मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर २१ शनिबार ०९:४०:००
Read Time : > 4 मिनेट
पर्यटन

रारा यात्राको रोमाञ्चकता

Read Time : > 4 मिनेट
२०७६ मङ्सिर २१ शनिबार ०९:४०:००

आइटिनरी

बेनी–जोमसोम सडकले मुक्तिनाथ तीर्थस्थल र सुर्खेत–जुम्ला कर्णाली लोकमार्गले सिञ्जा उपत्यका तथा राराताल जोडेसँगै आन्तरिक पर्यटकका लागि चर्चा र भ्रमणका गन्तव्यस्थल बनेका छन् । कर्णाली र मुस्ताङ क्षेत्रमा फलेका स्याउ, सिमी, मार्सी चामल, खसीबोका, भेडा–च्यांग्राको मासुले बजार र उपभोक्ता पाएका छन् । तर, स्थानीय सेवाप्रदायक र पर्यटक त्यहाँ उपलब्ध खानपान र गन्तव्यको प्रचार–प्रसार, बजारीकरण र उपभोग उपयुक्त तरिकाले गर्न सकिएको पाइएन । त्यसैले सानो यात्रा आइटिनरी (भ्रमण तालिका) अगाडि तयारी जरुरी छ ।

 प्रा.डा. प्रेम शर्मा

आज रारातालको यात्रा गरौँ । प्रस्थान बिन्दु बाँकेको कोहलपुरबाटै यो यात्रा सुरु गर्दा झन् रमाइलो हुन्छ । देशको जुनसुकै ठाउँबाट आउनुहोस्, गाडीबाट यात्रा गर्नु छ भने प्रस्थान बिन्दु हो, कोहलपुर । हुन त हवाईमार्गबाट सीधै जुम्लाको खलंगा, गमगढीको ताल्चा एयरपोर्ट वा सुर्खेत झरेर रारा यात्रा गर्न पनि सकिन्छ । तर, रारा एवं सिञ्जा उपत्यकाको महत्वका दृष्टिकोणले कर्णाली राजमार्गको यात्रा नै उपयुक्त हुन्छ । 

कोहलपुरबाट हुइँकिनुअघि समय छ भने त्यहीँवरिपरिका नयाँगाउँ (धकेरी) र गाभर भ्याली सामुदायिक होमस्टे, सत्खल्वा वा मड होमस्टेमा नास्ता, दिवा वा रात्रि गाँस–वास गर्ने योजना बनाउँदा रमाइलो हुन्छ । सुर्खेत उक्लिने बाटोमा भेटिने बबई खोलाका माछा, खसी वा लोकल कुखुराको स्वादले जिब्रोलाई लट्ठै पार्छ । जाजरकोट–डोल्पा लोकमार्गको छिन्चु जक्सनमा केही क्षण रोकिई स्थानीयस्तरमै उत्पादित फलफूल टोक्दा मनै आनन्दित हुन्छ । 

अलिकति समय निकाले, सुर्खेतको वीरेन्द्रनगर छिर्दा फाइदै हुन्छ । वीरेन्द्रनगरमा रहँदा नगरका ठूलो होटेलभन्दा मझौला होटेल– थकाली, बुलबुले, डिनमस्तेजस्तामा बस्नु राम्रो हुन्छ । काँक्रेबिहार, देउतीबज्यै र बुलबुले तालको भ्रमणका लागि करिब एक घन्टाको समय भए पुग्छ । सुर्खेतको एरिचोकको आचार्य चियानास्ता पसलमा चिया पिउँदै गफगाफ सुन्न रमाइलै हुन्छ । मौका मिले अलि तल इटौरमा रहेको फिस कटेज गएर आफैँ माछा मारेर स्वाद लिँदा नयाँ अनुभव हुन्छ । 

सुर्खेतबाट रारातर्फ लाग्दा दुइटा बाटा छन्, बांगेसिमल (कर्णाली लोकमार्ग एक घन्टा फेरो) र छोटो बाटो दैलेखको गुराँसे लाग्दा गुराँसेको लोकल कुखुरा, कुराउनी र आलुका परिकारको स्वाद लिन भुल्नुहुन्न । रारा यात्रा गर्दा एक दिन दैलेखका ऐतिहासिक, पुरातात्विक एवं सांस्कृतिक सम्पदाहरू– ज्वालामाई, श्रीस्थान, नाभिस्थान, धुलेश्वर, पञ्चदेवल, बेलासपुर र पादुका, नेपालको प्रथम शिलालेख कृतिस्तम्भ, दुल्लु दरबार, नौमुले, जलेश्वर, बेलासपुर, पञ्चकोसी, कोटगढीलगायत ३२ वटा नेपालका थरहरूको नामकरण गाउँ घुम्न र आफ्ना पुर्खाको उद्गम थलोसँग नाता जोड्न पाइन्छ । 

