मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
पार्वती मृत भेटिएको छाउगोठ ।
२०७६ मङ्सिर १९ बिहीबार १७:५०:००
Read Time : < 1 मिनेट
समाचार

छाउगोठमा महिला मृत्यु घटना : अनुसन्धानका लागि जेठाजु पक्राउ

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १९ बिहीबार १७:५०:००

अछामको साँफेबगरमा छाउगोठमा मृत भेटिएकी पार्वती बुढारावतका जेठाजु छत्र राउतलाई बिहीबार प्रहरीले प्रक्राउ गरेको छ । 

साँफेबगर नगरपालिका ३ की २१ वर्षीया पार्वतीको गत सोमबार छाउगोठमा मृत्यु भएको थियो । घर परिवारका सदस्यले छाउगोठमा बस्न बाध्य बनाएको हुनसक्ने आशंकामा पार्वतीका जेठाजु रावतलाई पक्राउ गरिएको अछामका डीएसपी जनकबहादुर शाहीले बताए । 

पार्वतीका श्रीमान र सासु-ससुरा कामको सिलसिलामा भारतमा रहेकाले अभिभावकका रुपमा रहेका जेठाजुलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो । 

शाहीले छाउगोठमा मृत्यु भएको घटनामा पहिलो पटक परिवारका सदस्यलाई पक्राउगरी अनुसन्धान थालिएको बताए । ‘यस प्रकारको मुद्दामा पहिलो पटक हात हालेका छौ,’ उनले भने, ‘परिवारका सदस्यको कुनै दोष प्रमाणित भए कानुनबमोजिम कारबाही अघि बढ्छ ।’ 

मुलुकी अपराध संहिताको दफा १६८ को उपदफा ३ मा महिलाको रजश्वला भएको वा सुत्केरीको अवस्थामा छाउगोठमा राख्न वा कुनै किसिमका भेदभाव, छुवाछुत र अमानवीय व्यवहार गर्न गराउन नहुने उल्लेख छ ।
सो दफा अनुसार छाउ गोठमा बस्नु पनि दण्डनीय हो । छाउगोठमा बस्ने वा बस्न लगाउने अर्थात कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद र ३ हजारसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । 

शाहीले देवी देउताको डर देखाएर छाउगोठमा बस्न बाध्य पारेको हुन सक्ने बताए ।