मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर २१ शनिबार १०:३९:००
Read Time : > 2 मिनेट
खेलकुद

सन्तोषीको स्वर्णकथा

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर २१ शनिबार १०:३९:००

सन्तोषी श्रेष्ठ (२६)ले यस्तो अनौठो सफलता हात पर्छ भनेर कहिल्यै सोचेकी थिइनन् । उनी त मात्रै थिइन्, ‘फन रनर,’ अर्थात् आफ्नै खुसीका लागि दौडिने । उनलाई लाग्थ्यो, ट्रेनिङ नै गर्न सक्दिनँ होला । त्यसैले उनका प्रशिक्षक रघु वन्तले ट्रेनिङ गराउँछु भन्दा उनी भागेकी थिइन् । 

प्रशिक्षक वन्तको प्रस्ताव अस्वीकार गर्न उनले दर्जनौँ बहाना बनाएकी थिइन् । तर, उनको बहाना काम लागेन । भन्छिन्, ‘मेरो भाग्यमा पनि यही रहेछ । नत्र जिरो पोइन्ट, जिरो वन सेकेन्डले कसरी स्वर्ण जित्थेँ र ?’ सन्तोषीले १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत १० हजार मिटर दौडमा नेपाललाई स्वर्णपदक दिलाइन्, जुन स्वर्ण साग इतिहासमा एथ्लेटिक्सतर्फ नेपाली महिला खेलाडीले जितेको पहिलो बन्यो । 

भारतकी खेलाडीलाई मात्रै जिरो पोइन्ट, जिरो वन सेकेन्डले पछि पार्दै स्वर्ण जितेपछि उनलाई आफ्नो कर्मसँगै भाग्यमा पनि विश्वास लाग्न थालेको छ । उनी भन्छिन्, ‘मेरो राम्रो चिताउने व्यक्तिको आशीर्वाद र घर–परिवारको सहयोगले पनि यो उपलब्धि मिलेको हो ।’

धादिङ कल्लेरीकी सन्तोषी काठमाडौंमै हुर्किएकी हुन् । काठमाडौंमै विद्यालय शिक्षा लिने अवसर पाएकी उनले सानै उमेरमा आफ्नो भविष्यको बाटो कोरिसकेकी थिइन् । जनस्वास्थ्यमा स्नातक गरेपछि उनले विभिन्न एनजिओमा प्रोजेक्ट म्यानेजर र अनुसन्धानकर्ताको रूपमा काम गर्ने अवसर पाइन्, जसबाट कमाइ राम्रै भइरहेकै थियो । उनी आफ्नो पढाइ अझ अगाडि बढाउन चाहन्थिन् । त्यसका लागि छात्रवृत्तिमै विदेश जाने रहर पनि उनको थियो । 

तर, उनलाई खेलकुदमै मिहिनेत गर्नु थियो । बाटो त्यतै मोडियो । काठमाडौंमा २०७१ सालमा एडिडास कम्पनीको सहयोगमा ‘रोड रेस’ भएको थियो । दौडमा नेपालकै सफलमध्येकी धाविका कान्छीमाया कोजू, विश्वरूपमा बुढा, अल्ट्रा धाविका मिरा राईलगायत विभागीय टोलीका राम्रा धाविकाले भाग लिएका थिए ।

त्यही दौडमा सन्तोषी पनि पुगेकी थिइन् । त्यसअघि कुनै पनि प्रतियोगितामा नदेखिएकी उनले कान्छीमाया, विश्वरूपमाजस्ता खेलाडीलाई टक्कर दिइन् । कान्छीमाया पहिलो, विश्वरूपमा दोस्रो र सन्तोषी तेस्रो भइन् । 

सन्तोषीलाई नेपाली एथलेटिक्सका विज्ञ प्रशिक्षक वन्तले पहिलोपटक त्यहीँ देखेका हुन् । कुनै तयारी र प्रशिक्षणविना आएकी सन्तोषीले नियमित प्रशिक्षणमा रहेका स्थापित र विभागीय टोलीका खेलाडीलाई बलियो चुनौती दिएपछि प्रशिक्षक वन्तको ध्यान उनीतिर गयो । 

