण्डलीका नाइकेसँग चितवन–काठमाडौं गरिरहेका छन् । यसबारे पनि सबै सचेत जनसमुदायले चिन्तन–मनन गर्न आवश्यक छ । 

सरकारी अस्पतालमा अतिरिक्त समय काम गर्ने चिकित्सक र कर्मचारीलाई सेवासुविधा दिने नाममा बिरामीलाई रेडियमको साटो पैसाले सेक्ने काम तत्काल बन्द गरियोस् । अन्यथा यो कानुन मिलाएर गरिएको भ्रष्टाचारको विरुद्धमा बलियो  आवाज उठ्नेछ । उक्त अस्पतालमा दिइने केही सेवा–सुविधाको तुलना अन्य अस्पतालसँग तुलना गर्ने हो भने यसले बिरामीलाई पारेको समस्या स्पष्ट हुन्छ (हेर्नुहोस् तालिका)। 

लेखक बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनका पूर्वसञ्चालक समिति सदस्य हुन् ।