मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका बाग्लुङ
२०७६ मङ्सिर २० शुक्रबार ०९:५३:००
Read Time : < 1 मिनेट
प्रदेश

नौ उम्मेदवारको जमानत जफत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका बाग्लुङ
२०७६ मङ्सिर २० शुक्रबार ०९:५३:००

१४ मंसिरमा सम्पन्न बाग्लुङ–२ (ख) र बडीगाड गाउँपालिकाको वडा नम्बर २ को अध्यक्षको उपनिर्वाचनमा नौ उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ । प्रदेश सभातर्फ विजयी उम्मेदवार राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही र कांग्रेसका उम्मेदवार जितबहादुर शेरचनबाहेक अन्य आठ उम्मेदवारको जमानत जफत भएको हो ।

प्रदेश सभा सदस्यका लागि यस क्षेत्रमा ८ राजनीतिक दल र दुई स्वतन्त्रसहित १० जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये राजमोका शाही र कांग्रेसका शेरचनको मात्र धरौटी फिर्ता हुने भएको छ । निर्वाचन ऐनअनुसार अन्य उम्मेदवारले कुल खसेको मतको १० प्रतिशत ल्याउन नसकेपछि धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेश सभा उपनिर्वाचन २१ हजार ३ सय ९६ मत खसेको थियो ।  जमानत जोगाउनका लागि कम्तीमा दुई हजार ९८ मत मत चाहिने थियो । राष्ट्रिय दलको मान्यता प्राप्त समाजवादी पार्टीका उम्मेदवार अशोककुमार विश्वकर्माले समेत धरौटी फिर्ता गर्न सकेनन् । विश्वकर्माले जम्मा ३ सय १६ मत प्राप्त गरेका थिए ।

उपनिर्वाचनमा सहभागी राजनीतिक दलका ५ उम्मेदवार र दुई स्वतन्त्रले जम्मा एक सय पनि मत ल्याएका छैनन् । स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले ९५, मंगोल नेसनल अर्गनाइजेसनका मित्रबहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ३७, संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्चका अनिल कुमार राईले ८, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३ र राप्रपाका गणेशबहादुर कुँवरले ३६ मत प्राप्त गरेका थिए । 

बडीगाड गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा विजयी उम्मेदवार नेकपाका ढालेन्द्रप्रसाद शेरचन र कांग्रेसका उम्मेदवार डिलबहादुर रानाले मात्रै  जमानत जोगाएका छन् । समाजवादी पार्टीका उम्मेदवार हरिलाल रानाले जमानत जोगाउन सकेनन् । रानाले जम्मा ६ मत ल्याएका थिए ।