मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर २१ शनिबार ०८:५८:००
Read Time : > 3 मिनेट
अर्थ

ग्लोबल आइएमई बन्यो देशकै ठूलो बैंक

Read Time : > 3 मिनेट
२०७६ मङ्सिर २१ शनिबार ०८:५८:००

चुक्ता पुँजी १९ अर्ब र प्राथमिक पुँजी २४ अर्ब, मर्जर समझदारीको पाँच महिनापछि एकीकृत कारोबार

जनता बैंकसँग मर्जरपछि ग्लोबल आइएमई बैंक चुक्ता पुँजीका हिसाबले देशकै सबैभन्दा ठूलो बैंक बनेको छ । दुई बैंकको एकीकृत कारोबारको शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरे । मर्जरपछि ग्लोबल आइएमईको चुक्ता पुँजी करिब १९ अर्ब पुगेको छ भने रिर्जभसहितको प्राथमिक पुँजी २४ अर्ब रुपैयाँभन्दा बढी भएको छ । यसअघि नै ग्लोबल आइएमई १० वटा र जनता ८ वटा वित्तीय संस्था मिलेर बनेकाले नयाँ बनेको बैंकमा १८ वटा संस्था समाहित भएको अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । ‘मर्जरले बैंकको व्यावसायिक क्रियाकलापमा मात्रै होइन, मुलुकको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने विश्वास लिइएको छ,’ अध्यक्ष ढकालले भने । 

दुई बैंकबीच गत २० असारमा मर्जरसम्बन्धी सहमतिपत्रमा हस्तक्षर भएको थियो । त्यसको पाँच महिनापछि उनीहरूले एकीकृत कारोबार थालेका हुन् । मर्जरपछि बैंकको नाम ‘ग्लोबल आइएमई’ राख्ने र सात सञ्चालकमध्ये दुईजना जनताबाट हुने भन्ने सहमति त्यही वेला भएको थियो । त्यस्तै, त्यही वेला भएको सहमतिअनुसार ग्लोबल आइएमईका चन्द्र ढकाल अध्यक्ष र जनता बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) परशुराम कुँवर क्षत्री नयाँ बैंकको सिइओ बनेका छन् । ग्लोबल आइएमईको १ सय सेयरबराबर जनताको ८५ वटा हुने गरी स्वाप रेसियो तय गरिएको थियो ।

ग्लोबल आइएमई बैंक १३ वर्षअघि र जनता बैंक १० वर्षअघि सञ्चालनमा आएका थिए । मर्जरबाट प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि हुने, बैंकको वित्तीय, मानव संसाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहकलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सुविधा प्रदान गर्न सहज हुने अध्यक्ष ढकालले बताए । 

ग्लोबल आइएमई–जनता मर्जर : अंकमा 

  •     बैंकको चुक्ता पुँजी करिब १९ अर्ब  
  •     कुल निक्षेप २ खर्ब १३ अर्ब र कुल कर्जा १ खर्ब ९४ अर्ब
  •     देशका ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा ३ सयभन्दा बढी शाखा सञ्जाल 
  •     कर्मचारी संख्या ३ हजार २ सय ५० 
  •     २५९ एटिएम, २४३ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर एवं ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित ८४० आउटलेट 
  •     ग्राहक संख्या करिब २० लाख 

दिगो आर्थिक वृद्धिको सरकारी लक्ष्यलाई सघाउ पुग्छ 

डा. युवराज खतिवडा 
अर्थमन्त्री 

निक्षेपकर्ताको विश्वास जित्ने एउटा आधार ठूलो कारोबार हो । त्यस्तै, बैंकको भवन ठूलो हुँदा पनि निक्षेपकर्ताले त्यसप्रति भरोसा गर्छन् । ठूलो बैंकका केही लाभहरू छन् । हाम्रो मुलुकमा ठूलो लगानीको आवश्यकता छ । ठूला पूर्वाधार आयोजनालाई लगानी गर्न यो बैंक सफल हुने विश्वास छ । व्यापार र आयातमा मात्रै ऋण दिएर बैंकहरूले पैसा कमाउने दिन गए । अर्थतन्त्रको संरचना परिवर्तन हुँदा त्यसले अल्पकालीन र दीर्घकालीन लगानी माग गरेको छ । पहिला १० वटा बैंक मिलेर कन्सोर्टियममा जाँदा ५ अर्ब रुपैयाँ जम्मा गर्न कठिन थियो । अब १०–१२ अर्बका आयोजनामा एउटै बैंकले लगानी गर्न सक्ने स्थिति सिर्जना भएको छ । यसरी ठूलो पुँजी भएका बैंक हुँदा दिगो रूपमा उच्च आर्थिक वृद्धि हासिल गर्नका लागि ठूला परियोजनामा लगानी गर्नुपर्ने राष्ट्रिय आवश्यकतालाई पूरा गर्छ । बैंकको वासलातको आकार बढेपछि विदेशी पुँजी परिचालन गर्ने क्षमता पनि वृद्धि हुन्छ, जसले दीर्घकालीन लगानीको आधार तयार गर्छ । 

