मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर २३ सोमबार ०८:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति साताभित्रै : आयोग

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २३ सोमबार ०८:५५:००

राष्ट्रिय सभाका १९ सांसदको पदावधि सकिँदै

उपनिर्वाचन सम्पन्न भएलगत्तै निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि तयारी थालेको छ । राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि आगामी २० फागुनमा सकिँदै छ । रिक्त हुने पदमा निर्वाचन गर्न आयोगलाई पत्र प्राप्त भइसकेको र निर्वाचनको तयारी थालेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । पदावधि सकिने १९ मध्ये १८ जनाका लागि सबै प्रदेशमा निर्वाचन हुनेछ भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनीत हुनेछन् ।

‘संसद् सचिवालयबाट पत्र आइसक्यो, सोमबार राजनीतिक दलसँग छलफल हुन्छ र यही साताभित्र मिति तय हुन्छ,’ प्रवक्ता श्रेष्ठले भने । आयोगले परामर्श दिएपछि सरकारले निर्वाचनको मिति घोषणा गर्नेछ । राष्ट्रिय सभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । आयोगले १५ माघभित्रै निर्वाचन सम्पन्न गर्ने तयारी गरिरहेको आयोगका प्रवक्ता श्रेष्ठले बताए । राष्ट्रिय सभामा एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । यसका लागि गोलाप्रथाबाट अवधि निर्धारण गरिएको थियो । 

क–कसको पदावधि सकिँदै छ ? 
राष्ट्रिय सभाका ५९ सदस्यमध्ये पहिलो दुई वर्षमा १९ जना, चार वर्षमा बाँकी २० जना र अन्य छ वर्षमा बाँकी २० जनाको अवधि सकिने व्यवस्था छ । पहिलो दुई वर्षमा निर्वाचित १८ जना र राष्ट्रपतिबाट मनोनीत अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाको पदावधि सकिँदै छ । दुईवर्षे कार्यकाल पूरा गर्नेमध्ये सत्तारुढ नेकपाका नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजना छन् । 

पदावधि सकिनेमा महिलातर्फ प्रदेश १ बाट सरिता प्रसाईं, प्रदेश २ बाट मुक्ताकुमारी यादव, प्रदेश ३ बाट धनकुमारी खतिवडा, प्रदेश ४ बाट बिन्दादेवी आले (राणा), प्रदेश ५ बाट मीना बुढा, प्रदेश ६ बाट युटोल तामाङ र प्रदेश ७ बाट कमलाकुमारी ओली, दलिततर्फबाट  खेमराज नेपाली र रामप्रित पासवान, अपांगता भएकातर्फ राजकुमार कुँवर र वृषेशचन्द्रलाल, अन्यतर्फ  प्रदेश १ बाट हरिचरण शिवाकोटी, प्रदेश २ बाट रमेशप्रसाद यादव, प्रदेश ३ बाट बलरामप्रसाद बाँस्कोटा, प्रदेश ४ बाट  सुरेन्द्रराज पाण्डे, प्रदेश ५ बाट दुर्गाप्रसाद उपाध्याय, प्रदेश ६ बाट कालीबहादुर मल्ल, प्रदेश ७ बाट बद्रीप्रसाद पाण्डेको पदावधि सकिँदै छ । 

आयोगका अनुसार प्रदेशबाट प्रत्यक्ष रूपमा निर्वाचित १८ जनाका लागि प्रदेशमै निर्वाचन हुनेछ । हरेक प्रदेशबाट एक–एक गरी सातजना महिला र अन्यतर्फ ७ जना, दुई दलित वा अल्पसंख्यक समुदायबाट र दुईजना अपांगता भएकाहरूमध्येबाट निर्वाचित हुनेछन् । राष्ट्रपतिबाट मनोनीत अर्थमन्त्री डा. युवराज खतिवडाको ठाउँमा भने सरकारको सिफारिसमा पुनः राष्ट्रपतिले नै एक सदस्य मनोनीत गर्ने आयोगले जनाएको छ । महिला र खुला सदस्यहरू एकल संक्रमणीय निर्वाचन प्रणालीबाट र दलित र अपांगता भएकाहरूका लागि बहुमतीय प्रणाली अपनाइनेछ ।

१८ सदस्यका लागि हुने निर्वाचन पहिलो हुने प्रणालीबाटै हुनेछ । चुनाव प्रदेशमै हुने र त्यही प्रदेशबाट राष्ट्रिय सभा सदस्यको चयन हुने आयोगका प्रवक्ता श्रेष्ठले बताए । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरू मतदाता हुन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।