वन्तले नै सन्तोषीलाई प्रशिक्षण गराउने प्रस्ताव राखे । सन्तोषी भन्छिन्, ‘त्यस वेला उहाँलाई मैले चिनेको थिइनँ, त्यसैले मैले उहाँको प्रस्ताव मानिनँ । तर, पछि उहाँले मेरो घरमै गएर परिवारसँग कुरा गर्नुभयो ।’ सन्तोषी प्रशिक्षक वन्तसँगको भेट सम्झिन्छिन्, ‘मलाई त्यस वेला पढाइलाई नै निरन्तरता दिन मन थियो । त्यसैले गुरुलाई मैले धेरै बहाना बनाएकी थिएँ, तर मलाई यहीँ आउनु रहेछ । वन्त गुरुकै प्रशिक्षणमा यो सफलता प्राप्त भयो ।’
प्रशिक्षक वन्तले सन्तोषीका लागि धेरै मिहिनेत गरे । सन्तोषी भन्छिन्, ‘ट्रेनिङका लागि मलाई लिन बिहान ५ बजे नै गुरु घर आइपुग्नुहुन्थ्यो ।’ 
सन्तोषीलाई राष्ट्रिय प्रतियोगिता हुँदै १३औँ सागको स्वर्णपदकका लागि प्रतिस्पर्धा गराउन पनि उनै वन्त गुरुले मनाएका हुन् । सन्तोषी त्यो समय ‘पार्टनरसिप फर सोसिएल डेभलपमेन्ट नेपाल’मा रिसर्च अफिसरको रूपमा काम गर्दै थिइन्, आकर्षक तलबसहित ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समयअघि वन्त गुरुले नै उनलाई सबै कुरा छाडेर प्रशिक्षणमा केन्द्रित हुन सल्लाह दिए । गुरुको कुरा काट्न नसकेपछि सन्तोषीले जागिर छाडिन् । पढाइ पनि बीचैमा रोकियो । 
सन्तोषीले प्रशिक्षक वन्तलाई त्यतिखेरै भनेकी थिइन्, ‘आठौँ राष्ट्रिय खेलकुदसम्म सबै कुरा छाड्छु । त्यसपछि भने पढाइ र जागिरमा ध्यान दिनेछु ।’
आठौँ राष्ट्रिय खेलकुदमा उनले स्वर्णपदक जितिन् । सोही प्रदर्शनका आधारमा उनी १३औँ सागको बन्द प्रशिक्षणमा पनि परिन् । पढाइ र जागिरलाई निरन्तरता दिने उनको योजना अझ पछि धकेलियो । अहिलेलाई आफ्नो त्यो योजना १३औँ सागसम्म लम्बिएको छ । 
हेल्थ एड्मिनिस्टे«सनमा स्नातकोत्तर गरिरहेकी उनी भन्छिन्, ‘खेलकुदबाट टाढा त हुन्न, तर पढाइलाई पनि सँगसँगै लिएर जानुपर्छ । शिक्षाले जीवन जिउन सहज बनाउँछ ।’
सन्तोषी खेलकुदसँगको आफ्नो सम्बन्धलाई जीवनको सार्थकतासँग जोड्छिन् । ‘म खेलकुदमा नाम कमाऊँ या धेरै पैसा कमाऊँ भनेर आएकी होइन । दौडिन मनपथ्र्याे, संयोगले यही क्षेत्रमा मिहिनेत गर्न पाएकी छु,’ सन्तोषी भन्छिन्, ‘मलाई मनमा लागेको काम गरिहाल्न मनपर्छ । पछि पछुताउन नपरोस् भन्ने लाग्छ ।’
नेपाली खेलकुद विभागीय टोलीले धानिएको छ । नयाँ प्रतिभाको संरक्षण विभागीय टोलीले नै गर्दै आइरहेको छ । विभागीय टोलीसम्म पुग्न नसकेका प्रतिभा यत्तिकै हराएर जान्छन् । 
नेपाली खेलकुदको यो तथ्यलाई सन्तोषीले पनि बुझेकी छिन् । त्यसैले उनी यसमा पनि फरक उदाहरण बन्न चाहन्छिन् । ‘विभागीय टोलीमा रहनु नराम्रो होइन । तर, जहाँ रहे पनि प्रतिभालाई मर्न दिनुहुन्न । बाहिरै रहेर पनि राम्रो गर्न सकिन्छ भन्ने उदाहरण मैले प्रस्तुत गर्नु छ,’ सन्तोषी भन्छिन्, ‘त्यसकै लागि मैले पनि विभागीय टोलीबाट आएको प्रस्तावलाई स्वीकार गर्न सकिनँ ।’ प्रतिभालाई सही बाटो देखाउनुपर्ने उनको भनाइ छ । 
सन्तोषी आफ्नो यो सफलतामा दाइ केदार श्रेष्ठ र लक्ष्मण मल्ललाई पनि सम्झन चाहन्छिन् । गुरु वन्तको प्रशिक्षणमा पुग्नुअघि यी दुईले नै सन्तोषीलाई दौडमा लाग्न प्रेरित गर्थे । हाल दुवाथलनका खेलाडी लक्ष्मणले सन्तोषीलाई प्रशिक्षण दिन्थे । विभिन्न प्रतियोगितामा सहभागी गराउन लिएर जान्थे । दाइ केदारले परिवारको तर्फबाट हुनुपर्ने साथमा कहिल्यै कमी हुन दिएनन् ।
‘आफूसँग साधन नहुँदा लक्ष्मण दाइ र केदार दाइले ट्रकमा लिफ्ट मागेर पनि मलाई प्रतियोगितामा सहभागी गराउन लिएर जानुहुन्थ्यो,’ सन्तोषी भन्छिन्, ‘मेरा लागि उहाँहरूको साथ र सहयोग महत्वपूर्ण छ ।’