१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
लोकमान्य गोल्छा
२०७६ मङ्सिर १९ बिहीबार ०८:३३:००
Read Time : > 1 मिनेट
नयाँCity

पर्यटकीय सहर रहेन काठमाडौं : लोकमान्य गोल्छा

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर १९ बिहीबार ०८:३३:००

सहर संवाद

काठमाडौं उपत्यकालाई न त पर्यटकीय, न आवासीय सहर भन्न मिल्छ । यो त बिजनेस सिटीमा परिणत भइसकेको छ । पुराना दरबार, पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथलगायत मठमन्दिर भएकाले मात्र विदेशी पर्यटकले काठमाडौं उपत्यकालाई मन पराएका हुन् । यद्यपि, काठमाडौं उपत्यकामा पर्यटकीय सहरमा हुनुपर्ने गुण हराउँदै गएका छन् । पर्यटक एकबाट अर्को ठाउँमा पुग्दा जाममा फस्नुपर्छ ।

पाँच दशकअघि काठमाडौं घुम्न आउनेलाई पर्यटकीय सिटीमा घुमेको अनुभव हुन्थ्यो । अब यो पर्यटकीय सहर रहेन । किनकि, पर्यटकीय सहरमा प्रदूषण हुँदैन । यहाँ भने कालो धुवाँ फाल्दै गाडी कुदिरहेका हुन्छन् । काठमाडौं उपत्यका चारैतिर पहाडले घेरिएको हुँदा हावा खेल्न पाउँदैन । यहीँ इँटाभट्टाले कालो धुवाँ फालिरहेका छन् । महानगरपालिकाले ब्रुमर चलाएर के गर्नु, वर्षा हुनासाथ गाडीको चक्काले सडक हिलो बनाउँछन् । घाम लाग्नासाथ त्यही हिलो धुलोमा परिणत हुन्छ ।

नेपालमा सहर व्यवस्थापनको तत्कालीन र दीर्घकालीन योजना नै बनेनन् । बनेका योजना पनि कार्यान्वयन हुन सकेनन् । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा केही सडक चौडा पारियो । त्यसैबाट जेनतेन चलिरहेको छ, अहिले । ती सडक चौडा नपारेको भए अहिले उपत्यकाको स्थिति कस्तो हुन्थ्यो होला ! व्यवस्थित सहरको मुख्य मानक नै सार्वजनिक यातायात हो । सार्वजनिक यातायात भरपर्दो नभएकाले नै निजी सवारीसाधनको प्रयोग अत्यधिक भएको हो ।

मैले कलेज पढ्दाताकाको काठमाडौं धेरै राम्रो थियो । सहरमा मान्छेको भीड थिएन । गाडी कम गुड्थे । घरमा पंखा लगाउनु पर्दैनथ्यो । कसैले लगाएको देखिए ‘लक्जरी’ भनिन्थ्यो । मान्छेको संख्या बढेसँगै अव्यवस्थित रूपमा कंक्रिटका घरहरू बढ्न थाले । सँगसँगै उपत्यकामा गर्मी र प्रदूषण पनि बढ्न थाल्यो ।

काठमाडौं उपत्यका बिजनेस सिटीमा परिणत भइसकेको छ । पुराना दरबार, पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथलगायत मठमन्दिर भएकाले मात्र विदेशी पर्यटकले काठमाडौं उपत्यकालाई मन पराएका हुन् ।

विदेशका धेरै सहरले जनसंख्या नियन्त्रण गरेका छन् । जर्मनीको म्युनिख सहरको जनसंख्या दशकौँदेखि १० लाख हाराहारीमै छ । काठमाडौंको कुरा बेग्लै छ । पाँच दशकअघि करिब चार लाख रहेको जनसंख्या अहिले ४० लाखभन्दा माथि छ । मान्छे बढेपछि प्रेसर बढिहाल्छ । अहिले काठमाडौंको विशेषता भनेकै मान्छेको भीडभाड, कंक्रिटको जंगल र ट्राफिक जाम बनेको छ ।

बेलायतको लन्डनमा पाँच दशकअघि जति ट्राफिक देखिन्थ्यो, अहिले पनि त्यति नै छ । त्यतिवेला लन्डनमा हाम्रो जुटको व्यापार चल्थ्यो । त्यसैले काठमाडौं–लन्डन आउजाउ भइरहन्थ्यो । अहिले पनि लन्डन विश्वकै व्यवस्थित सहरमध्येमा पर्छ, हाम्रोमा अस्तव्यस्तता बढ्दो क्रममा छ ।

सरकारले काठमाडौंमा भूमिगत सार्वजनिक यातायात सञ्चालन गर्ने साहस जुटाएको पाइँदैन । थाइल्यान्डको बैंककलगायत विश्वका धेरै सहरले भूमिगत यातायातमार्फत ट्राफिक जामको व्यवस्थापन गरेका छन् । काठमाडौंमा पनि जमिनमाथि मात्र नभई मुनि पनि यातायात सेवा सञ्चालन गरेर ट्राफिक जाम व्यवस्थापन गर्न नसकिने होइन ।

सहरको जीवनशैली पनि व्यापक परिवर्तन भएको छ, अहिले । कुनै जमानामा न टेलिफोन थियो, न त मोबाइल नै । कम्प्युटर, फ्याक्स, इन्टरनेट केही थिएनन् । तैपनि, हामीले व्यापार गरिरहेकै थियौँ, देश/विदेशमा सम्पर्क भइरहेकै थियो । दैनिक जीवन पनि चलेकै थियो । अहिले मोबाइल नबोकी बाहिर निस्कनै सकिँदैन । आधुनिक सेवा सुविधा थपिँदा तनाव पनि साथमै आएको छ । बालबालिका टिभी, मोबाइल, ट्याब्लेटविना दुई मिनेट पनि बस्न नसक्ने भएका छन् । खाने र बस्ने संस्कृति पनि बदलिएको छ । रेस्टुराँमा गएर खाने चलन बढेको छ । यसलाई समयअनुसारको परिवर्तन मान्नुपर्छ ।