Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर १९ बिहीबार ०८:४०:००
Read Time : > 1 मिनेट
खेलकुद

अनुपमाको यात्रा : हतियारधारी विद्रोहीदेखि साग विजेतासम्म 

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर १९ बिहीबार ०८:४०:००

‘आज मैले सबैभन्दा बढी आमालाई मिस गरेँ,’ करातेको ६९ केजी तौलमाथि कुमुतेमा नेपाललाई स्वर्ण दिलाएपछि अनुपमा मगरले सञ्चारकर्मीसँग भनिन् । उनी आफूले १३औँ सागमा जितेको स्वर्ण आमालाई समर्पित गर्न चाहन्थिन् । 

अनुपमा पूर्वमाओवादी लडाकु हुन् । किशोरावस्थामै राइफल बोकेर जनयुद्धमा होमिएकी सिन्धुलीकी यी साहसी खेलाडीले एसियाली खेलकुदकी कांस्य विजेता पाकिस्तानी खेलाडी नर्गिसलाई हराएर स्वर्ण जितिन् । ‘आमाले द्वन्द्व र खेलकुदमा लाग्दा प्रगति हुन सक्दैन भन्दै गाली गर्नुहुन्थ्यो । मेरो सपना स्वर्ण जितेर आमाको हर्षित मुहार हेर्ने थियो,’ उनले भनिन् । मंगलबार रातिदेखि नै उनको मनमा धेरै कुरा खेलेका थिए, कहिले स्वर्ण सम्झन्थिन्, कहिले आमाको तस्बिर । अनुपमाकी आमाको १० वर्षअघि नै निधन भइसकेको छ । ‘मेरी आमालाई स्वर्ण दिलाउने सपना पूरा भएन, तर नेपाल आमालाई पदक जिताउन पाएकोमा धन्य छु,’ उनले भनिन् । 

बलियो प्रतिस्पर्धी 
अनुपमाले फाइनलमा निकै बलियो प्रतिस्पर्धी पाएकी थिइन् । पाकिस्तानकी नर्गिस गत वर्ष जकार्ता एसियाडकी पदक विजेता हुन् । तर, दबाबका बाबजुद एरिनामा उनले बुद्धिमत्तापूर्वक रणनीति बनाइन्, विपक्षीका कमजोरीमा अंक बटुल्दै गइन् । फाइनलमा पाकिस्तानी खेलाडी नर्गिससँग भेट भयो । फाइनल खेलको अवस्थाबारे उनी भन्छिन्, ‘मैले नर्गिसको गल्तीको प्रतीक्षा गरेँ, सुरुदेखिको अग्रता अन्तिमसम्म कायमै राखेँ ।’  

यसअघि सेमिफाइनलमा उनी श्रीलंकाली खेलाडी कुलाथुंगा बान्द्रासँग भिडेकी थिइन् । दुई साताअघि बंगलादेशमा भएको साफ च्याम्पियनसिपको फाइनलमा अनुपमा यी खेलाडीकै हातबाट पराजित भएकी थिइन् । यसपटक अनुपमाले बदला लिइन् । ‘सेमिफाइनलमा श्रीलंकालीसँग खेल्न निकै डर लागेको थियो । ढाकामा म उनीसँगै पराजित भएकी थिएँ,’ उनले भनिन् ‘तर, यसपटक मैले उनको रणनीति चल्नै दिइनँ । खासमा यसपटक सेमिफाइनल र फाइनलमा निकै अब्बल प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नुपर्‍यो । त्यसैले सकस पनि भयो, मज्जा पनि आयो ।’

शिविरमै प्रशिक्षण 
६ दिदीबहिनीमध्ये माहिली अनुपमाले सानैदेखि खेलकुदमा संघर्ष गरेर सफलता हासिल गर्नेबारे सोचेकी थिइन् । १३ वर्षको उमेरमा कक्षा ५ मा पढ्दै गर्दा उनी तत्कालीन विद्रोही माओवादीसँग नजिकिइन् । आमाले माओवादीमा नलाग्न धेरै जोडबल गरेकी थिइन्, तर सफल भइनन् । अनुपमा जनमुक्ति सेनाअन्तर्गत सिन्धुली शिविरमा गइन्, शिविरभित्रै कराते सिकिन् । पाँचौँ राष्ट्रिय खेलकुदमा पिएलएबाट प्रतिस्पर्धा गरेर करातेमा कांस्य जितेपछि बल्ल राष्ट्रियस्तरमा अनुपमाको खेलबारे चर्चा हुन थाल्यो । उनले २०१४ को इन्चोन एसियाडमा पनि प्रतिस्पर्धा गरेकी थिइन् ।