मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर २३ सोमबार ०८:३२:००
Read Time : > 1 मिनेट
सम्पादकीय

फेवातालकाे जमिनमा भूमाफियाको रजाइँ 

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २३ सोमबार ०८:३२:००

सम्पादकीय

‘तालको पानी माछीले खानी...’ भन्ने गीत त पुरानै हो, तर तालको जमिनचाहिँ मान्छेले खान्छन् भन्ने विषय भने अलि नयाँ–नयाँ नै हो । प्रसंग सार्वजनिक जमिनमा कसरी राज्य संयन्त्रको सल्लाह र सहयोगमा भूमाफियाले नियन्त्रण गर्छन् भन्ने विषयको हो । घटनाचाहिँ पोखरास्थित फेवातालको जमिनको हो । २०१७ सालको नापनक्सामा फेवाताल २२ हजार रोपनीमा फैलिएको थियो । त्यतिवेला तालको फेदीमा बाँध बाँधिएको पनि थिएन । बाँध नबाँधिएको प्राकृतिक स्वरूपमा २२ हजार रोपनी भएको तालको क्षेत्रफल यतिवेला बाँध बाँधेपछि नौ हजार नौ सय ५५ रोपनी मात्र रहेको छ ।

यसरी हेर्दा झन्डै १२ हजार रोपनी जमिनबाट ताल गायब भएको छ । तर, यहाँनेर विडम्बना के छ भने ताल गायब भएर उत्रिएको जमिन सरकारी या सार्वजनिक जमिनका रूपमा कायम छैन, बरु यो कतै न कतै व्यक्तिको लालपुर्जाभित्र छिरेको छ । जमिनबाट ताल बाहिरिनुका पछाडि फेवातालको जलाधार क्षेत्रमा लामो समयदेखि रहेका पहिरो र बाढी, पछिल्लो समय यही क्षेत्रमा भएका निर्माणकार्यजस्ता कारणले बगेको माटोसमेतको भूमिका छ ।

ताल पुरिँदै जाँदा जति जमिन बाहिर पर्न आउँछ, त्यति नै स्थानीय मानिसले जोतभोग गर्न थाले । पछिपछि त्यो जमिनलाई मालपोत कार्यालय, स्थानीय निकाय र पहुँचवालाको चलखेलमा व्यक्तिका नाममा दर्ता गरियो । यतिसम्म कि तालमा लगाइएको पहिलो बाँध २०३१ मा फुटेर पानी बाहिरिएपछि उत्रेको जमिनलाई पनि व्यक्तिका नाममा दर्ता गराएर भूमाफियाले रजाइँ गरिरहेका छन् । उनीहरूले कानुनी रूपमा आफ्नो बनाए पनि ताल बन्नेबित्तिकै सो क्षेत्र डुबानमा पर्‍यो । अहिले तालले चर्चेको पानीमुनिको सतहमा समेत केही मानिसको लालपुर्जा रहेको छ । यसरी दर्ता गरिएको जमिन नै एक हजार ६ सय ९२ रोपनी रहेको छ । 

फेवातालको बाँध फुटेर पानी बाहिरिएपछि उत्रेको जमिनलाई पनि व्यक्तिका नाममा दर्ता गराएर भूमाफियाले रजाइँ गरिरहेका छन्

पोखराका मुख्य दुई आकर्षण छन् : पोखराबाट देखिने माछापुच्छ्रे र अन्नपूर्ण हिमालको दृश्य तथा फेवा, वेगनासलगायतका ताल । एकातिर जलवायु परिवर्तनको प्रभाव र प्रदूषणका कारण हिमाल खैरा हुँदै गएका छन्, अर्कातिर मानवीय अतिक्रमणका कारण फेवाताल हरेक वर्ष खुम्चिँदै र प्रदूषित हुँदै गएको छ । मानव तथा प्रकृतिको जैविक चक्र (मान्छे, जीवजन्तु र वनस्पति) चल्नका लागि अत्यावश्यक मानिने सिमसारका रूपमा लिइएको फेवातालको यो विनाशले पोखराको सौन्दर्य मात्र हराउने होइन, बरु यसले स्थानीय जीवनचक्रलाई नै प्रभावित गर्ने निश्चित छ । पोखराको भविष्यका लागि पनि फेवाताल सुक्दै जानु दुर्भाग्यपूर्ण हुनेछ । सरोकारवालाहरूले यस्तै अवस्था निरन्तर रहेमा आगामी ७५ वर्षदेखि सय वर्षसम्ममा फेवाताल लोप हुने बताइरहेका छन् ।

यस्तो खतरा निम्तिनबाट रोेक्न फेवातालमा फालिने ढल रोक्न जरुरी छ, सेती नहरको पानी तालमा फाल्न रोक लगाउनुपर्नेछ, वरपरको भूविनाश नियन्त्रण गर्नुपर्नेछ, सिमाना छुट्याएर सबै खाले अतिक्रमणमुक्त गर्नुपर्नेछ । सार्वजनिक र तालभित्रको जमिन जेजति निजीकरण गरिएको छ, त्यो सबै तालका नाममा लालपुर्जा बनाएर जोगाउनुपर्छ । सरोकारवालाको आवाज त उठिरहेको छ, सर्वोच्च अदालतले पनि यसलाई कार्यान्वयन गर्न आदेश दिएको छ, तर कार्यान्वयन गर्नुपर्ने निकाय निष्क्रिय रहँदा तालको भविष्यमाथि प्रश्न उठि नै रहनेछ ।