मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
सुनीलकुमार पौड्याल
२०७६ मङ्सिर १९ बिहीबार ०९:१६:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

भारतीय बुद्धिजीवीले बुझ्न बाँकी छ

Read Time : > 3 मिनेट
सुनीलकुमार पौड्याल
२०७६ मङ्सिर १९ बिहीबार ०९:१६:००

प्राकृतिक विपत् र आन्तरिक राजनीतिक प्रदर्शनले मात्र होइन, भारतकोे वक्रदृष्टिका कारण पनि नेपालीले पीडा भोग्नुपरेको छ

‘दी इन्डियन एक्सप्रेस’बाट साभार ‘नेपालको मूर्खता महँगो पर्न सक्छ’ शीर्षकको भारतका पूर्वविदेश सचिव एवं नेपालका लागि पूर्वराजदूत श्याम शरणको लेख १२ मंसिर २०७६ को नयाँ पत्रिकामा प्रकाशित भएको छ । उक्त लेखमा शरणले प्रयोग गरेका कतिपय शब्दावली एउटा कूटनीतिज्ञका लागि नसुहाउने खालका छन् । लेखको सुरुवाततिरै ‘नेपाली पक्षको भौगोलिक राष्ट्रवाद र भारतीय पक्षको राज्य सुरक्षाको भावनाका कारण ...’ भन्ने हरफले नेपालीलाई होच्याउने काम गरेको छ । वास्तवमा नेपालको पनि भौगोलिक राष्ट्रवाद होइन, सुरक्षाको चिन्ता नै हो । उनलाई थाहा छ कि छैन हाम्रो सीमास्तम्भ भारतीय पक्षले कति ठाउँमा उखेलिदिएको छ र सीमास्तम्भ रहेकै कतिपय ठाउँमा भारतीय पक्षले बस्ती बसालेको छ । उनीजस्तो कूटनीतिज्ञलाई यो थाहा छैन भनेर उनको ज्ञानको अवमूल्यन गर्न सकिँदैन, उनले बुझ पचाएका वा पूर्वाग्रह राखेका हुन सक्छन् । 

लेखमा उनले भनेका छन्, ‘काठमाडौं उपत्यकामा भारत विरोधी भावना भड्काउन सजिलो छ । जुन नेपाली राजनीतिको रोटी सेक्ने भाँडो र घरेलु एवं विदेशी नीतिको अस्त्र बनिसकेको छ ।’ उनलाई ज्ञात हुनुपर्ने हो– हावा नचली पात हल्लिँदैन । अनेक घटनाले साबित गर्छन् कि नेपाली भूमिमा पटक–पटक भारतसिर्जित आँधी चलेको छ । अन्तर्राष्ट्रिय मान्यता, संयुक्त राष्ट्रसंघका महासन्धि आदिको ठाडै उल्लंघन गरेर अहिलेसम्म भारतीय सरकारले कतिपल्ट सीमामा नाकाबन्दी गरेको छ ? त्यति मात्र होइन, नेपालले आफ्ना नागरिकलाई दिने नागरिकताका सम्बन्धमा भारतको सरकारले गरेको बखेडा पनि उनले बिर्सन हुँदैनथ्यो । कुनै पनि देशले आफ्नो देशमा बसेकामध्ये को नागरिक हुन् को होइनन्, को जन्मसिद्ध र को अंगीकृत हुन् भन्ने निक्र्योल संविधान, नियम–कानुनले तय गरेअनुसार गर्छ । त्यहीअनुसार  नागरिकतासम्बन्धी निर्णय हुन्छ । यसमा भारतले वा त्यहाँका कूटनीतिज्ञले खासै राय दिन जरुरी छैन । 

नेपालका नदीको पानी उपयोग गरेर खासगरी उत्तर प्रदेश र बिहारका सुक्खाग्रस्त क्षेत्रलाई हराभरा बनाउन भारतले बाँध बनाएको छ, तर त्यही नेपालको पानी नेपाली भूमिको सिँचाइका लागि सुक्खा याममा उपलब्ध हुन सक्दैन । ती बाँधका कारण नेपालका कतिपय क्षेत्र जलमग्न भएका छन्, ती क्षेत्रमा नेपालीको उठीबास भएको छ । भन्दै जाने हो भने भारतले गरेका यस्ता थिचोमिचो धेरै छन् । त्यसैले भारतविरोधी भावना काठमाडौं उपत्यकामा मात्र होइन, देशभरि नै व्याप्त छ । नेपालको विदेशनीतिको चुरो पञ्चशीलको सिद्धान्तप्रति अटल छ । अर्को देशलाई दुःख पीडा दिने नीति वा विनाकारण कुनै राष्ट्रको विरोध गर्ने नीति न पहिला थियो न अहिले छ । श्यामशरणलगायत भारतीय कूटनीतिज्ञले यो बुझ्नु जरुरी छ ।  

शरणको लेखमा भनिएको छ, ‘नेपालमा भारतलाई बदमास र अभिमानी देखाएर आफूलाई राष्ट्रिय हितको कट्टर हिमायतीका रूपमा प्रस्तुत गर्ने मोहबाट कुनै पनि राजनीतिक समूह मुक्त छैन ।’ नेपालको भूमिमाथि भारतको अतिक्रमण भएका कारण खासगरी ठूला राजनीतिक पार्टीको अतिक्रमणविरुद्धको मतैक्यले भारतलाई टाउको दुखेको छ । भारतले बुझ्नुपर्छ, राष्ट्रियताको सवालमा सबै एकजुट हुनु नेपालीका लागि ठूलो उपलब्धि हो । भारतले पनि छिमेकीसँगको उसको सम्बन्धका बारेमा सोच्नुपर्छ । दक्षिण एसियाली कुन मुलुकलाई भारतले त्रसित बनाएको छैन ? कुन मुलुकसँग भारतको सम्बन्ध समस्यारहित छ ? 

