१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
चीन सरकारकाले पुनर्निर्माणको जिम्मा लिएको सहिद लखन गाउँपालिका–४ ताक्लुकको सिँजाली मावि  । तस्बिर : नयाँ पत्रिका
२०७६ मङ्सिर २२ आइतबार १०:०३:००
Read Time : > 1 मिनेट
प्रदेश

चीनले निर्माण जिम्मा लिएको विद्यालय अलपत्र : आठ वर्षदेखि अस्थायी टहरामा बालबालिका

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २२ आइतबार १०:०३:००

चीन सरकारले पुनर्निर्माणको जिम्मा लिएको सहिद लखन गाउँपालिका–४ ताक्लुङको सिँजाली माध्यमिक विद्यालयको भवन निर्माण हालसम्म सुरु भएको छैन । सुविधासम्पन्न भवन बनाइदिने भन्दै ०६८ सालमा सम्झौता गरेको थियो । तर, हालसम्म भवन निर्माण सुरु नभएको विद्यालयका प्रधानाध्यापक बलनारायण श्रेष्ठले बताए ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नेपाल आएको चीन सरकारको उच्चस्तरीय टोलीले हिमाली क्षेत्रमा १० वटा सुविधासम्पन्न आवासीय विद्यालय बनाउने जिम्मा लिएको थियो । तीमध्ये आठौँ नम्बरमा सिँजाली मावि परेको प्रअ श्रेष्ठले जानकारी दिए ।

तर, हालसम्म काम सुरु नभएकोप्रति विद्यालयले चिन्ता व्यक्त गरेको छ । ‘चिनियाँ टोली दुईपटक जग्गा हेर्न आयो,’ उनले भने, ‘अन्तिमपटक जग्गा हेरेर गएको पनि डेढ वर्ष भयो, त्यसपछि अत्तोपत्तो छैन ।’ भवन निर्माण नहुँदा अस्थायी टहरामा पठनपाठन गराउन बाध्य भएको उनले बताए ।

१२ वैशाख ०७२ मा गएको भूकम्पले विद्यालयसँग भएको ११ कोठे पुरानो भवन पनि भत्किएको उनले बताए । उनले भने, ‘नयाँ भवन बनाउने जिम्मा लिएको चीन सरकारले अहिलेसम्म बनाएको छैन । भवन नहुँदा १ देखि ८ कक्षासम्म टहरामा पढाउनुपर्ने बाध्यता छ ।’ कक्षा ९ र १० का विद्यार्थी असुरक्षित भनेर स्टिकर टाँसिएको पुरानै भवनमा पढ्न बाध्य रहेको उनले गुनासो गरे ।

टहरामा पढाउँदा जाडोमा अति चिसो र गर्मीमा धेरै गर्मी हुँदा पठनपाठनमा समस्या हुने उनले बताए । टहरामा एउटा कोठाको आवाज अर्काे कोठामा प्रस्ट सुनिन्छ । यसले पठनपाठनसमेत प्रभावित भएको उनको भनाइ छ । उनले भने, ‘वर्षाको समयमा छाना चुहिएर कक्षाकोठाभित्रै पानी पस्छ, चैत–वैशाखमा हावाहुरीको समस्या, भवन नभएर साह्रै समस्या भएको छ ।’

सम्झौता तोड्न पनि भएन : मिश्र
पटकपटक विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकले पहल गरे पनि बेवास्ता गरेको उनले बताए । सरकार र अन्य दातृ निकायले बनाएका अरू विद्यालय बनिसक्दा सिँजाली मावि पुनर्निर्माण नहुँदा स्थानीय सबै निराश छन् । विद्यालय पुनर्निर्माणका लागि चीन सरकारलाई पर्खिनुबाहेक अरू विकल्प नभएको उनले गुनासो गरे । 

यस वर्ष पनि भवन निर्माण सुरु हुने नहुने अन्योल रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका प्रमुख विष्णुप्रसाद मिश्रले बताए । ‘यो परराष्ट्र मन्त्रलायले गरेको मन्त्रीस्तरीय सम्झौता हो, यो वर्ष सुरु हुने-नहुनेमा हामी पनि अन्योलमा छौँ,’ उनले भने, ‘हामीले बनायाैँ भने भोलि मित्र राष्ट्रको सम्बन्धको कुरा छ, सम्झौता तोड्न पनि भएन ।’ कूटनीतिक मर्यादाविपरीत हुन्छ भनेर सम्झौता नतोडिएको उनको भनाइ छ । एक महिनाअघि मन्त्रालयमा सम्पर्क गर्दा विद्यालय कहिले बन्छ भन्ने एकिन जानकारी नआएको उनले बताए ।