मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २० शुक्रबार ०७:५८:००
Read Time : > 1 मिनेट
सम्पादकीय

सहरलाई हरियो बनाऊँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २० शुक्रबार ०७:५८:००

काठमाडाैं उपत्यकामा रिङरोड विस्तारको पहिलो चरणमा कलंकी–कोटेश्वर क्षेत्रमा रहेका रूख काटिए । तिनको विकल्पमा अन्य रूख रोपेर सहरलाई हरियो बनाउने योजना भने अझै देखिन्न । यसैको दोस्रो खण्डका रूपमा अब कलंकी–चाबहिल खण्डको विस्तार हुँदै छ । त्यसको पहिलो मारमा परेका छन्, त्यहाँ हुर्केका रूखहरू । धमाधम काटिँदै गरेका रूखले यसअघिसम्म काठमाडौंको वातावरणीय प्रदूषण कम गराउन खेलेको भूमिका अब विकल्पहीन ढंगले खोसिएको छ । यो सहरीकरणले हाम्रा भौतिक आवश्यकता बढ्दै जाँदा भएका वातावरणीय विनाशको एउटा नमुना मात्र हो ।

बढ्दो सहरीकरण र त्यसको उचित व्यवस्थापनको अभावमा काठमाडौं उपत्यकाभित्रको भित्री बस्ती र धेरै हदसम्म विस्तार हुँदै गएका चक्रपथबाहिरको बस्तीमा पनि कृषि अर्थतन्त्रलाई सहयोग गर्दै आएका रूखबिरुवा मासिँदै छन् । घाँसका बोट, बाँसघारी, खोल्सा–खोला किनारमा रहेका उत्तिस घारी सबै मासिँदै गएका छन् । जंगल र ठूला रूखको स्थानमा गमला या बगैंचामा लगाइने साना बिरुवा हेरेर मानिस हरियालीको भोक मेटाउँदै छन् ।

बागमती नदी सभ्यतालाई नै संकटमा पार्ने गरी खोलाखोल्सा मृत नदीमा परिणत भएका छन् । काठमाडौं उपत्यकाबाहिर पनि पोखराजस्ता पुराना सहरले सडक र बस्ती विस्तारसँगै हरियालीसँग बिदा लिइरहेका छन् । कतिपय पुराना पोखरी र वरपीपलका चौतारी मासिएपछि हाम्रा परम्परा र पुर्खाले पुस्तान्तरण गरेका सम्पदा मासिएका छन् । यो हाम्रो सहरको जीवनलाई स्वस्थकर राख्ने विषयका लागि आपत्तिजनक रूपमा खतराको संकेत हो ।

काठमाडौं उपत्यका यसको भौतिक पूर्वाधार क्षमताभन्दा बढी मानिसको बस्ती विस्तारले चेपिँदै गएको छ । निर्माणका क्रममा निस्कने धुलो, इँटाभट्टाको धुवाँ, सवारी प्रदूषण र खासगरी सडकमा निस्कने धुलोका कारण मानव स्वास्थ्यका लागि जोखिमयुक्त बन्दै गएको छ । विश्वका खराब प्रदूषित सहरमध्ये काठमाडौं सातौँ नम्बरमा आउँछ । यसले मानव स्वास्थ्यमा पारेको असर र त्यसबाट परिवार, समाज र देशले व्यहोर्नुपरेको आर्थिक सामाजिक मूल्य निकै धेरै छ ।

देशभर रूख रोप्छौँ भनेर साढे दुई करोड रूख रोप्ने दायित्व बोकेका संस्था आआफ्नो जिम्मेवारीबाट भागेका छन् र सरकार लाचार भएको छ

स्वस्थ नागरिकले नै परिवार, समाज र देशका लागि काम गरी सक्रिय जीवन बिताउन सक्छ । त्यसका लागि कमसेकम हाम्रा बालबालिका हुर्कने वातावरण अनुकूल चाहिन्छ । तर, अहिलेको दरमा हरियाली हराउँदै जाने हो भने आजका सक्रिय नागरिकले मात्र होइन, भोलिका नागरिक पनि अस्वस्थ बन्न बाध्य हुनेछन् । यसबाट बच्ने उपायमध्ये एउटाचाहिँ सहरको हरियालीकरण नै हो । यसका लागि हामीसँग उपलब्ध ठाउँ भनेको पनि सडकको किनार र खोलाकिनारको जमिन नै हो ।

सार्वजनिक स्थलका रूपमा रहेका चौरजस्ता क्षेत्र पनि हुन् । तर, एकातिर खोलालाई साँघुरो ह्युम पाइपभित्र अटाउन बाध्य पार्दै किनारको जमिन अतिक्रमण भएको छ भने अर्कातिर सडकछेउछाउ रूख रोप्न पुग्ने स्थान नै बाँकी छैन । चक्रपथ विस्तार गर्र्दा पुराना रूख काट्नै परेको भए पनि छेउमा रूख रोप्ने ठाउँ खाली राखेर त्यसको क्षतिपूर्ति गर्न सम्भव थियो ।

तर, यसतिर पटक्कै ध्यान नदिई बनाइएको डिजाइनले त्यो क्षेत्र पनि रूखबिरुवाविहीन हुने भएको छ । यस्तो अवस्थाबाट मुक्त हुन जति रूख काटिन्छन्, त्यति रोप्ने सर्त पालना गर्न बाध्य बनाउनु जरुरी छ । तर, देशभर रूख रोप्छौँ भनेर साढे दुई करोड रूख रोप्ने दायित्व बोकेका संस्था आआफ्नो जिम्मेवारीबाट भागेका छन् र सरकार लाचार भएको छ । आफ्नै हत्या गर्ने रोग निम्त्याउने यस प्रकारका क्रियाकलापमा रोक लगाऊँ । हरेक ठाउँलाई हरियो बनाऊँ ।