कर्णाली लोकमार्ग लाग्दा माथिल्लो डुंगेश्वरको चुप्रा होमस्टे, तल्लो डुंगेश्वरस्थित कर्णाली नदी र लोहोरे खोलाका स्थानीय असला माछा, लोकल कुखुरासँगै खसीको मासुको परिकार स्वादिलो हुन्छ । पादुका, स्याला खोला वा टुनिबगरको खसीको मासु र कर्णालीको माछा, राकम कर्णाली आठबिस नगरपालिकाको बजारको केरा, सुन्तला, माछा, गाईभैँसीको घिउ राखेको खानाको स्वाद लिन चुक्नुहुन्न । 

त्यस्तै, कर्णाली र तिलाको संगम जितेगढको असला माछा र मान्मा कालिकोटको सदरमुकाममा वास वा नास्ता, चिया वा कफी लिँदै प्राकृतिक दृश्यलाई क्यामेरामा कैद गर्दा मन प्रफुल्ल हुन्छ । तीन घन्टा ऐतिहासिक पिली भिर हुँदै तिला नदीको रमणीय भंगालोसँगै कालिकोटको नाग्म र जुम्लासम्म पुगिन्छ । 

यसपछि सिञ्जा खोला हुँदै सिञ्जा उपत्यकातर्फ लागिन्छ । करिब २० मिनेट हिँडेपछि चिउडी खोलाको परम्परागत प्रविधिबाट बनेको काठको पुल जसमा राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा वीर नेपाली सपूतहरूको आकृति कुँदेको पुलको फोटो खिच्न र रमणीय दृश्य अवलोकन गर्न पाइन्छ । त्यसपछि गोठीज्युला–सिञ्जा बजारसम्मको झन्डै तीन घन्टाको सवारी यात्रालाई ठाउँ–ठाउँमा मनमोहक गाउँबस्ती, डाँडाखोला र मार्सी चामल, राज्मा, गहुँ, जौ, फापर खेतीबाली उत्पादन हुने सुन्दर फाँटलगायत उच्च गाउँबस्तीको सुन्दरता स्विट्जरल्यान्डको जुरिच बिर्साउँछन् । 

यो यात्राको चौेथो संगम अर्थात् जुम्ला डाँफेको धुरी, न्युरिगाड हुँदै भुलभुले आउने बाटो पुग्न आङ सिरिङ–सिरिङ हुने भिरपाखा पार गर्दा बेग्लै अनुभूति हुन्छ । भुलभुले बस्तीबाट रारा राष्ट्रिय निकुञ्ज प्रवेश गरेसँगै घुच्चीको लेक आउँछ । त्यसलाई बायाँ छारेर रमणीय चौरमा घोडा, गाई, भेडा, च्यांग्रा, चौँरी चरिरहेको दृश्यले रोकिन बाध्य पार्छ । उच्च पहाडी भेगमा भेटिने यो सुन्दर चौरको दृश्य जीवनभर अविस्मरणीय रहन सक्छ । धुपीको जंगल, उच्च पहाडका कालो रङका धुपीसहितको पहाड, त्यसको तल खर्क राख्ने काठका गोठहरू र पशुचरनले हाम्रा पुर्खाको जीवन इतिहास कस्तो थियो भन्ने कल्पनामा विचरण गराउँछ ।

करिब १५–२० मिनेटको हरियो चउर दृश्यावलोकनपछि छुच्ची लेकको जंगल हुँदै ओरालोे लागिन्छ । ओरालो झर्दै गर्दा परपर देखिने मुगु गाउँमाथिको कानजिरवा, तिब्बत सीमामाथिका हिमशृंखला र अझ हुम्लाको उत्तरी लिमीगाउँमाथिको हिमशृंखला दृश्यावलोकन गर्न सकिन्छ । एक रुपैयाँको नोटमा अंकित हिमडाँडा हेर्दै तल झरेपछि  पिना गाउँको शिर भएर ताल्चा विमानस्थल पुगिन्छ । त्यसपछि बाटो बायाँ मोडिएपछि झन्डै २० मिनेटमा रारा राष्ट्रिय निकुञ्ज प्रवेशद्वारमा आइपुग्छ । त्यहाँ एक सय रुपैयाँ रसिद समातेर सवारीसाधन छोडेपछि धुपीको घना जंगल हिँड्दै राराताल क्षेत्रमा पुगिन्छ । 

