मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ मङ्सिर १९ बिहीबार ०८:४९:००
Read Time : < 1 मिनेट
खेलकुद

समग्र साग इतिहासमा नेपालको १००औँ स्वर्ण

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १९ बिहीबार ०८:४९:००

दक्षिण एसियाली खेलकुदमा नेपालले बुधबार १००औँ स्वर्णपदक जितेको छ । सक्षम कार्कीले ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो हलमा गेरुगीतर्फ ८७ केजी तौल समूहमा जितेको स्वर्ण समग्र साग इतिहासमा नेपालको १००औँ स्वर्ण हो । यसअघि भारत, पाकिस्तान र श्रीलंकाले मात्रै सागमा सयभन्दा बढी स्वर्ण जितेका छन् । 

सन् १९८४ मा काठमाडौंमा आयोजित पहिलो साफमा वैकुण्ठ मानन्धरले एथलेटिक्सतर्फ नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए । १३औँ संस्करणसम्म आइपुग्दा नेपालले सर्वाधिक स्वर्ण १९९९ मा हात पारेको थियो । काठमाडौंमै आयोजित यस संस्करणमा नेपालले  ३१ स्वर्ण जितेको थियो । जारी सागमा नेपाल नयाँ इतिहास रच्ने सँघारमा छ, अहिलेसम्म नेपालले २९ स्वर्ण जितिसकेको छ । 

कहिले कति स्वर्ण ?
नेपालले ६४ स्वर्ण घरेलु भूमिमै जितेको छ । घरमा आयोजित तीन संस्करणमध्ये पहिलो साफमा चार, आठौँमा ३१ र जारी प्रतिस्पर्धामा अहिलेसम्म २९ स्वर्ण नेपालको भागमा परेको छ । नेपालबाहिर आयोजित १० संस्करणमा नेपालले जितेको स्वर्णसंख्या ३६ मात्रै छ । सागमा भारतको नाममा सर्वाधिक स्वर्णको कीर्तिमान छ । भारतले २०१६, फेब्रुअरीमा सिलोङ र गुवाहाटीमा भएको १२औँ सागका दौरान एक हजार स्वर्णको कीर्तिमान बनाएको थियो । त्यस संस्करणमा भारतले १८८ स्वर्ण जितेको थियो । 

दक्षिण एसियाली मुलुकमा एकछत्र राज गरेको भारतले १२औँ सागमै हजार स्वर्णको कीर्तिमान पूरा गरेको थियो । घरेलु मैदानमा २०१६ मा १८८ स्वर्ण जितेर भारतले हजार स्वर्णको कीर्तिमान बनाएको थियो । भारत र नेपालबाहेक पाकिस्तान र श्रीलंकाले मात्रै सय स्वर्ण जितेका छन् । भारतले कुल एक हजार ८८ स्वर्ण जित्दा पाकिस्तानले २६७ र श्रीलंकाले २१२ स्वर्ण जितेका छन् । त्यस्तै, बंगलादेशले ६७  र भुटानले दुई स्वर्ण जितेका छन् । माल्दिभ्सले भने जारी संस्करणमा एक स्वर्ण जितेको छ ।