१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मानव बेचबिखन न्यूनीकरणबारे छलफलमा सहभागी दुई देशका अधिकारीहरू । तस्बिर : नयाँ पत्रिका
२०७६ मङ्सिर १९ बिहीबार ०८:४५:००
Read Time : > 1 मिनेट
प्रदेश

मानव बेचबिखन रोकथाममा खुला सीमा चुनौती

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर १९ बिहीबार ०८:४५:००

मानव बेचबिखन तथा ओसारपसार रोकथाम गर्न खुला सीमा नाका मुख्य चुनौती भएको नेपाल–भारतका अधिकारीहरूले बताएका छन् । 

बुधबारदेखि महेन्द्रनगरमा माइती नेपालले आयोजना गरेको ‘मानव बेचबिखन र दुईदेशीय छलफल’ कार्यक्रममा सहभागी अधिकारीले खुला सीमा नाकाका कारण मानव बेचबिखन रोकथाममा चुनौती थपिएको बताएका हुन् । मानव तस्करले ओसारपसारका लागि आफ्नै मान्छे र विभिन्न खुला नाका प्रयोग गर्ने गरेकाले रोकथाममा समस्या भएको बताएका छन् । 

सहभागीले पश्चिमी नाका पनि ‘मानव बेचबिखनको ट्रान्जिट प्वाइन्ट’ बन्दै गएकोमा चिन्ता व्यक्त गरे । नेपालमा गरिबी, अशिक्षा, देखासिकी, वैदेशिक रोजगारीको लहरलगायत विभिन्न आर्थिक तथा सामाजिक कारणले नेपाली महिला बेचबिखनको सिकार बन्दै गएको सरोकारवालाको भनाइ छ ।

बेचबिखन न्यूनीकरणका लागि सामाजिक सचेतनाका साथै गरिबी उन्मूलन र स्वदेशमै रोजगारीका कार्यक्रम सिर्जना गर्नुपर्ने सुझाब दिएका छन् । बढ्दै गएको जनसंख्या, भूकम्प, बाढीजस्ता प्राकृतिक प्रकोपलगायतका कारण हुने अभावले पनि नेपाली महिला बेचबिखनको उच्च जोखिममा रहेको सहभागीहरूको भनाइ थियो । 

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले मानव बेचबिखन बढ्दै गएपछि त्यसलाई रोकथाम गर्न दुवै देशका सरकारी तथा गैरसरकारी अधिकारीसँग संयुक्त छलफल आयोजना गरिएको बताइन् । ‘मानव बेचबिखनजस्तो जघन्य अपराध बढ्दै छ,‘ उनले भनिन्, ‘यो एक देश र एक पक्षको पहलबाट सम्भव छैन, संयुक्त प्रयास गर्नुपर्छ ।’ 

संयुक्त छलफलबाट मानव बेचबिखन रोकथामका लागि कार्यरत संघ संस्थासहित सरकारी अधिकारीलाई थप क्रियाशील बनाउनका सहयोग पुग्ने उनले बताइन् ।  
माइती नेपालका निर्देशक अच्युत नेपालले मानव बेचबिखन विश्वकै जल्दोबल्दो समस्या भएको बताए ।

‘नेपाल भारतसँग खुला सीमा नाका छ, ‘उनले भने, ‘बेचबिखनका स्वरूप परिर्वतन हुँदै छन् ।’ वैदेशिक रोजगारीको प्रलोभन देखाएर होस् वा विवाहको बहाना अनेकन प्रपञ्च रचेर भारत पुर्‍याएर बेच्ने गरेको उनले बताए । युरोप, नाइजेरियालगायत देशमा पठाउँछु भन्दै पश्चिमी नाका हुँदै भारत लग्ने र त्यही बेच्ने नयाँ ट्रेन्ड लागू भएको उनले दाबी गरे । 

३५ हजार जोखिममा 
वार्षिक ३५ हजार बेचबिखनको जोखिममा परेको माइती नेपालका निर्देशक अच्युत नेपालले बताए । उनले अझै १३ हजार मानिस हराएको बताए । माइती नेपालले सीमा क्षेत्रबाट १० हजार, प्रहरीले दुई हजार र भारतबाटै तीन सयको उद्धार गरिएको जानकारी उनले दिए ।

भारतीय सरकारी अधिकारी टनकपुरका सिइओ विपिन चन्द्र पन्तले विभिन्न लोभ, लालच देखाएर नेपालबाट चेलिबेटी बेचखिनका लागि भारत ल्याउने गरेको बताए ।

यौनदेखि श्रमिकका रूपमा प्रयोग भइरहेको बताउँदै उनले नेपालको गरिबीको फाइदा तस्करले उठाएको बताए । खुला सीमा नाकाका कारण पहिचानमै समस्या हुने उनको अनुभव छ । 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशीलकुमार वैद्यले मानव बेचबिखन दुवै देशको समस्या भएकाले यसलाई संयुक्त प्रयासबाट न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । प्रजिअ वैद्यले खुला सीमा नाका भएकाले निगरानी आवश्यक रहेको औल्याउँदै नेपाली सरकारी निकायका तर्फबाट निगरानी भइरहेको बताए ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले मानव बेचबिखन रोकथामका लागि प्रदेश सरकारले कार्यक्रम ल्याएको बताए । उनका अनुसार भारतसँग सीमा जोडिएका प्रदेशका कैलाली र कञ्चनपुरका तीन नाका (गड्डाचौकी, गौरीफन्टा र खगौलामा) हेल्प डेस्क स्थापना गरिएका छन् ।

‘हेल्प डेस्कमार्फत हामीले सीमा क्षेत्रमा आवतजावत गर्ने नागरिकलाई सोधपुछ गछौँ, ‘मन्त्री सुवेदीले भने, ‘भारतबाट आउनेको हामीले स्वास्थ्य 
परीक्षण पनि गछौँ ।’