मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ मङ्सिर २० शुक्रबार ०६:१३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

एमबिबिएस परीक्षा बहिष्कार : प्रिन्सिपल र सिइओका छोराछोरीसहित  गण्डकीमा पाँच विद्यार्थीले मात्रै दिए परीक्षा

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २० शुक्रबार ०६:१३:००

सरकारले मेडिकल कलेज सञ्चालकसँग गरेको सहमतिले थप अन्याय भएको भन्दै आन्दोलनरत चिकित्सा शिक्षाका विद्यार्थीले एमबिबिएस पहिलो वर्षको वार्षिक परीक्षा बहिष्कार गरेका छन् । चितवन, युनिभर्सल, नेसनल, जानकी र पोखरा मेडिकल कलेजका विद्यार्थीले बिहीबारदेखि सुरु परीक्षा बहिष्कार गरेका हुन् । 

प्रवेशपत्र जलाउँदै चितवन मेडिकल कलेजका विद्यार्थी 

चितवन, युनिभर्सल, नेसनल तथा जानकीका पहिलो र दोस्रो वर्षका विद्यार्थीले परीक्षा बहिष्कार गर्ने घोषणा बुधबार नै गरेका थिए । चितवनका विद्यार्थीले प्रवेशपत्रसमेत जलाएका थिए । उनीहरू बिहीबार परीक्षामा सहभागी नै भएनन् । गण्डकी मेडिकल कलेजका विद्यार्थी भने परीक्षा हलमा छिरेर प्रश्नपत्र च्यात्दै बाहिरिए । त्यहाँ कलेज प्रिन्सिपल र सिइओका छोराछोरीसहित पाँचजनाले मात्रै परीक्षा दिएको चिकित्सा शिक्षा संघर्ष समितिले जनाएको छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) परीक्षा शाखाका प्रमुख राजु बुढाथोकीले भने अज्ञात समूह प्रवेश गरेर प्रश्नपत्र च्यातेको दाबी गरेका छन् ।

चार मेडिकल कलेजमा बिडिएस र नर्सिङलगायत विद्यार्थीले पनि बुधबारको परीक्षा बहिष्कार गरेका थिए । चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक डा. मिलन गैरेले सरकारले माग पूरा नगरेसम्म विद्यार्थीले आन्दोलन नछाड्ने बताए । 

१० मंसिरमा सरकार र कलेज सञ्चालकले शैक्षिक सत्र ०७४/७५ र ०७५/७६ मा भर्ना भएका विद्यार्थीको शुल्क मात्रै फिर्ता गर्ने निर्णय गरेका थिए । ०७२/७३ र ०७३/७४ मा भर्ना भएका विद्यार्थीको हकमा विश्वविद्यालयको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन आयोगसमक्ष अनुरोध गर्ने निर्णय गरेका थिए । यसले ०७४/७५ अघिका विद्यार्थीबाट बढी शुल्क लिएका र फिर्ताको मानसिकता बनाइसकेका कलेजलाई राहत दिलाएको र आफूहरूलाई अन्यायमा पारेको विद्यार्थीको भनाइ छ । ०७२/७३ देखि ठगिएका सबै विद्यार्थीको शुल्क फिर्ता गर्नुपर्ने माग विद्यार्थीको छ । 

यसैबीच, चिकित्सा शिक्षा आयोगले ०७२/७३ र ०७३/७४ मा भर्ना भएका विद्यार्थीको शुल्कबारे निर्णय गर्न कार्यदल गठन गरेको छ । आयोगले योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशक डा. रमेशप्रसाद आचार्यको संयोजकत्वमा बिहीबार पाँच सदस्यीय कार्यदल गठन गरेको जनाएको छ ।