नेपालले जलस्रोतमार्फत भारतलाई गरेको सहयोग उसले बिर्सनुहुँदैन । त्यसबाहेक भारतीय भूमिको सुरक्षामा नेपाली गोरखा फौजले खेलेको भूमिका, ब्रिटिस हटाउने अभियानमा नेपाली नेता तथा जनताले त्यस देशको स्वाधीनताका लागि गरेको योगदान पनि भारतले स्मरण गर्नुपर्छ ।  
 

अब जहाँसम्म सुस्ता र कालापानीको सवाल छ, भारतका सरोकारवालाले सुगौली सन्धिका पाना पल्टाएर हेरे हुन्छ । सुगौली सन्धि नमान्ने हो भने हामीले आर्जेको पश्चिम किल्ला काँगडा र पूर्वको टिष्टा फिर्ता गरिदिए हुन्छ । नेपाल–भारत मैत्री सन्धिको पुनरावलोकनको विषय पनि लेखमा समेटिएको रहेछ । नेपालको प्रजातान्त्रिककालको अवधिलाई हेर्ने हो भने सन्धि पुनरावलोकनको विषय नेपालका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले भारतको मैत्रीपूर्ण भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री पिभिनरसिंह रावसँग उठाएका थिए । त्यसैकारण मनमोहनजी नेपाल फर्कनासाथ विना कुनै कारण उनी नेतृत्वको सरकारविरुद्ध भारतको उक्साहटमा अविश्वास प्रस्ताव संसद्मा तेर्सिएको हो । तर, अब नेपालको त्यो स्थिति छैन । संविधान जारी गर्ने वेलामा केही दिन रोक्न दबाब दिन यहाँ आएका भारतीय प्रधानमन्त्रीका विशेष दूत निरास भएर फर्किनुपरेको थियो । यति देखेपछि भारतले बुझ्नुपर्ने हो, नेपाल अब भारतकोे गोटी बन्ने अवस्थामा छैन । 

लेखको अन्त्यतिर सीमामा रहेका नदी साझा भएका र त्यसलाई आधार मानेर सीमा निर्धारण गर्न सकिने विषयमा शरणले दिएका तर्कमा भने सहमत हुन सकिन्छ । वार्ताबाट सीमा तय गर्न सकिन्छ, तर यस सन्दर्भमा पनि ठूलो र शक्तिशाली देश भएका कारण दादागिरी वा हैकम चलाउनुहुन्न भन्ने भारतले बुझ्नैपर्छ । लेखमा उनले हालै सम्पन्न पेट्रोलियम पाइपलाइनका बारेमा पनि लेखेका छन् ।

नेपालमा प्राकृतिक विपत् र राजनीतिक प्रदर्शनका कारण सडक बन्द हुँदा पेट्रोलियम पदार्थको आपूर्ति सुगम, सहज र सुरक्षित हुने उनले बताएका छन् । भारतको सहयोगलाई नेपालले सदैव सराहना गरेको छ । तर, प्राकृतिक विपत् र राजनीतिक प्रदर्शनीका कारण मात्र होइन, भारतीय सरकारको वक्रदृष्टिका कारण पनि हामीले भोग्नुपरेको पीडालाई श्यामशरणहरूले बिर्सनुहुँदैन । त्यसो त नेपालले आफ्नो जलस्रोतमार्फत भारतलाई गरेको सहयोग उसले पनि बिर्सनुहुँदैन । त्यसबाहेक भारतीय भूमिको सुरक्षामा नेपाली गोरखा फौजले खेलेको भूमिका, ब्रिटिस हटाउने अभियानमा नेपाली नेता तथा जनताले त्यस देशको स्वाधिनताका लागि गरेको योगदान भारतले स्मरण गर्नुपर्छ । 

अन्तर्राष्ट्रिय मुद्राकोषको २०१८ को प्रतिवेदनअनुसार आर्थिक रूपमा भारतले नेपालबाट त्यो वर्ष ८ अर्ब डलर नाफा पायो । भारतीय सरकारी ऋणपत्रमा नेपालले राखेको २.५ अर्ब डलर र भारतीय वित्तीय क्षेत्रमा निक्षेपको रूपमा नेपालले राखेको २ अर्ब डलर र नेपालमा रहेका भारतीयले वार्षिक ३ अर्ब डलर भारत पठाउने गरेको (डा. विश्वास गौचन, रातोपाटीडटकम) पाइएको छ । नेपालको यस्तो सहयोगलाई भारतले तिरिनसक्नु गुन मान्नुपर्छ । 

जे होस् नेपाल र भारत शताब्दीऔँदेखिका मित्र हुन् । हाम्रा धर्म, संस्कृति मिल्छन् । जनताबीचको सम्बन्ध अत्यन्तै प्रगाढ छ । यस्ता विषयलाई दुवै पक्षले हृदयदेखि बुझेर मित्रता झन्–झन् कसिलो बनाउँदै लग्नुमा दुवैको हित हुन्छ । मानमर्दन गरेर वा हैकम थोपरेर वा कमजोरलाई दादागिरी गर्दै सताएर मित्रता प्रगाढ हुँदैन ।