ग्लोबल आइएमई १३ वर्षअघि र जनता बैंक १० वर्षअघि सञ्चालनमा आएका थिए । मर्जरपछि प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि हुने, बैंकको वित्तीय, मानव संसाधनका साथै प्राविधिक क्षमताको अभिवृद्धि भई ग्राहकलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सुविधा प्रदान गर्न सहज हुने अध्यक्ष ढकालको भनाइ ।

ऋणको ब्याजदर कम गर्नलाई निक्षेपको ब्याजदर कम हुनुपर्छ, त्यस्तै सञ्चालन कुशलता आवश्यक पर्छ अर्थात् सञ्चालन खर्च कम गर्नुपर्छ । बैंक मर्जर गरेर ठूलो बनाएपछि इकोनमी अफ स्केल मात्रै बढ्दैन, सञ्चालन खर्च पनि घट्छ । दुई कार्यालय, दुई सञ्चालक समिति, धेरै शाखालगायत विषय घट्छन् । यसरी घटेको सञ्चालन खर्च कर्जाको ब्याज कम गर्न सहयोगी हुन्छ । त्यसैले मर्जरको लाभ व्यावसायिक जगत्ले पनि प्राप्त गर्छ । 

तर, धेरै ठूलो आकार भएपछि भद्दा हुने जोखिम पनि हुन्छ, स्मार्टनेस घट्न पनि सक्छ । त्यसमा सचेत बन्नुपर्छ । मर्जरपछि बैंकमा पुँजी एकीकृत हुन्छ, ठूला व्यवसाय मात्रै हेर्छन्, गाउँ–गाउँमा साना व्यवसायीलाई लगानी गर्दैनन् भन्ने आशंका पनि थियो । तर, केन्द्रीय बैंकले मर्जरपछि सेवा संकुचन गर्न नपाइने नियम बनाएको छ, जसले गर्दा त्यो जोखिम टरेको छ । मर्जरको नीति आइसकेपछि बैंकहरूको शाखा संख्या दोब्बरले बढेको छ । ठूला व्यवसायीले मात्रै ऋण पाउने हुन् कि भन्ने आशंका निवारण गर्न सबै बैंकहरूलाई साना तथा मझौला व्यवसाय डेस्क राखेर काम गर्न अनिवार्य गरिएको छ । त्यसो हुँदा मर्जर सँगसँगै साना व्यवसायमा बैंकको कर्जा उल्लेख्य बढेको छ ।

नाफा मात्रै बढाउन सिइओलाई दबाब दिनुभएन 

डा. चिरञ्जीवी नेपाल 
गभर्नर, नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले लिएको मर्जरको नीतिलाई यस बैंकले साथ दिएको छ । अन्य बैंकलाई यो एउटा सन्देश हो– मर्जरमा जान । मर्जरको नीतिलाई राष्ट्र बैंकले निरन्तर अघि बढाइरहन्छ । त्यसो हुँदा अन्य ठूला बैंकलाई पनि मर्जरमा जान उत्साहित हुनुहोस् भन्न चाहन्छु । 

बैंकहरूले प्रविधिमा कम लगानी गरेका छन् । त्यो बढाउनुपर्‍यो । चेकबुक कसलाई दिनुपर्छ भन्ने पनि थाहा नपाउने कर्मचारी बैंकले राखेका छन्, यो लाजमर्दो अवस्था हो । जनशक्तिको क्षमतामा लगानी नगर्दा वित्तीय अपराधमा मुछिने गरेका छौँ । त्यसो हुँदा कर्मचारीको क्षमता विकासमा लगानी गर्नुपर्छ । 

नेपालमा वित्तीय पहुँच बढिरहेको छ । बैंक तथा वित्तीय संस्थामा ६१ प्रतिशत जनताको खाता छ । लघुवित्त र सहकारीको पहुँचमा रहेका जनतालाई पनि हेर्ने हो भने वित्तीय पहुँच ८० प्रतिशतभन्दा माथि पुगिसकेको छ । देश वित्तीय स्थायित्वतिर अघि बढिरहेको छ । लगानीको स्रोत बैंकिङ प्रणालीबाट जुटिरहेको छ । अहिले पैसाको माग उच्च छ, त्यसो हुँदा ब्याजदर तलमाथि हुनु स्वाभाविक नै हो । एउटै व्यक्ति व्यवसाय पनि गर्ने, बैंक पनि चलाउने गर्नुहुन्छ । अनि ब्याजदर बढी भयो पनि भन्नुहुन्छ । त्यो समस्या त तपाईं आफैँले समाधान गर्न सक्ने हो नि ! राष्ट्र बैंक त्यसमा संलग्न हुनुपर्दैन । बैंकको सुशासन र व्यवस्थापकीय क्षमता बढाउनुपर्छ । बोर्डले सिइओलाई ‘यति नै नाफा कमाउनुपर्छ’ भनेर दबाब दिनुभएन । सिइओहरूले पनि राष्ट्र बैंकको नियम मानेर अघि बढे भने वित्तीय प्रणाली सहज रूपमा अघि बढ्छ ।