मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कुलदीप तलवार
२०७६ मङ्सिर २० शुक्रबार ०७:४८:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

अफगान शान्तिवार्ता, पाकिस्तानको भरोसामा ट्रम्प

Read Time : > 1 मिनेट
कुलदीप तलवार
२०७६ मङ्सिर २० शुक्रबार ०७:४८:००

पाकिस्तानले सहयोग गर्ने भ्रमबाट बाहिर निस्केर ट्रम्पले उसको सहयोगबिनै तालिबान र अफगान सरकारसँग सीधा वार्ता गर्नुपर्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अघिल्लो महिना अचानक अफगानिस्तान पुगे, उनले सेप्टेम्बरमा तालिबानको हातबाट एक अमेरिकी सैनिक मारिएपछि रद्द भएको शान्तिवार्ता पुनः सुरु गर्ने घोषणा पनि गरे । ट्रम्पको बयानको एक दिनपछि तालिबानले यसबारे अहिल्यै बोल्नु हतारो हुने टिप्पणी ग¥यो । ट्रम्पको यो भ्रमण वासिंटन र काबुलबीच कैदीहरूको आदान–प्रदानपछि भएको छ र यसले तालिबानसँगको शान्ति–सम्झौताको आशा बढाएको छ । 

तालिबानले अगस्ट २०१६ मा काबुल विश्वविद्यालयका एक अष्ट्रेलियाली  मूलका अमेरिकी प्रोफेसरलाई अपहरण गरेको थियो । हाल उनी रिहा भइसकेका छन् । यस रिहाइको बदलामा अफगान सरकारले तालिबानसँग जोडिएको हक्कानी नेटवर्कका तीन खुंखार आतंकवादीलाई छाडिदिएको थियो । 

आमबुझाइ यो छ कि आदान–प्रदानको यो सहमति तालिबान र अमेरिकाबीच सीधा तय भएको थियो, यसमा पाकिस्तानको कुनै भूमिका थिएन । ट्रम्पलाई सायद अझै पनि आशा छ कि पाकिस्तानले शान्ति–सम्झौता गराउन ठूलो भूमिका खेल्नेछ । जब कि अफगान सरकारका राष्ट्रिय सुरक्षा प्रमुखले यो भनिसकेका छन् कि शान्तिवार्ताको नतिजा तबसम्म बाहिर आउनेछैन, जबसम्म पाकिस्तानले आफ्नो हस्तक्षेप रोक्दैन ।

अमेरिकी संसद्को स्वतन्त्र र द्विदलीय कंग्रेसनल रिसर्च सर्भिस (सिआरएस) को रिपोर्टअनुसार अफगानिस्तानमा भारतको सामरिक, कूटनीतिक र व्यापारिक उपस्थितिबाट पाक भयभीत छ । ऊ काबुलमा एक कमजोर सरकार चाहन्छ र त्यहाँबाट भारतको प्रभाव पनि कम गर्न चाहन्छ । जब कि अफगानिस्तानमा भारतले गरेको कामको अमेरिकाले तारिफ गरिरहेको छ । 

पाकिस्तानबाट धेरैपटक धोका पाए पनि ट्रम्पले अझै यो आशा पालेका छन् कि पाकिस्तानले अमेरिका र तालिबानबीचको शान्तिवार्तामा सकारात्मक भूमिका निभाउँछ

अफगानिस्तानको आन्तरिक मामिलामा सधैँ हस्तक्षेप गरेका कारण पाकिस्तानसँगको उसको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । परिणाम, सीमापारिबाट छोटा हतियारको फायरिङदेखि ठूला हतियार र रकेटबाट समेत एक–अर्काका चौकीमा हमला गर्ने काम भइसकेको छ । यस्तोमा पाकिस्तानले अफगानिस्तानसँगको आफ्नो सीमा बन्द गर्ने गर्छ । 
पाकिस्तानबाट दैनिक रोजिरोटीका सामान आपूर्ति बन्द भएपछि आमअफगानीले जीवनमा कठिनाइ सामना गर्नुपर्छ, यसकारण पनि अफगानी जनतामा पाकिस्तानप्रति रोषपूर्ण भावना छ । 

खास मसला त साझा सीमाको छ, जसलाई डुरन्ड लाइन भनिन्छ । पाकिस्तानले डुरन्ड लाइनलाई साझा सीमा मान्छ, तर अफगानिस्तान यसलाई स्वीकार गर्दैन । यस्तो अवस्थामा पाकिस्तान पहिलेजसरी अफगानिस्तानमा एक यस्तो सरकार चाहन्छ, जसलाई उसले औँलामा नचाउन सकोस् । 

पछिल्ला दुई–तीन महिनामा तालिबान र दोस्रो आतंकवादी समूहले अफगानिस्तान र उसको सीमावर्ती क्षेत्रमा आफ्नो विध्वंसक कारबाही तीव्र गरेको छ । अफगानिस्तानमा अमेरिकी सेनाको लामो अभियानका बाबजुद यहाँको आतंकवादको जडलाई कमजोर गर्न सकिएको छैन । हिंसाका दौरान अफगानिस्तानमा राष्ट्रपतिका लागि भएको चुनावको समय मतदानका लागि निकै कम मानिस घरबाहिर निस्किएका थिए । 

पाकिस्तानबाट धेरैपटक धोका पाए पनि ट्रम्पले अझै यो आशा पालेका छन् कि पाकिस्तानले अमेरिका र तालिबानबीचको शान्तिवार्तामा सकारात्मक भूमिका निभाउँछ । यस्तो भ्रमबाट ट्रम्पबाहिर निस्कनुपर्छ र पाकिस्तानको तथाकथित सहयोगबिनै तालिबान र अफगान सरकारसँग सीधा वार्ता गर्नुपर्छ । तब मात्रै अफगानिस्तानमा शान्ति बहालीको ठोस समाधान निस्कन सक्छ । 
(तलवार वरिष्ठ पत्रकार हुन्)अमर उजाला डटकमबाट