Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ मङ्सिर २३ सोमबार ०७:४१:००
Read Time : > 1 मिनेट
समाचार

मेलम्ची खानेपानी आयोजना  : पुस अन्तिमसम्म प्रशोधन  केन्द्र तयार हुने

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २३ सोमबार ०७:४१:००

मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्र पुस अन्तिमसम्म निर्माण सम्पन्न हुने भएको छ । मेलम्चीबाट सुरुङमार्ग हुँदै आउने पानी प्रशोधन गर्न बनाइएका दुईमध्ये एक प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ । निर्माणाधीन अवस्थामा रहेको अर्को प्रशोधन केन्द्र पुस अन्तिम सातासम्म सम्पन्न हुनेछ । 

मेलम्चीबाट पहिलो चरणमा आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन गरेर वितरण गरिनेछ । दुवै प्रशोधन केन्द्र साढे आठ करोड लिटर गरी १७ करोड लिटर क्षमताका हुन् । मेलम्ची विकास समितिले आगामी असार अन्तिमसम्ममा मेलम्चीको पानी सुन्दरीजलमा खसाल्ने योजना बनाएको छ । सोही योजनाअनुसार प्रशोधन केन्द्र निर्माणलाई तीव्रता दिइएको समितिले जनाएको छ । 

एउटा प्रशोधन केन्द्रको परीक्षण
निर्माण सम्पन्न भएको एक प्रशोधन केन्द्रको भने अहिले परीक्षण भइरहेको छ । बागमती नदीको पानी प्रशोधन गर्न थालिएको छ । दुई वर्षअघि नै निर्माण सम्पन्न भएको प्रशोधन केन्द्रमा पानी प्रशोधन गरेर केयुकेयलले वितरण गर्न थालेको समितिले जनाएको छ । प्रशोधन केन्द्र जाइकाले दिएको पाँच अर्ब सात करोड ८० लाख रुपैयाँको ऋण सहयोगमा बनाइएकोे हो । 

सुरुङमार्गपछि प्रशोधन केन्द्र मेलम्ची खानेपानी आयोजनाको दोस्रो मुख्य संरचना हो । केन्द्रबाट पानी प्रशोधन गरेर उपत्यकाका ६ स्थानमा निर्माण गरिएका पानी पोखरी (ट्यांकी)मा जम्मा गरिनेछ । त्यसपछि वितरण पाइपबाट घर–घरमा पानी पु¥याइनेछ । केन्द्रबाट प्रशोधित पानी शुद्ध खानेपानी मापदण्डअनुसारकै हुनेछ । मेलम्ची खोलाको डाइभर्सन स्किम र वितरण प्रणालीको बीचमा प्रशोधन केन्द्र अत्याधुनिक प्रविधि प्रयोग गरी बनाइएको छ । यसमा कोगुलेसन सेडिमेन्टेसन प्रक्रियासहितको तीव्र बालुवा फिल्ट्रेसन प्रणालीको उपयोग गरिएको छ । 

केन्द्रमा २०० किलोवाटको लघु जलविद्युत् प्लान्ट पनि रहेको छ, जसको माध्यमबाट यो केन्द्र स्वसञ्चालित हुनसक्छ । दुईवटा प्रशोधन केन्द्रपछि सुरुङमार्ग हुँदै आउने याङ्ग्री र लार्के खोलाको गरी दैनिक ३४ करोड लिटर पानी प्रशोधन गर्न सोही ठाउँमा अर्को प्रशोधन केन्द्रसमेत निर्माण हुने मेलम्ची समितिका कार्यकारी निर्देशक तिरेस खत्रीले जानकारी दिए ।