मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ मङ्सिर १९ बिहीबार ०८:४७:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

जलवायु परिवर्तन न्यूनीकरणमा महत्वपूर्ण म्याड्रिड सम्मेलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ मङ्सिर १९ बिहीबार ०८:४७:००

अबका दुई सातासम्म विश्वका विभिन्न देशका प्रतिनिधिबीच म्याड्रिडमा हाम्रो ग्रहको भविष्यबारे गम्भीर छलफल हुनेछ

स्पेनको म्याड्रिडमा २५औँ युएन जलवायु परिवर्तन सम्मेलन सुरु भएको छ । अबको दुई सातासम्म विश्वका विभिन्न देशका प्रतिनिधिबीच म्याड्रिडमा हाम्रो ग्रहको भविष्यबारे गम्भीर छलफल हुनेछ । हाम्रो विश्व परिवर्तन भइसकेको छ, यहाँ संकट बढ्दै छ । यसले चेतावनी दिइरहेको छ, हामीले वातावरणमा स्थायी हानि पु-याइसकेका छौँ र अब पछाडि फर्कने अवस्था छैन । त्यसैले अब अहिलेसम्म नचालिएको गम्भीर र ठोस कदम चाल्नुपर्ने समय आएको छ । 

अष्ट्रेलियाका जंगलमा यस्तो भयानक डढेलो यसअघि कहिल्यै देखिएको थिएन । आर्कटिक समुद्रमा ग्रीष्मकालीन समयमा हिउँ जम्न कठिन छ । अन्टार्कटिकामा हिउँका ढिक्का पग्लँदै छन् । उत्तरी गोलार्धमा झन्डै ८० प्रतिशत किराका प्रजातिमाथि खतरा मडारिएको छ । अफ्रिकी देशमा दुर्लभ साइक्लोनले निरन्तर विध्वंस मच्चाइरहेका छन् र समुद्री किनारमा पानीको सतह बढ्दै छ । 

यहाँ त्यस्ता व्यक्ति पनि छन्, जसले यी विषयलाई प्रकृतिको नियमित चक्र ठान्छन् । तर, यथार्थ यो हो कि तापमानको यो वृद्धिदर नयाँ हो । यो हामीले नै गरेका हौँ र हामी यसका दोषी हौँ । यो संसारलाई पुनर्निर्माण गर्न नसक्ने गरी ध्वस्त हुनबाट जोगाउन के गर्ने भन्ने उत्तर पनि हामीले नै खोज्न सक्छौँ र खोज्नुपर्छ पनि । यस पृथ्वीको प्रजाति भएकाले हामीले वातावरण संरक्षण गर्नका लागि साझा बोझ उठाउनुपर्ने हुन्छ र यसलाई भविष्यको पुस्ताका लागि सही रूपमा राखिदिनुपर्ने हुन्छ । 

हाम्रो विश्व परिवर्तन भइसकेको छ, यहाँ संकट बढ्दै छ । यसले चेतावनी दिइरहेको छ, हामीले वातावरणमा स्थायी हानि पु-याइसकेका छौँ र अब पछाडि फर्कने अवस्था छैन ।
 

म्याड्रिडमा हुने यी छलफल महत्वपूर्ण छन् । छलफलको मुख्य विषय पेरिस जलवायु सम्झौताअन्तर्गत तयार गरिएको संयन्त्रलाई सही रूपमा अघि बढाउनु हो । यस बैठकले समयको सही उपयोग गर्ने विषयमा पनि सहभागी सबैलाई सम्झाउनेछ, किनकि कठिनाइहरू सम्बोधन गर्न ढिला हुन लागिसकेको छ । त्यसैले ठोस कदम चाल्नुपर्ने वेला आएको छ । 

युएईलगायत धेरै देशका सरकार र त्यसको नेतृत्वले हरित भविष्यका लागि प्रतिबद्धता व्यक्त गरिरहेका छन्, उनीहरूले नवीकरणीय ऊर्जामा ठूलो लगानी गरेका छन् । सबै देशले यसरी नै पानीको प्रयोग घटाउने, कार्बन उत्सर्जन कम गर्ने र संसार हरित बनाउने अभियानलाई निरन्तरता दिनैपर्छ । 

म्याड्रिड सम्मेलनको गम्भीर प्रकृतिलाई कम आँक्न मिल्दैन । अहिले ३३ मिलियन जनता समुद्री सतह बढ्दा जोखिममा छन् । त्यसैले, जलवायु परिवर्तन न्यूनीकरण गर्नुको विकल्प छैन । 
(गल्फन्युज डटकमको सम्पादकीयबाट)