मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
२०७६ मङ्सिर २१ शनिबार १७:२१:००
Read Time : > 1 मिनेट
खेलकुद

गौरिकालाई तेस्रो दिन रजत

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २१ शनिबार १७:२१:००

१३औँ सागको स्विमिङ इभेन्टमा सुरुका दुई दिन सनसनीपूर्ण प्रदर्शन गरेकी गौरिका सिंहले शनिबार रजतपदक जितेकी छिन् । लगातार दुई दिन स्वर्ण जित्दै गौरिका चर्चामा रहेकी थिइन् । सातदोबाटोको हिटिङ स्विमिङ पुलमा सय मिटर ब्याकस्ट्रोकमा गौरिका थोरै अन्तरले दोस्रो भएकी हुन् । गौरिकाले रजत जित्दा एक मिनेट ०३.१५ सेकेन्डको टाइमिङ निकालिन् । 

भारतकी मन्ना राजिभ पटेलले एक मिनेट ०२.३६ सेकेन्डको समय निकाल्दै स्वर्ण हात पारिन् । यसै इभेन्टमा भारतकै रिद्धिमा वीरेन्द्रकुमारले कांस्य जितिन् । उनको टाइमिङ एक मिनेट ०५.७२ सेकेन्ड थियो । गौरिकाले बिहीबार दुई सय मिटर फ्रिस्टायलमा नेपाललाई पहिलोपटक व्यक्तिगत इभेन्टमा स्वर्ण दिलाएकी थिइन् । शुक्रबार दुई सय मिटर ब्याकस्ट्रोकमा शीर्ष स्थानमा रहँदै गौरिकाले एकै संस्करणमा दुई स्वर्ण जित्ने रेकर्ड पनि बनाइन् । लगातार तीन दिन नेपाललाई स्वर्ण दिलाउने गौरिकाको इच्छा पूरा भएन । 

तीन राष्ट्रिय कीर्तिमान
गौरिकासँगै अन्य दुई नेपाली खेलाडीले सर्ट कोर्समा राष्ट्रिय कीर्तिमान बनाएका छन् । गौरिकाले सय मिटर ब्याकस्ट्रोकमा आठौँ राष्ट्रिय खेलमा आफ्नै नाममा रहेको एक मिनेट ०७.२२ सेकेन्डको रेकर्ड सुधार गर्दै एक मिनेट ०३.१५ को नयाँ रेकर्ड बनाइन् । त्यस्तै, डुवाना लामाले महिला ५० मिटर सर्टकोर्समा ब्रेस्टस्ट्रोकमा नयाँ रेकर्ड बनाइन् । उनले ३५.४६ सेकेन्डको समय राखिन् । उनले २०१८ मा भएको फिना विश्वकप पौडीमा बनाएको ३५.८२ सेकेन्डको कीर्तिमान सुधारेकी हुन् । त्यस्तै, पुरुषतर्फ एलेक्स साहले सय मिटर ब्याकस्ट्रोकमा नयाँ रेकर्ड बनाए । उनले एक मिनेट ०२.१० को समय निकाल्दै  रेकर्ड राखेका हुन् । साहले आठौँ राष्ट्रिय खेलकुदमा नाथन दोर्जे शेर्पाको नाममा रहेको एक मिनेट ०४.०६ सेकेन्डको समयलाई आफ्नो नाममा बनाए ।

भारतलाई पाँच इभेन्टमा स्वर्ण 
भारतले पौडीमा आफ्नो वर्चस्व कायम राखेको छ । तेस्रो दिन पौडीमा पाँच इभेन्ट हुँदा भारतले सबैमा स्वर्ण जित्यो । आठ सय मिटर फ्रिस्टायलमा ऋचा मिश्राले स्वर्ण हात पारिन् । चार सय मिटर इन्डिभिजुअल मिड्लेमा पुरुषतर्पm श्रीधर सिभाले स्वर्ण जिते । सय मिटर ब्याकस्ट्रोक महिलातर्फ मन्ना राजिभले गौरिका सिंहलाई पछि पार्दै स्वर्ण जितिन् । सय मिटर ब्याकस्ट्रोक पुरुषतर्फ श्रीहरि नटराजले स्वर्ण हात पारे । त्यस्तै, महिलातर्फको ५० मिटर ब्याकस्ट्रोकमा पनि भारतकै चाहत अरोराले स्वर्ण जितिन् ।