मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर २१ शनिबार १४:५७:००
Read Time : > 2 मिनेट
अर्थ

मिति सकिएका एक करोड रुपैयाँ भन्दा बढीको चकलेट, बिस्कुट नष्ट

पुरानो मिति छोपिने गरी नयाँ मिति टाँसेको भेटियो

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर २१ शनिबार १४:५७:००

दुई वर्षअघिबाट मिति सकिएर पनि भण्डारणमा राखिएको चकलेट, बिष्कुटलगायतका ‘कन्फेक्सनरी’ ठूलो मात्रामा बरामत गरी नष्ट गरिएको छ । नष्ट गरिएका सामग्री एक करोड रुपैयाँ भन्दा बढी मूल्यको भएको प्रारम्भिक अनुमान छ ।

अनुगमनकारी निकाय वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले शनिबार दिउँसोसम्म १३ ट्रक चकलेट, बिस्कुट गोदामबाट निकालेर सिसडोलस्थित फाहोर फाल्ने ठाउँमा पुर्‍याइसकेको छ । विभागका अनुगमन शाखा अधिकृत दीपकराज पोख्रेलका अनुसार भारतीय विभिन्न ब्राण्डका चकलेट, बिस्कुट, पाउडर, कफीलगायत मिति सकिएको अवस्थामा फेला पारेपछि बजार जानबाट रोक्नका लागि नष्ट गरिएको हो ।

उनका अनुसार सुयस इन्टरनेशनल प्रालिले भित्र्याएका ‘कन्फेक्सनरी’ मिति सकिएर पनि लामो समयदेखी गोदाममा भण्डारण गरी राखेको उजुरी आएपछि अनुगमन गर्ने क्रममा बरामद गरिएको हो । काठमाडौंको सतुङगलमा रहेको गादाममा विभागका अधिकारीले शुक्रबारदेखी मिति सकिएका कन्फेक्सनगरी ट्रकमा लोड लगाउँदै नष्ट गर्न सिसडोल पठाइरहेका छन् ।
ठूलो क्षेत्रफलमा फैलिएको गोदाममा कति सामग्री छन् भन्ने अझै यकिन हुन सकेको छैन । विभागले गोदाममा रहेको सामानमध्ये करिब १ सय कार्टुन कन्फेक्सनगरीमा उपभोग्य मिति रहेको पाएपछि छुट्याएर राखिएको छ, बाँकीसयौं कार्टुनमा रहेका चकलेट, बिस्कुटहरु नष्ट गर्नेक्रम जारी रहेको पोख्रेलले बताए ।

मिति सकिएको चकलेटमा नयाँ लेबल राखेर बिक्रीको प्रयास
गोदाममा राखिएको केही चकलेटको बट्टामा पुरानो लेबल छोपिने गरी नयाँ उपभोग्य मिति उल्लेख भएको लेबल  टाँसिएको भेटिएको छ । ‘चकलेटको मिति सकिएपछि पुरानो मिति छोपिने गरी आयातकर्ता कम्पनीले बदनियतपूर्वक नयाँ लेबल टाँसेको भेटिएको छ’ विभागका शाखा अधिकृत पोख्रेलले भने, ‘अनुगमनका क्रममा यसरी नयाँ लेबल राखिएको तीन सय काटुर्न सामान बरामद भएको छ । खान अयोग्य भइसककेो बस्तुमा नयाँ मिति राखेर उपभोक्ता झुक्याउन खोज्नु निन्दनीय छ ।’

उदाहरणका लागि सन् २०१७ को अगस्टमा उत्पादन भएको र अगस्ट २०१८ मा उपभोग्य मिति सकिने कोपिको ब्राण्डको कफीको पुरानो लेबल छोपिने गरी नयाँ लेबल टाँसिएको छ । त्यहाँ कफीको उत्पादन मिति १५ फेब्रुअरी २०१९ लेखिएको छ र उपभोग्य मिति १५ अगस्ट २०२० सम्म राखिएको छ । यसरी उपभोग्य मिति सकिएको दुई बर्षसम्म उपभोक्ता झुक्याउने गरी लेबल टाँस गरी बिक्री गर्ने आयातकर्ताको ग्रैर व्यवसायीक क्रियाकलाप विभागले पर्दाफास गरेको छ ।

त्यसैगरी एस्टोर ब्राण्डको चकलेटको उपभोग्य मिति नोभेम्बर २०१८ मा सकिएकोमा पुरानो लेबल छोप्ने गरी नयाँ लेबल टाँसेर अगस्ट २०१९ सम्म उपभोग्य मिति कायम राखेको भेटिएको थियो ।

यी ब्राण्डका चकलेट, बिस्कुट नष्ट
विभागले नष्ट गरेको चकलेट, बिस्कुट तुलनात्मक रुपमा गुणस्तरीय भारतीय उत्पादन हुन् । विभागले जुजी मिल्क, अस्टोर–मिनी स्टीक, पिल्सबेरी–प्यास्टी केक, चोकोरिच, लुभिट, मुन्च अन (नेमकिन), अनमोल म्यारी प्लस् (चिया), कोपिको (चकलेट र कफी), गो, चोको–पोलिल, ब्याङ ब्याङ, टाइगर क्लियर चकलेट, चोकी–चोकी, स्ट्याबल बिचिङ पाउरलगायत ब्राण्डका कन्फेक्सनगरी सामग्री नष्ट गरिएको छ । 

तीन लाख रुपैयाँ जरिवाना
उपभोक्तालाई ढाँटी, झुक्याई मिति सकिएको खानेकुरा बिक्री गर्न लागेको अभियोगमा विभागले आयातकर्ता सियस इन्टरनेशनललाई तीन लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । ‘उपभोक्ता संरक्षण ऐन, ०७५ ले गरेको व्यवस्थाअनुसार अधिकतम जरिवाना तिराइएको हो’ पोख्रेलले भने, ‘नयाँ कानून कडाईका साथ कार्यान्वयन गर्न हामी दृढ छौं ।’ उनले आइतबारसम्म लगाएर भएपनि गोदाममा मिति सकिएर बसेका सबै चकलेट, बिस्कुटलगायत नष्ट गर्ने जानकारी दिए ।