रमाइलो रारा
राराताल देखिनेबित्तिकै खुला चउरमा राजा महेन्द्रले क्याम्प साइड खडा गरी कविता लेखेको चउरमा पुगिन्छ । त्यसपछि पारिपट्टि रारा राष्ट्रिय निकुञ्जको कार्यालय, डाँफे गेस्टहाउस, भिलेज रिसोर्ट र नेपाली सेनाको गुल्म हेर्दै तालतर्फ बढिन्छ । पारिपट्टिका बस्तीभन्दा माथि मुर्माटप मुर्मा गाउँको होमस्टे हेर्दै बायाँतर्फको तालको छेउछाउ साढे एक घन्टा हिँड्दा मनै आनन्दित हुन्छ । तालछेउमा राखिएका डुंगामा तालको सयर गर्न पाँच सय रुपैयाँ खर्च गर्नुपर्छ । तर, डुंगा बिहान ८ देखि १२ बजेसम्म मात्र चल्छन् । 

भुल्नै नहुने मुर्माटप
राराताल भ्रमण, अवलोकन गर्दा भुल्नै नहुने मुर्माटप हो । करिब तीन घन्टा पैदल यात्रापछि मुर्माटप पुगिन्छ । उकालो हिँड्न कठिन भए घोडाको सुविधा छ । एक हजार पाँच सय रुपैयाँ तिरेर घोडाको सवारी रोचक हुन सक्छ । रारा पुगेपछि ‘जो व्यक्ति मुर्माटप पुग्दैन, उसले रारा तालको भ्रमण गरेन’ भन्ने सम्झिँदा हुन्छ । 

मुर्मागाउँ भएर वा होटेलबाट करिब एक सय ५० मिटरको दूरीबाट केही माथि रहेको शिव मन्दिरमा दर्शन गरी उत्तर–पश्चिम तीन हजार चार सय ८० मिटर अग्लो मुर्माटपको पैदल यात्रा रमणीय हुन्छ । मुर्माटपको भ्यू टावरबाट उत्तरतर्फ कान्जिरोवा, पञ्च चुली, अपी, शैपाललगायतका हिमशृंखलाको दृश्यावलोकन अविस्मरणीय हुन्छ । रारातालको पूर्ण तस्बिर, उत्तर–पूर्वतर्फका हिमाल र हरिया डाँडा–पहाडको तालमा परेको प्रतिबिम्ब र मौका परे हिमाल वा डाँडामाथिको बादलका प्रतिबिम्ब तालमा परेको दृश्य क्यामेरामा कैद गर्न नभुल्नुहोला । 

टेन्टको बास,मार्सीको भात
रारामा दुइटा होटेल छन् । तिनको क्षमता भन्डै तीन सय पाहुनालाई गाँस–बास गर्न सक्नेछ । जसका कोठाभित्र एक सय जनालाई पुग्छ भने खुला आकाशमा टेन्टभित्र सुत्ने व्यवस्था पनि हुन्छ । टेन्टमा सुत्ने अवसर नगुमाउनुहोला । दुई हजार नौ सय ८० मिटर उचाइको मौसम, हरियो सुन्दर तालको साइड (लेकसाइडमा) आनन्द बेग्लै हुन्छ । क्याम्प फायरसँगै मार्सीको भात, आलु, कुखुरा, स्याउको रक्सी वा बाहिरबाट झिकाइएको ब्रोइलर कुखुराको मासु, लोकल (जौ–चामलको) रक्सी वा च्यांग्रा, भेडाको मासु र मुगुको राज्मा, सिमीको दाल भात, हरियो अर्गानिक सागसब्जीको स्वाद लिन सक्नुहुन्छ । केहीबेर घोडामा चढेर फोटा खिच्न, निकुञ्ज कार्यालयको भ्यु टावर, नेपाली सेनाको क्यानटिनको सस्तो तर मीठो चिया–चमेना खान नभुल्नुहोला । 

कुनै पनि यात्रा दोहोरिन सक्छ वा सक्दैन, यकिन हुन्न । त्यसैले रारा यात्रा गर्दा मज्जा लिँदै गाउँबस्ती, डाँडाकाँडा, हिमशृंखला तथा खानपान, अवलोकन गर्न हेलचेक्र्याइँ गर्नु भनेको भ्रमण, अवलोकनलाई अधुरो राख्नु हो । ६० देखि आठ हजार आठ सय ४८ मिटर उचाइसम्मका थरीथरी भौगोलिक विविधता, रहनसहन, वेशभूषा, खानपिन तथा समाजिक विविधताको आनन्द लिन यात्रा गर्नैपर्छ । त्यसका लागि रारा छुटाउनै नहुने प्रमुख गन्तव्य हो ।