मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर २१ शनिबार ०८:०८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

नयाँ पत्रिका समाचार प्रभाव : वीरको सय बेडको भवन प्रयोगविहीन भएकोमा स्वास्थ्यमन्त्रीको चासो

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २१ शनिबार ०८:०८:००

न्याम्सका पदाधिकारीलाई बोलाएर भने–मन्त्रालयले सहयोग गर्छ, भवन चलाउनुस्

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले वीर अस्पतालको अलपत्र सय बेडको भवन सञ्चालनमा ल्याउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई निर्देशन दिएका छन् । जापानले बनाइदिएको सय बेडको भवन वीरले प्रयोग नगरेको समाचार नयाँ पत्रिकामा छापिएपछि मन्त्री ढकालले न्याम्सका पदाधिकारीलाई मन्त्रालयमै बोलाएर निर्देशन दिएका हुन् ।

न्याम्स र मन्त्रालयका पदाधिकारीलाई मन्त्री ढकालले वीरको भवन सञ्चालन नहुनुको कारण सोधेका थिए । न्याम्सका पदाधिकारीले आर्थिकलगायत समस्यका कारण मेसिन किन्न नसकेको बताएका थिए । छलफलपछि मन्त्रीले आवश्यक सहयोग मन्त्रालयले गर्ने वचन दिँदै भवन सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । 

‘वीरको भवन अलपत्र परेको समाचार हेरेपछि तत्काल मन्त्रालय र न्याम्सका पदाधिकारी बोलाएर छलफल गरेँ । सञ्चालन किन ढिला भयो भनेर जिज्ञासा राखेँ, उहाँहरूको कुरा सुनेँ,’ मन्त्री ढकालले नयाँ पत्रिकासँग भने, ‘अस्पताल चल्नुपर्छ, जनताले सेवा पाउनुपर्छ । मन्त्रालयबाट गर्नुपर्ने सहयोग गर्छौँ भनेको छु ।’ 
न्याम्सका एक पदाधिकारीले पनि मन्त्रीले भवन सञ्चालनमा सहयोग गर्ने वचन दिएको बताए । ‘उहाँले भवन चलाउनु, मन्त्रालयले सहयोग गर्छ भन्नुभएको छ,’ ती

पदाधिकारीले भने । मन्त्रीले न्याम्सका उपकुलपति प्रा.डा. डिएन शाह, वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी, मन्त्रालयका सचिव खगराज बराल, गुणस्तर तथा नियमन महाशाखा प्रमुख डा. दीपेन्द्ररमण सिंहलगायतसँग छलफल गरेका हुन् । 

देशकै जेठो अस्पताल वीरका लागि जापानी सहयोग नियोग (जाइका)ले ८८ करोड लागतमा ३० बेडको आइसियूसहितको तीनतले भवन बनाएर हस्तान्तरण गरेको पाँच महिना भइसकेको छ । मुटु, मिर्गौला र ग्यास्ट्रोको सेवा उपलब्ध गराउने गरी भवन बनाइएको छ । अपांगमैत्री र शौचालयको विशेष सुविधा भएका कक्षहरू छन् । तर, बनेको भवन अलपत्र हुँदा वीर अस्पताल आउने कम्तीमा १० बिरामी हरेक दिन निजी अस्पतालको आइसियूमा रेफर हुने गरेका छन् । 

भवन सञ्चालनमा नआएपछि जाइकाले ताकेता गर्दै आएको छ । सरकारबाट सहमति गरेर आए आवश्यक मेसिनसमेत खरिद गरिदिने भन्दै दबाब दिइरहेको न्याम्सका पदाधिकारीले बताएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता मेहन्द्रप्रसाद श्रेष्ठले पनि जाइकाबाट दबाब आइरहेको बताए । जाइकाले भवन बनाइदिने र नेपाल सरकारले उपकरण किन्ने गरी सम्झौता भएको थियो । तर, सरकारले उपकरण व्यवस्थान गर्दा भवन अलपत्र परेको हो ।

जापानले बनाइदिएको सय बेडको भवन वीरले प्रयोग गरेन, बिरामी निजी अस्पताल जान बाध्य